२०७८ बैशाख ८ बुधबार
Jhapa Today
Adv top

झापामा हराए १७३ सीमास्तम्भ


झापा गाउँपालिकासँग सीमा जाडिएको दिघलबैंक नाकाको अवस्था । फाइल तस्वीर

२६१ बिघा भूमि अतिक्रमित
झापा । सीमावर्ती जिल्ला झापामा १७३ वटा सीमास्तम्भ हराएका छन् । यसरी हराएका सीमास्तम्भको सङ्ख्या एक दशकअघि १९ मात्र थियो । डेढ महिनाअघि विराटनगरमा बसेको नेपाल–भारत संयुक्त सर्भे टिमको बैठकमा प्रस्तुत तथ्यांकअनुसार झापासँग सिमाना जोडिएको क्षेत्रमा सबैभन्दा बढी सीमास्तम्भ हराएको हो ।
नापी विभागका प्रमुख नापी अधिकृत शिवप्रसाद लम्सालले झापामा १७३ वटा स्तम्भ हराएको बताए । ‘हराएका सबै स्तम्भ पुनर्निर्माण गरिएका छन्’, लम्सालले भने, ‘झापाको मेचीनगरस्थित बाहुनडाँगीबाट हराएका र भत्किएका स्तम्भको निर्माण गत वर्ष सुरु गरिएको थियो ।’ प्रमुख लम्सालका अनुसार निर्माण भएको स्तम्भ खोला, नाला र पानी जमेको स्थानमा बढी छन् । सीमा क्षेत्रमा रहेको खोलाका सीमामा राखिएको पिलर मिसिङको समस्या बढी भएकाले सुखायामा निर्माण सम्पन गरिएको उनको भनाइ छ ।
नेपाल–भारत सीमाअन्तर्गत झापा जिल्लाको सीमारेखा १४६ किलामिटर लामो छ । यो दूरीमा रहेका तीन प्रकारका सीमास्तम्भहरु हराउने क्रम बढिरहेको नापी विभागका पूर्वमहानिर्देशक सीमाविद् बुद्धिनारायण श्रेष्ठले जानकारी दिए ।
नेपाल–भारत सीमामा मुख्य, सहायक र सानो गरी तीन किसिमका सीमास्तम्भ छन् । नापी विभागका अनुसार झापामा मुख्य स्तम्भ ७६ वटा, सहायक स्तम्भ १२१ वटा र सानो स्तम्भ ७०१ वटा गरी ८९८ वटा रहेकोमा १७३ वटा हराएका हुन् । हराएकामध्ये मुख्य स्तम्भ ४ वटा, सहायक स्तम्भ १८ वटा र सानो स्तम्भ १५१ वटा छन् । एकदेखि दुई किलोमिटरको दूरीमा रहने मुख्य स्तम्भ भारतले जबरजस्ती सार्ने गरेको श्रेष्ठको भनाइ छ ।
झापामा रहेका ८९८ सीमास्तम्भमध्ये ३४१ वटा मात्र राम्रो अवस्थामा रहेका छन् । त्यस्तै, ३३४ वटा स्तम्भ मर्मत गर्नुपर्ने र २९ वटा पुनर्निमाण गर्नुपर्ने अवस्थाका छन् । पाँच वर्षयता क्षेत्र छुट्याएर सीमास्तम्भको मर्मत भइरहेको छ । भारतले जोर अड्ढ र नेपालले बिजोर अड्ढका स्तम्भ मर्मत गर्ने र बनाउने सहमति भएको थियो । झापामा यही असार मसान्तमा विज्ञहरुको एक टोलीले सीमास्तम्भको अध्ययन र स्थितिको बारेमा जानकारी लिएको छ । त्यसको प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।
हराएका सीमास्तम्भहरुमा बाहुनडाँगीका १७, १८ र २८ नम्बर, मेचीनगरका ४६ र ५३ नम्बर, ज्यामिरगढीका ५५, ६७, ७०, ९२, ९४ र ९५ नम्बर तथा भद्रपुरका ११२ र ११३ छन् । त्यस्तै, महेशपुरको १०२ नम्बर, पाठामारीको १०९, घेराबारीको १२७, महाभाराको १३८, कोरोबारीको १४५ र खजुगाछीको १५२ नम्बर लगायतका स्तम्भ हराएका छन् । श्रेष्ठका अनुसार बाहुनडाँगीदेखि भद्रपुरसम्म सीमास्तम्भको नम्बर १७ देखि १२० सम्म छ । महेशपुरदेखि पुनः १०१ बाट सीमास्तम्भको नम्बर दिइएको छ । महेशपुरबाट १०१ बाट सुरु भएको सीमा नम्बर मोरङको सिमानासम्म १५२ नम्बरसम्म छ । हराएका अधिकांश सीमास्तम्भ खोलाले बगाएको तथा भारतीयहरुले उखेलेको स्थानीय बताउँछन् ।
२६१ बिघा भूमि मिचिइयो
भारतले झापासँग सीमा जोडिएको क्षेत्रमा २६१ बिघा अर्थात् १७४ हेक्टर भूमि अतिक्रमण गरेको सीमाविद् श्रेष्ठले जानकारी दिए । भारतले मुलुकका ७१ ठाउँमा ६०६ वर्गकिलोमिटर भूमि मिचेको छ । सीमा क्षेत्रमा रहेका पीडितहरुका अनुसार आफ्नो नाममा जग्गादर्ता प्रमाणपत्र भए पनि भारतीय नागरिकले खेती गर्दै आएका छन् । भारतले झापाका ८ स्थानमा भूमि मिचेको प्रस्ट थाहा हुने श्रेष्ठको भनाइ छ । मेचीनदी र भद्रपुर माविनजिक रहेको १ नम्बर जङ्गे पिल्लरलाई मुख्य स्तम्भ मान्न भारत तयार नभएका कारण २७ हेक्टर जमिन अतिक्रमणमा परेको छ । ‘त्यत्रो ठूलो खम्बालाई मेन पिल्लर होइन भन्नु विडम्बनापूर्ण छ,’ श्रेष्ठले भने, ‘यसैबाट भारतले हाम्रो जमिन मिच्छ र मिचेको छ भन्ने पुष्टि हुन्छ ।’
त्यस्तै, कोरोबारी–२ र ४ नम्बर वडामा रहेको १४० नम्बरको सीमास्तम्भ सारेर ४१ हेक्टर जमिन भारतले आप्mनोतिर पारेको छ । पाठामारीमा नयाँ सीमास्तम्भ गाढेर १० हेक्टर, महेशपुर–२ डोलगाउँपूर्व १० हेक्टर, ज्यामिरगढी–१ र २ क्षेत्रमा १० हेक्टर, मेचीनगर–११ मा ४१ हेक्टर जमिन भारतले अतिक्रमण गरेको श्रेष्ठले बताए । मेचीनगर नकलबन्दा क्षेत्रमा ४६ नम्बर जङ्गे पिल्लरछेउमा १५ हेक्टर र बाहुनडाँगीको पाटापुर क्षेत्रमा २० हेक्टर नेपाली भूमि भारतले मिचेको छ । उनले अरु पनि जमिन अतिक्रमणमा परेको हुन सक्ने बताए । ‘अरु पनि भूमि मिचिएको हुनसक्छ,’ उनले भने, ‘मैले नक्साको आधारमा जमिन भिडाउँदा झापामा १७४ हेक्टर मिचिएको पाएँ ।’
श्रेष्ठले मेचीनदी किनारको क्षेत्र बढी विवादित रहेको बताए । महेशपुर–२ मा रहेको २ नम्बर जङ्गे पिल्लर जीर्ण भइसकेको छ । त्यस क्षेत्रमा नेपाली भूमि मिचेर भारतले ७ वर्षअगाडि इन्दिरा आवास योजना बनाएको श्रेष्ठले बताए ।
यसैबीच, भारतीयहरु २०५९ सालदेखि पाठामारी–३ को नेपाली भूभागमा बिनारोकतोक बसिरहे पनि नेपाल सरकारले हटाउनेबारे कुनै पहल गरेको छैन । झापाका अतिक्रमित भूभागको जग्गादर्ता प्रमाणपत्र नेपाली नागरिकसँगै रहे पनि जोतभोग गर्नबाट उनीहरु बञ्चित छन् । सीमा क्षेत्रका झन्डै ६५ घरपरिवारको हातमा जग्गाको धनीपूर्जा भए पनि निल्नु न ओकल्नु जस्तै बनेको छ ।
त्यस्तै, अधिकांश सीमा नाकामा भारतीय सीमा सुरक्षा बल जङ्गे पिल्लरसँगै ‘नो मेन्स लेन्ड’ क्षेत्रभित्र पोस्ट बनाएर बसेको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि देशका नागरिक ‘नो मेन्स लेन्ड’ क्षेत्रभन्दा बाहिर मात्र बस्न मिल्छ । तर, भारतले सुरक्षा फौज नै राखेको छ । झापाका केही दसगजा क्षेत्रभित्रै भारतीयहरु बस्तै आएकाले झापाको हाल भएको क्षेत्रफल खुम्चिने क्रममा रहेको पीडितहरु बताउँछन् । झापाको कुल क्षेत्रफल १ हजार ६०६ वर्गकिलोमिटर रहेकोमा पुनर्रेखाड्ढन गर्दा घट्ने सम्भावना रहेको एक सर्भेयरले जानकारी दिए ।
यसैबीच, २०२४ सालको स्टाटस्क्युका आधारमा सीमाड्ढन गरिनुपर्ने भनी सर्वत्र आवाज उठे पनि सरकारले निर्लज्जता देखाएको सीमाबारे जानकार राजनीतिक विश्लेषक डा. राजकुमार पोखरेल बताउँछन् । भारतले जङ्गे पिलरलाई आधिकारिक नमानेकाले पनि समस्या आइरहेको छ । सीमामा गाडिएका जङ्गे पिल्लरलाई सीमास्तम्भ मानेर पुनर्रेखाड्ढन नगरेसम्म विवाद नसुल्झने उनको दाबी छ ।
सीमांकनको सुरुवात
सन् १८१६ को सुगौली सन्धिपछि सन् १८१८ मा दुई देशबीच सीमाड्ढन भई पिल्लरहरु गाडिएको थियो । पूर्वको मेची नदीको पूर्वपट्टि रहेको १ नम्बरबाट सुरु भएको पिल्लरसम्म सीमास्तम्भहरु सन् १८१८ मा गाडिएका थिए । भारतले नेपालसँग सीमा जोडिएका २६ वटा जिल्लामध्येका २१ जिल्लाको ७१ स्थानमा सीमा मिचेपछि विवाद हुँदै आएको छ ।
विवादको सुरुवात
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा सीमाबारे सामान्य उल्झन सुरु भएको हो । त्यसपछि जुद्धशमशेर प्रधानमन्त्री भएका बेला विवाद सुल्झाउन खोजिए पनि राणाहरुलाई राष्ट्रियताप्रति त्यति चिन्ता नभएकाले त्यत्तिकै हरायो । सन् १८६० मा नेपाल भारतको पुनर्नक्साड्ढन भएपछि भारतले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता गरेको थियो । यसबेला प्रधानमन्त्री जङ्गबहादुर थिए । उनकै कार्यकालमा पिल्लरहरु पुनः गाडिएकाले सीमाक्षेत्रमा पिल्लरहरु जङ्गे पिल्लर नामाड्ढित भएको हो ।
विवाद चर्किरहँदा सन् १८७३ मा भारतले प्राविधिक खटाउने नाममा सीमा सारेको पोखरेल बताउँछन् । उनका अनुसार सो समयमा प्राविधिक टोली फिल्डमा नगई कागजमा मात्र नक्साड्ढन भयो । एक पक्षीय टोलीबाट भएको सो नक्साड्ढन त्रुटिपूर्ण रहेको एवम् पिल्लर सार्ने कार्यको सुरुवात भएको पोखरेल जिकिर गर्छन् । विसं २०२५ सालमा भारतीय नागरिकले लुटेरा शैलीमा नेपाली भूभागबाट धान लुटेर लगेका थिए । तर, त्यहाँका सुरक्षकर्मीले संरक्षण दिएको थियो । नेपाल सरकार भने मौन रह्यो ।
२०४५ सालमा खोला, नदी जता बगे पनि सिमाना स्थायी मान्नुपर्ने र विवाद स्थायी रुपमा समाधान गर्ने सर्त दुई देशबीच थियो । तर, भौगोलिक हिसाबले नदीहरु पश्चिमतिर सर्दै आएकाले झापामा सीमा मिचिएको हो । सीमा विवाद बल्झिँदै जाँदा २०५३ मा मेचीदेखि महाकालीसम्म नयाँ सीमास्तम्भहरुको निर्माण र भत्किएकाको मर्मत गरी व्यवस्थित पारे पनि भारतले अतिक्रमण नरोकेको श्रेष्ठको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*