
बिर्तामोड, जेठ १० । झापाको बिर्तामोडस्थित कृषि उपज थोक बजारमा आज बिहान बेच्न ल्याइएको रायोको सागमा खान नमिल्ने गरी विषादीको उच्च मात्रा भेटिएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत बिर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा आज बिहान जाँच गर्दा रायोको साग उपभोग अयोग्य भेटिएको हो ।

झापा बिर्तामोडका कृषक रामज्योति यादवले बेच्न ल्याएको रायोको साग नमुना परीक्षण गर्दा विषादीको मात्रा उच्च भेटिएको हो । सो सागमा अर्गानोफस्फेट र कार्बामेट किटनाशक विषादीको उच्च मात्रा फेला परेको छ ।

प्रयोगशालाकी प्राविधिक अम्बिका बोहोराका अनुसार यादवले ल्याएको रायो सागमा कार्बामेटको रोकावट प्रतिशत ८२.१७ र अर्गानोफस्फेटको मात्रा ९९.४४ पुष्टि भएको छ ।

तरकारी तथा फलफूलमा कार्बामेट र अर्गानोफस्फेटको रोकावट प्रतिशत ४५ भन्दा उच्च फेला परेमा उपभोग अयोग्य ठहरिने हुँदा त्यसलाई विसर्जन गरिनुपर्ने बोहोराले जानकारी दिइन् ।

विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भेटिएको तरकारी तथा फलफूललाई केही दिन क्वारेन्टाइनमा राखेर पर्खेर हेर्नुपर्ने उनले बताइन् । ३५ प्रतिशत भन्दा कम भए मात्र उपभोग योग्य मानिन्छ ।
कृषि उपज थोक बजारमा बिक्रीका लागि ल्याइने हरेक तरकारीको विषादी परीक्षणबाट खान योग्य प्रमाणित भएपछि मात्र कृषकलाई बिक्रीका लागि दिइने प्रचलन रहेको छ ।






