
बिर्तामोड, कात्तिक १८ ।लैंगिक समानता र लागूऔषध दुर्व्यसन न्यूनीकरणको सन्देशसहित बिर्तामोडमा पाँचौँ संस्करणको ‘बिर्तामोड रन’ आयोजना हुने भएको छ। अनारमनी सोसियल युथ क्लबको आयोजनामा आगामी कार्तिक २१ गते ६ दशमलव ५ किलोमिटर दूरीको दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो।

बिर्तामोडको मुक्तिचोकदेखि सैनिक बजारसम्म हुने प्रतियोगितामा करिब ५०० धावक सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राशि निर्धारण गरिएको छ।
खुलातर्फ प्रथम हुने धावकले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, भेट्रानतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पाउने कार्यक्रम संयोजक सौरभ मुखियाले जानकारी दिएका छन् ।
आयोजक कमिटीका सञ्जय पौड्यालका अनुसार प्रतियोगितामा सहभागी हुन हालसम्म ५०० जनाले नाम दर्ता गराइसकेका छन्। प्रतियोगिता सञ्चालनका लागि ५ लाख ८६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रतियोगितामा सहभागी सबै धावकलाई टी–सर्ट, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। कार्यक्रमबाट बचत भएको रकम सामाजिक कार्यमा खर्च गरिने क्लबका अध्यक्ष राज मुखियाले बताए ।
खेलकुदमार्फत लैंगिक समानताको प्रवर्द्धन, लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना र युवालाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ। प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकाससँगै सामाजिक सचेतना अभिवृद्धिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।



