
बिर्तामोड, जेठ १० । झापाका सीमावर्ती मुस्लिम बस्तीहरुमा म्यान्मारका रोहिंगिया र बंगलादेशी मुसलमानहरु आएर बसेको हुनसक्ने आशंका गरिएको छ । तर, प्रहरीले त्यसबारे आधिकारिक जानकारी नभएको बताएको छ ।

म्यान्मारबाट लखेटिएर भारतमा बस्दै आएका रोहिंगिया र बंगलादेशबाट भारत छिरेका मुसलमानहरु पश्चिम बंगालको सत्ता परिवर्तनसँगै त्रसित भएर नेपाल प्रवेश गर्नसक्ने प्रहरीको आँकलन छ ।

दुई वर्षअघि प्रवेशाज्ञाबिना नेपाली भूमिमा प्रवेश गर्न खोज्दा दुईजना बंगलादेशी नागरिक काँकरभिट्टामा पक्राउ परेका थिए । सशस्त्र प्रहरी बल नेपालको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाएपछि त्यहाँबाट रोहिंगिया मुस्लिमहरू भागेर नेपाल छिर्न सक्ने आँकलन गरिएको हो । मोरङको सीमानाकामा यसअघि नै कडाइ गर्न थालिएको छ ।

भारतीय गृह मन्त्रालयले पश्चिम बंगालमा एनकाउन्टर स्पेसलिस्ट आइपिएस अजय पाल शर्मालाई ५ वर्षको लागि नियुक्त गरेको छ । शर्माको नियुक्तिसँगै घुसपैठ गरेर बंगालमा बसेका म्यानमारी रोहिंगिया र बंगलादेशी मुसलमानहरु पलायन हुन थालेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बंगलादेश र म्यानमारले आफ्नै नागरिकलाई स्वीकार नगर्ने भएपछि भारतमा लुकेर बसेका उनीहरु खुला सिमाना भएकोले नेपाल छिर्न सक्ने खतरा बढेको हो । रोहिंगिया र बंगलादेशी मुसलमानहरु नेपाल छिर्न सक्ने देखेर केही दिनदेखि काँकरभिट्टा नाकामा कडाई गर्न थालिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार भारतबाट नेपाल आउने मानिसहरुलाई परिचयपत्रबिना आउन दिइएको छैन ।






