२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झुक्याएर बिहे गर्न खोज्दा जरिवाना


बिर्तामोड । अपांगता भएको कुरा केटी पक्षलाई नबताई विवाह गर्न खोज्दा भद्रपुरका एक परिवारले चार लाख रुपैयाँ दण्ड तिर्नुपरेको छ । केटामा शारीरिक अपांगता भएको कुरा केटी पक्षलाई थाहा नदिई झुक्याएर विवाह गर्न खोज्दा भद्रपुर–७ का सुवेदी परिवारले बेहुली पक्षलाई क्षतिपूर्ति तिर्नुपरेको हो ।

बुद्धशान्ति गाउँपालिका–३ की युवती र ती युवकबीच गत आइतबार ‘मागी’ विवाहको लगन जुराइएको थियो । लगनअनुसार बेहुला जन्ती लिएर बेहुलीको घर पुगे । जन्ती आइपुगेपछि बेहुलीको घरमा ‘स्वयम्बर’ को तयारी गरियो । मञ्चमा राखिएको सोफामा बेहुलालाई बस्न भनियो ।
उनी सोफामा बस्न सकेनन् । त्यसपछि २/२ वटा इँटा राखेर सोफा ‘अग्लो’ बनाइयो । र, बेहुलालाई बस्न सजिलो भयो । स्वयम्बरका लागि बेहुलीलाई बाहिर निकालियो । कार्यक्रम सुरु भयो । बेहुलीलाई टीका लगाइदिनुपर्ने थियो, तर बेहुलाले आफ्नो हात माथि उठाउन सकेनन् । सँगै भएकी दिदीले बेहुलाको हात समाएर बेहुलीको निधारमा टीका लगाइदिइन् । टीकापछि बेहुलाले बेहुलीलाई ‘माला’ लगाइदिनुपर्ने भयो । बेहुलाले फेरि पनि हात उठाएर बेहुलीलाई माला लगाइदिन सकेनन् । त्यसबेला पनि बेहुलाकी दिदीले हात समाएर जबर्जस्ती माला लगाइदिइन् ।
बेहुलाको हात नचलेको देख्दा वरिपरि बसेका बेहुलीका आफन्त र इष्टमित्रबीच खासखुस सुरु भयो । ‘बेहुलाको समस्या के हो ? बेहुला हेर्न को–को गएका थिए ?’ भन्ने स्वर भीडबाट आउन थाल्यो । स्वयम्बरपछि जन्तीलाई खाना खान लगियो । बेहुला–बेहुली पनि खाना खान गए ।
खाना खाएर बेहुली र अन्य सबै उठिसके । तर बेहुला र उनकी दिदी उठेका थिएनन् । बेहुला कुर्सीबाट निकैबेरसम्म नउठेपछि बेहुली पक्ष थप छक्क परे । खाना खाएको कुर्सीबाट बेहुला कसरी उठ्दा रहेछन् भन्दै लाइन लागेर हेर्न थाले । अप्ठ्यारोमा परेपछि बेहुला ‘असहज’ तरिकाले कुर्सीबाट उठ्न खोजे, सकेनन् । दिदीले समाएर उठाइन् ।
त्यसपछि बेहुलीका परिवारले बेहुला अपांगता भएको थाहा पाए । ‘अपांगता भएको कुरा देखेपछि हामीले जन्ती र बेहुलाका बुबासँग वास्तविकता के हो भनी सोधीखोजी गर्‍यौं,’ बेहुलीका एक आफन्तले भने, ‘सुरुमा बुबाले छोरामा कुनै अपांगता नभएको जिद्दी गरे । तर विवाद हुने स्थिति भएपछि बेहुला पक्षले गल्ती स्वीकार गर्‍यो ।’ बेहुली पक्षका अनुसार बेहुलाको हात–खुट्टा राम्ररी चल्दैन । यो जन्मजात समस्या भनी बेहुलाका बुबाले स्वीकार गरे ।
विवाह भाँडिएपछि बेहुला पक्षले बेहुली पक्षलाई चार लाख रुपैयाँ क्षतिपूर्ति तिरेको छ । ‘बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेल, वडाध्यक्ष कमलप्रसाद उप्रेती, न्यायिक समितिका पदाधिकारी र दुवै पक्षका प्रतिनिधि बसेर वार्ता गर्‍यौं,’ बेहुलीका आफन्तले भने, ‘वार्तामा विवाह नहुने निश्चित गर्‍यौं । त्यसपछि हामीले तयार गरेको खाना, टेन्टलगायतको खर्चस्वरूप केटा पक्षले चार लाख रुपैयाँ दिने लिखित सहमति गर्‍यो ।’
केटीले बीबीएस उत्तीर्ण गरेकी छन् । उमेर पुगेपछि घरमा विवाहको कुरा चलिरहेको थियो । यसै क्रममा मंसिर २५ गते भद्रपुरबाट केटा र उनका बुबा केटीको घरमा विवाहको कुरा लिएर आए । केटीका बुबा मुखको क्यान्सरका कारण दुई वर्षदेखि थलिएका छन् । घरमा केटीकी आमा मात्र थिइन् । विवाहको कुराकानी भयो । केटाको हिँडाइ अलि असहज देखेपछि केटीकी आमाले के भएको भनी सोधिन् । दुई महिनाअघि साइकलबाट लडेर खुट्टामा सामान्य चोट लागेको र डाक्टरको भनाइअनुसार केही दिनपछि ठीक हुने केटाका बुबाले जवाफ दिए ।
भोलिपल्ट मंसिर २६ गते केटी पक्षकाहरू पनि केटा हेर्न भद्रपुर गए । डेढ घण्टासम्म बसे । विवाहको सबै कुराकानी भयो । परिवार, आफन्त सबै सोधीखोजी गरियो । केटा आँखाको डाक्टर भएको केटी पक्षलाई जानकारी गराइयो । तर त्यस दिन केटा घरमा थिएनन् । केटा हेर्न गएका केटी पक्षले केटाबारे खोजी गरे ।
‘बिरामी धेरै भएकाले केटा हस्पिटलमा रहेको’ भनी जवाफ दिइयो । सबै कुरा मिल्ने भएपछि मंसिरमा फूलमाला गर्ने र विवाहचाहिँ माघ महिनामा गर्ने सल्लाह गरेर केटी पक्षका घर फर्किए । घर फर्किएलगत्तै साँझ केटा पक्षबाट फोन आयो । बेहुलीका आफन्तले भने, ‘केटा पक्षले विवाह मंसिरभित्रमै गर्न आग्रह गरे । विवाहजस्तो कुरा धेरै ढिला नगर्न जिद्दी गरेपछि हामी पनि राजी भयौं ।’
उनले थपे, ‘पछि सबै सत्य कुरा थाहा पाउँदा केटा डाक्टर नभई बिर्तामोडस्थित एक आँखा अस्पतालका कर्मचारी रहेछन् ।’ (इकान्तिपुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer