२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जाडोमा हृदयाघातको जोखिम उच्च


डा. अनिल भट्टराई
स्विजरल्यान्डको लाउजन विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार जुलाई–अगस्टमा भन्दा डिसेम्बर–फेब्रअरीमा हृदयाघात (हर्टअट्याक)का बिरामी बढी देखिएका छन् । एक लाख मानिसमा जुलाई–अगस्ट र डिसेम्बरदेखि फेब्रअरीसम्मगरी दुई फरक–फरक मौसममा अध्ययन गरिएको थियो । त्यसक्रममा तिनीहरुको रक्तचाप, ब्लड सुगर, कोलेस्टेरोल र पेटको साइज मापन गरिएको थियो । जसमा एकहजार मानिसमा जाडो मौसममा हृदयाघातको जोखिम बढी भएको पाइएको थियो ।
यसैगरी, मुसामा गरिएको अर्को अनुसन्धानले जाडोमा रक्तनलीको लेयर बढ्ने र मुटुको नशा पनि मोटो हुने भएकाले रगतको आपूर्ति कम हुँदा हृदयाघात हुनसक्ने देखाएको थियो ।
जाडो मौसममा रगतमा कोलेस्टेरोललगायतका रिस्क प्mयाक्टरको मात्रा बढ्ने कुरा प्रमाणित नै भएको छ । त्यसैले, जाडो मौसम हृदयाघातको जोखिमपूर्ण मौसम मानिन्छ । त्यसैले जाडोमा मोटोपन घटाउने, सुगर नियन्त्रण गर्ने तथा कोलेस्टेरोल नियन्त्रण गर्नुपर्छ । चुरोटमा हुने निकोटिनले नशा खुम्च्याउने भएकाले हृदयाघातको जोखिममा रहेका मानिसले चुरोट सेवन गर्नु हुँदैंन । यसले सानो आकारको मुटुको नशालाई बढी असर गर्छ । त्यसैले चुरोट सेवन गर्नेलाई जाडोमा हृदयाघात हुने सम्भावना बढी हुन्छ ।
हिउँ, चिसो हावा र कम तापक्रमले मुटु रोगीलाई बढी असर गर्छ । त्यसैले कम तपाक्रम हुने देशमा चिसोका बेला हृदयाघात भइसकेका वा जोखिममा रहेका मानिसलाई बाहिर नजाने सल्लाह दिइन्छ । धेरै चिसो तापक्रम हुने नर्वे, फिनल्यान्ड, रुसजस्ता मुलुकमा त ७० वर्ष उमेर काटेका मानिसलाई घरबाहिर ननिस्कन नै भनिन्छ । जाडो मौसममा मुटु रोगीमा हृदयाघात हुनुको अर्को कारण घाम लाग्ने र भिटामिन डिको कमि हुनु पनि हो । भिटामिन डिले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
विशेषगरी बिहानको समयमा हृदयाघात हुने सम्भावना बढी हुन्छ । बिहान उठ्ने बेलातिर र उठ्नेबित्तिकै हृदयाघात भएको पाइएको छ । चिसो हावा चलेको बेलामा झन् बढी हुन्छ । चिसो मौसममा फोक्सोसम्बन्धी (सिओपिडी) का बिरामीलाई पनि हृदयाघात हुने सम्भावना बढी हुन्छ ।
मुटुको कुनै भागमा आकस्मिक रुपमा रक्तप्रवाह नहुँदा मुटुको मांशपेसीको मृत्यु हुन्छ, जसलाई हृदयाघात भनिन्छ । मुटुको मांशपेसीका तीन तह हुन्छन्– एपि कार्डियम (मुटुको बाहिरी भाग) मायो कार्डियम (बीचको भाग) र एन्डो कार्डियम (भित्री भाग)। यी तीन भागमध्ये कुनै पनि भागमा रगत सञ्चार नभएको खण्डमा हृदयाघात हुन्छ । तीनै भागमा रगत नपुग्ने भएमा सबैभन्दा खतरनाक हृदयाघात हुन्छ ।
यदि घरमा मुटुका रोगी छन् भने परिवारका सदस्यलाई बिरामी तथा रोगका बारेमा थाहा हुनु जरुरी छ । मुटु रोगी वा मधुमेहका बिरामीलाई बायातर्फको छाती दुख्ने समस्या सुरु भएमा तुरुन्त अस्पताल लैजानुपर्छ । अर्को कुरा हृदयाघातको जोखिममा रहेको मानिस वा उनका परिवारले इमर्जेन्सी औषधिका बारेमा पनि हल्का जानकारी राख्न जरुरी छ । जसले गर्दा अस्पतालसम्म लैजाने समय पाउन सकिन्छ ।
हृदयाघात भएमा कार्डियाक मसाज दिने गरिन्छ । हृदयाघात हुँदा मुटु जथाभावी धड्किएको हुन्छ, जसलाई फिब्रिलेसन भनिन्छ । त्यसलाई ठिक ठाउँमा ल्याउन छातीको देब्रेतर्फ एकमुक्का हानेर कार्डियाक मसाज गर्दा मुटुको चाल ठिक ठाउँमा आउन सक्ने सम्भावना हुन सक्छ । तर, त्यसका बारेमा सही ज्ञान हुनु जरुरी छ ।
हृदयाघात अकस्मात हुने भएकाले त्यसका लक्षणका बारेमा चनाखो हुनुपर्छ । छातीको बायातिर दुख्नु, छाती भारी हुने र दुखिराखेमा जोखिममा रहेका मानिस अस्पताल पुग्नुपर्छ । छाती दुख्नेसँगै पसिना आउने, रिंगटा लागेमा हृदयाघात हुनसक्ने सम्भावनाको लक्षण हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer