२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सहुलियत दुरुपयोग गर्दा अस्ट्रेलियाका नेपाली विद्यार्थी मर्कामा


-हेमन्त काफ्ले
सिड्नी । अस्ट्रेलियन सरकारी आँकडाअनुरुप करिब पचास हजारको संख्यामा नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनमा छन् । बाहिरी विद्यार्थीको संख्यात्मक हिसाबमा नेपाली विद्यार्थीले यहाँ तेस्रो ठूलो हिस्सा ओगटेको छ ।
नेपाली विद्यार्थीले पछिल्लो वर्ष मात्र १.६ बिलियन डलर खर्च गरेको तथ्यांक देखिन्छ । शैक्षिक क्षेत्रमा यति ठूलो धनराशी खर्च गर्ने मुलुकका रुपमा नेपाल परिचित हुनु आफँैमा महत्वपूर्ण र अचम्मको विषय हो ।
विद्यार्थीको संख्याले पचास हजारको सीमा नाघ्दै गर्दा यसका लुकामारीका अनेकन फेहरिस्त पनि जोडिएका छन् । अस्ट्रेलियाले एउटा विद्यार्थीको पढाइ फी र दैनिकीको बारेमा समेत गहन अध्ययन गरेको देखिन्छ । एक्लै बस्दा हुनसक्ने मानसिक तनाव, आर्थिक बोझ र पारिवारिक वातावरण पाउन नसक्दा समस्या थपिने कुरालाई मध्यनजर गर्दै हरेक विद्यार्थीमा पतिले पत्नी र पत्नीले पति ल्याउन पाउने सहुलियत समेत दिएको छ ।
पढाइ र परिवारसँगसँगै अगाडि बढ्ने हुँदा यो अध्यागमन नीतिले धेरै नेपाली विद्यार्थीलाई राहत पुगेको छ । तर, केहीले भने यसलाई गलत रुपमा प्रयोग गरेको पाइन्छ । नक्कली बिहे गरेर पैसाको खेती समेत हुने गरेको छ । जसका कारण कयौँ विद्यार्थीले अनाहकमा दुख पाएका छन् । डिप्लोमा पढ्दै गरेका श्रीमानलाई यतै छाडेर घरायसी काममा नेपाल पुगेकी एक नेपाली युवती मेलवर्न फर्कंदै गर्दा केही साताअघि अध्यागमनको केरकारमा परिन् ।
अध्यागमनको प्रश्नको ठेट जवाफ नपाएपछि उनलाई प्रहरीले हिरासतमा लियो । उनलाई प्रहरीले अब नेपाल पठाउने निधो गरेको छ । श्रीमानको कलेज, पढाइ र जन्म मिति जस्ता सामान्य प्रश्न सोध्दा जवाफ सही नआएपछि उनी केरकारमा परेकी थिइन् । यति मात्र होइन बिहे गरेर आउनेहरुको यता आएर डिभोर्स गर्ने प्रचलनले नेपाली समाजमा पनि नकरात्मक प्रभाव परेको एनआरएनका पूर्वकोषाध्यक्ष डिला खरेल बताउँछन् ।
पछिल्ला दिनमा डिभोर्स र महिला हिंसाका घटनामा नेपालीको संलग्नता बढेको तथ्यांकले देखाएको छ। पछिल्लो एक वर्ष हुँदै नभएको कम्बाइन भिसाले नेपाली विद्यार्थीमा एउटा खराब परिचय नै बनायो । अस्ट्रेलियन सरकारको अध्यागमन विभागले साधरणतया विद्यार्थीको हितमा रहेर जारी गरेको भिसाको पुनरावेदन अर्थात भिसा रिलिजलाई कम्बाइन भिसाका नाममा धन्दा चलाइँदा अहिले कयौँ नेपाली विद्यार्थीहरु बिचल्लीमा परेका छन् ।
प्रारम्भमा यहाँ आएर पढ्दै गरेका विद्यार्थीको अध्ययन भिसालाई डिपेन्डेन्टसहित भिसामा पुनरावेदन गर्न पाउने विषय सहुलियतका रुपमा आएको थियो । तर, यसलाई नयाँ नामाकरण गरेर कम्बाइन भिसाका रुपमा धन्दा चलाउँदै गर्दा यतिखेर सत्तरी प्रतिशन विद्यार्थीको भिसा रिजेक्ट आउन थालेको छ ।
जसले विद्यार्थीमा नकरात्मक प्रभाव समेत परेको छ । आप्mना पति वा पत्नीलाई चाँडोभन्दा चाँडो ल्याउने चाहनामा हुँदै नभएको कम्बाइन भिसामा फसेर कतिपय विद्यार्थी अलपत्रमा परेका छन् । यो भिसाको प्रावधान भनेको प्रारम्भमा विद्यार्थीको भिसा जारी गर्दा अध्यागमनलाई जानकारी नदिएको कुरालाई लिएर पुनश्च आवश्यक जानकारीसहित विद्यार्थीको र थपिएको सदस्यसहितको भिसा जारी हुनु हो । चाहे त्यो विद्यार्थी अफसोर होस् या अनसोर त्यो भिसा लिन पाइन्छ ।
पछिल्ला दिनमा कलाकार र कार्यक्रमका नाममा मानव तस्करीको काम गर्नेहरुको लर्को नै लागेको छ सिड्नीमा । नेपाली समाज फराकिलो हुँदै गर्दा जोडिएको कला, संस्कृति र भाषा संरक्षणका नाममा कार्यक्रम गर्ने र लाखौँ रकम लिएर मानव तस्करी गर्नेहरुले पनि नेपालीको खिल्ली उडाएको बताउँछन् नेपाली समाजका अगुवा सुवास श्रेष्ठ ।
पर्थलाई कर्मभूमि बनाएर काम गर्दै आएका सामाजिक अभियन्ता सुवास भन्छन्, ‘खेलुकद र कला संस्कृति हाम्रा पहिचान हुन् तर यसका नाममा गलत सन्देश दिने कार्य गर्नु सरासर बेइमानी हो ।’
सुविधा र सहुलियतलाई बिजनेस बनाउनेहरुले गलत ढंगले प्रयोग गर्दा दुरुपयोग हुन सक्ने एक पीडित विद्यार्थीको ठम्याई छ । त्यस्तै, यस्तै कामका कारण नेपाल यतिखेर एससमेन्ट लेभल तीनमा झरेको छ । यसअघि नेपाल अस्ट्रेलियन अध्यागमन र शैक्षिक निकायको नजरमा दोस्रो स्थानमा थियो । भारत, पाकिस्तान र श्रीलंका तेस्रो नम्बरमा रहँदा नेपाल लामो समय दोस्रो वरियतामा रहेको थियो ।
सिड्नीका वकिल खिलेन्द्रराज तिम्सिना प्रारम्भमा भ्रमण भिसामा आएका पर्यटकले यहाँ शैक्षिक अध्ययन गर्न पाइने सुविधा दिइए पनि यसलाई फरक रुपमा व्याख्या गर्दा अहिले आएर कडाइ गरिएको बताउँछन् । ‘अहिले पर्यटक भिसामा आउने पर्यटकहरुले यहा अध्ययन गर्न अंग्रेजी भाषाको परीक्षा दिनुपर्ने र सम्पत्ति देखाउनुपर्ने अवस्था सिर्जना भएको छ, यो पनि गलत ढंगको व्याख्याको परिणाम हो’, वकिल तिम्सिनाले भने । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer