बिर्तामोड, जेठ १० । झापाको बुद्धशान्तिमा रुखबाट लडेर घाइते भएका एकजना वृद्धको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–१ मझुवाका ५५ वर्षीय मैतबहादुर लिम्बु रहेका छन् । उनको आज दिउँसो मृत्यु भएको हो ।

उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । लिम्बु जेठ ७ गते दिउँसो १ः३० बजे कुटमिरोको रुखको घाँस झार्न चढेका थिए ।

सोही क्रममा रुखबाट लडेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो भने छातीमा भित्री चोट भएर गम्भीर घाइते भएको चिकित्सकले जनाएका छन् ।

लिम्बुको शव अस्पतालमै रहेको छ भने उनी रुखको कति उचाइबाट लडे र उनको उद्धारबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।







