२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अलैँचीको बजार खोज्न सिक्किम


झापा । अलैंचीको मूल्यमा गिरावट आएसँगै निरास बनेका लमजुङका अलैंची कृषकहरु बजार खोज्दै भारतको सिक्किमसम्म पुगेका छन् । प्रधानमन्त्री कृषि परियोजना अलैंची जोन कार्यालयको सहयोगमा जिल्लाका अलैंची कृषकहरु भारतको सिक्किमसम्म पुगेका हुन् ।
गुणस्तरीय अलैंची उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा नमूना बनेका कृषकहरुले उत्पादन गुणस्तर गरेपनि मूल्य अपेक्षित नपाएपछि आफैं बजार खोज्न बाध्य भएका हुन् । कृषकहरुले भारतको सिक्किम र दार्जेलिङसम्म पुगेर त्यहाँ हुने गरेको अलैंचीको खपत, माग र मूल्यको अवस्थाको बारेमा अवलोकन गरेका हुन् ।

कृषकहरुले भारतको सिक्किम र दार्जेलिङसँगै नेपालको ईलाम, झापा र धनकुटास्थित अलैंची व्यवसायको विभिन्न प्रविधिसमेत अवलोकन गरेका थिए । कृषकहरुले इलामको फिक्कलस्थित आधुनिक प्रविधिबाट अलैंची विरुवा उत्पादन गर्ने टिस्यु कल्चर, धनकुटास्थित अलैंची भण्डारण गर्ने आधुनिक प्रविधिको वयर हाउस, झापाको विर्तामोडस्थित अलैंची प्रसोधन र अलैंचीबाट विभिन्न खाद्यान्न बनाउने उद्योगको अवलोकन गरेका थिए ।
कृषकहरुले झापास्थित अलैंची व्यवसायी महासंघको केन्द्रीय कार्यालयमा पुगेर महासंघका पदाधिकारीहरुसँग अलैंचीको बजार अवस्थाबारे अन्तरक्रिया समेत गरेका थिए । अन्तरक्रियाको क्रममा कृषकहरुले अलैंची मूल्यमा आएको गिरावटले कृषकहरु मारमा परेको भन्दै उचित मूल्य व्यवस्थापनका लागि सरकारसँग पहल गर्न महासंघसँग आग्रह गरेका थिए ।
अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष इन्द्रचन्द जिन्दालले अलैंची निकासीका लागि भारतबाहेकको अर्को विकल्प नहुँदा नेपालका अलैंची कृषकहरुले मूल्य नपाएको बताए । उनले पछिल्लो समय भारतले विभिन्न स्थानमा आफैंले अलैंची खेतीको विस्तार तथा प्रवद्र्धन गर्न थालेको भन्दै नेपाली अलैंचीको मूल्य अझै संकटमा रहेको उपाध्यक्ष जिन्दालको भनाई थियो ।
‘कृषकहरुको अपेक्षा बमोजिम मूल्य पाउनलाई संस्थागत रुपमै अधिकतम प्रयास भएको छ’, उपाध्यक्ष जिन्दालले भने, ‘तर भारतमा अलैंची उत्पादन बढ्दो र नेपालमा बजार व्यवस्थापनमा सरकारको सहयोग नहुँदा बजार झनै अन्योल बन्ने खतरा छ ।’
अलैंची मूल्यमा तत्कालै सुधार हुने सम्भावना नदेखिएपनि पछिल्लो समय झापामा बन्दै गरेको अलैंची उद्योगले जिल्लाका कृषकहरुमा उत्साह थपिएको छ । झापाको विर्तामोडमा स्थापना भएको अलैंचीका विभिन्न परिकार बनाउने उद्योगमा लमजुङको अलैंचीलाई विशेष प्राथमिकता दिएकोले कृषकहरु उत्साहित भएका हुन् ।
लमजुङको अलैंची अन्य जिल्लाको भन्दा गुणस्तरीय भएकोले उद्योगमा सबैभन्दा पहिलो प्राथमिकता लमजुङको अलैचलीलाई दिइने उद्योग सञ्चालक निर्मल भट्टराईले बताए ।
‘लमजुङको अलैंची धुवाँमुक्त, सफा र उत्कृष्ट पाइएको छ’ भट्टराईले भने, ‘गुणस्तरीय अलैंची भएकोले हाम्रो उद्योगमा पहिलो प्राथमिकता लमजुङको अलैंचीलाई दिएका छौँ ।’
पाँच वर्षअघि लमजुङमा अलैंचीको मूल्य प्रतिकेजी दुईहजार भन्दा बढी थियो । सोही अलैंची अहिले प्रतिकेजी छसयको हाराहारीमा झरेको छ । प्रत्येक वर्ष अलैंची उत्पादन बढ्दो तर मूल्यमा भने गिरावट आएपछि वर्षौदेखि व्यवसायिक अलैंची खेती गर्दै आएका कृषकहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।
अलैंचीको उचित मूल्य निर्धारणका लागि सरकार वा सरोकारवालाहरुले विशेष चासो दिनुपर्ने उनीहरुको माग छ । मूल्यमा आएको गिरावटले कृषकहरु चिन्तित भएको अवस्थामा बजारको उचित विकल्प र राज्यको तर्फबाट सहयोग भएमा उत्साह थपिने अलैंची कृषकहरुको अपेक्षा छ ।
अलैंची खेतीको प्रवद्र्धनका लागि महासंघले जिल्लाका विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै आएको छ । कृषकहरुलाई उत्पे्ररणा दिन यस्ता कार्यक्रम गर्नुका साथै सरोकारवाला निकायको ध्यानाकर्षणका लागि पहल भइरहेको अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष तामाङले बताए ।
लमजुङको भुलभुले, बाँझाखेत, घनपोखरा, खुदी, गौंडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायतका गाउँ पाखाहरुमा व्यवसायिक अलैंची खेती हुँदै आएको छ । पछिल्लो समय जिल्लामा अलैंची उत्पादन हुने क्षेत्रहरुलाई समेटेर प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, अलैंची जोन कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत अलैंची कृषकहरुलाई आवश्यक तालिम, अभिमुखीकरण, प्रशिक्षणलगायत विभिन्न उपकरणहरु सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer