२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

महोत्सवसँग मेचीनगरको प्रतिष्ठा गाँसिएको छ


मेचीनगरको धुलावारीमा यही पुस ९–१७ गते आयोजना हुने अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको अन्तिम तयारीमा जुटेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनासँग महोत्सवको सेरोफेरोमा रहेर लोकतन्त्र पोस्टका अनलाइन सम्पादक प्रकाश पौडेलद्वारा लिइएको अन्तरवार्ता प्रस्तुत छ–

महोत्सवको तयारी कस्तो भइरहेको छ ?
लामो अन्तरालपछि मेचीनगरमा आयोजना हुन लागिरहेको महोत्सवको तयारी अपेक्षा गरे अनुरुप नै अन्तिम चरणमा पुगिसकेको छ । तयारीका कामहरु लगभग ९० प्रतिशत पूरा भइसके । काउन्टडाउन अब दिनमा भन्दा पनि घण्टा घण्टामा आइसकेको अवस्था छ । पुस ९ गते कहिले आउला भनेर हिजो पर्खाइको अवस्था थियो भने अब त्यो प्रतिक्षाको घडी सकिनै लागेको हो । स्टल बुकिङ, व्यवस्थापन, निमन्त्रणा र प्रचारका बाह्य कामहरु सकिएका छन् । अब हाम्रो पुरै टिमको ध्यान महोत्सवस्थलभित्र छ ।

के कस्ता उपलब्धिहरुको अपेक्षा गर्न सकिन्छ महोत्सवबाट ?
भारत र बङ्गलादेशसँग व्यापारले जोडिएको मुलुककै ठूलो अन्तर्राष्ट्रि«य नाका, सीमा क्षेत्रको उद्योग वाणिज्य संघ, पर्यटक भित्रिने ढोका आदि भएको कारण मेचीनगरमा हुने महोत्सवबाट अन्तर्राष्ट्रिय व्यापार र पर्यटन प्रबर्धनमा ठूलो योगदान पुग्छ भन्ने हाम्रो विश्वास छ । कृषि उपजको निर्यातका लागि हब बनिरहेको छ मेचीनगर । यहाँ उद्योगहरु सञ्चालन भइरहेका छन् । हाम्रा रमणीय प्राकृतिक तथा धार्मिक स्थलहरु पर्यटकको पर्खाइमा छन् । यी सबै क्षेत्रलाई उजागर गर्दै महोत्सवले समग्र देशको विकासमै सहयोग पुर्याउने छ । स्थानीय उत्पादनहरुले बजार प्रबर्धन गर्न पाउनेछन् भने मौलिक कला र संस्कृतिले पहिचानको अवसर पाउने छ । निर्यात प्रबर्धन यसको अति महत्वपूर्ण लक्ष्य हो ।

निश्चित समयको अन्तरालमा यस्ता महोत्सवको आयोजना हुनुपर्ने हो । किन नियमित रुपमा आयोजना हुन नसकेको होला ?
तपाईले भनेको कुरा सत्य हो । हरेक समितिको कार्यकालमा एउटा महोत्सव हुनु पर्ने हो । आगामी दिनमा यस विषयमा पक्कै ध्यान जानेछ । तर महोत्सवको आयोजना त्यति सजिलो काम होइन । प्रायोजनकर्ता, स्टल र भिजिटर जुटाउन सजिलो हुँदैन । सबैको सपोर्ट भए मात्र यस्ता ठूला इभेन्टहरु सफल हुन्छन् । हिजोका दिनमा किन आयोजना नियमित भएनन् भन्नुभन्दा अब आउँदा दिनमा कसरी नियमित गर्ने र अझ ठूला आयोजना कसरी गर्ने भन्नेतर्फ हाम्रो ध्यान जानु आवश्यक छ ।

चुनौति र अवसरहरु के हुन सक्छन् ?
व्यापारिक नाका भएर पनि मेचीनगर क्षेत्र उद्योग र व्यापारमा अन्यत्रभन्दा केही पछाडि परेजस्तो देखिएको छ । किनमेल गर्नेहरु कम छन् । जसरी विर्तामोड, इटहरी वा काठमाडौंमा महोत्सवमा भिजिटर र किनमेलकर्ताको भीड उर्लिन्छ, त्यस्तो यहाँ हुँदैन कि भन्ने मान्छेहरुको सोचाइ बनेको छ । हामीले यो सोचाइलाई बदलेर मानिसहरुको ठूलो सङ्ख्यालाई स्टलसम्म डोहोर्याउनु पर्ने चुनौति छ । मेचीनगरमा महोत्सव फस्टाउँछ र व्यावसायिक कारोवार धेरै नै हुन्छ भन्ने सन्देश जाओस् भनेर हामी निकै मिहेनत गरिरहेका छौं । त्यसो त हामीसँग अवसर त्योभन्दा ज्यादा छ । किनभने, पहिले र अहिलेको मेचीनगरमा अन्तर छ । उद्योगहरु धेरै खुलिसकेका छन् । बजार विस्तार हुँदैछन् । आर्थिक कारोवार बढ्दै गएको छ । निर्यात व्यापारको भोल्युम बढेको छ । ठूला ठूला होटल खुलिरहेका छन् । स्थानीय सरकार, संघ संस्था र सर्वसाधारणको सपोर्ट छ हामीलाई ।

कति अवलोकनकर्ता भित्राउने लक्ष्य छ र आकर्षण के के हुनेछन् ?
डेढ लाख भिजिटर भित्राउने हाम्रो घोषित लक्ष्य छ । अलि मिहेनत गरेर त्योभन्दा ज्यादा भिजिटरलाई स्टलसम्म डोहोर्याउने हाम्रो ध्येय छ । व्यापार प्रबर्धन, औद्योगिक वस्तुको विक्री र पर्यटकको बढोत्तरी गर्ने हाम्रो मुख्य उद्देश्य हुन् । हेलिकप्टरबाट पाथिभरा मन्दिरको दर्शन र झापाको हवाई अवलोकन गराउने हाम्रो आकर्षक योजना छन् । यो यहाँका लागि नयाँ कुरा हुन् । नयाँ पुस्ताका दर्शकका लागि आकर्षक सेल्फी जोन निर्माण गरेका छौं । मनोरञ्जनका लागि राष्ट्रिय स्तरका कलाकारहरुलाई निम्त्याएका छौं । विभिन्न संस्कृतिका खानाका परिकारहरु पाउने व्यवस्था मिलाएका छौं । गार्मेन्ट, मेसिन औजार लगायतका अन्तर्राष्ट्रिय स्तरका स्टलहरु आकर्षण हुनेछन् । पाकिस्तान, भारत र बङ्गलादेशका स्टल रहनेछन् ।

महोत्सवको आयोजनामा सरसहयोग कस्तो रह्यो ?
राम्रै भएको छ । स्थानीय सरकारको रुपमा रहेको मेचीनगर नगरपालिकाले आयोजनाका लागि ५ लाख बजेट दिएको छ । यसबाट हामीलाई हौसला बढेको छ । स्टल बुकिङ सोचेभन्दा छिटो र सहजै भएको छ । मिडियाबाट प्रचारप्रसारमा सहयोग भइरहेको छ । प्रायोजन गरेर व्यवसायिक प्रतिष्ठानहरुले उत्साह भरिदिएका छन् । सबैभन्दा मेची उद्योग वाणिज्य संघको हाम्रो टिम पुरै खटिएको छ । स्थानीयवासीमा ठूलो उत्साह जागृत भएको पाएका छौं । हाम्रो नगरमा अन्तर्राष्ट्रिय स्तरको महोत्सव आयोजना हुनु गौरवको कुरा हो भनेर सबैले बुझिदिनु भएको छ । सामाजिक सञ्जालमा र स्टल भएको ठाउँसम्म आएर समेत हामीलाई सुझाव दिइरहनु भएको छ । नगरका प्रमुख लगायतका जनप्रतिनिधिहरुले स्टलको निर्माणसथलमा आएर तयारीको अवलोकन गरिदिनु भएको छ । यो महोत्सव मेची उद्योग वाणिज्य संघको मात्र होइन, सबै नगरवासीको प्रतिष्ठा र गौरव गाँसिएको विषय हो भनेर अपनत्व लिने कार्य भइरहँदा हामी खुशी छौं ।

महोत्सवमा पर्यटन जोडिएको छ । देखाउनका लागि मात्र हो कि साँच्चै पर्यटनको विकासमा योगदान पुग्छ ?
देखाउनका लागि होइन भन्ने म स्पष्ट पार्न चाहन्छु । महोत्सवको तयारीमा पर्यटन व्यवसायी साथीहरु अहोरात्र खटिइरहनु भएको छ । स्थानीय र राष्ट्रिय पर्यटकीय स्थलमा पर्यटकलाई कसरी पुर्याउन सकिन्छ भनेर लागिरहनु भएको छ । पाथिभरा देवीको मन्दिरमा हेलिकप्टरबाट भए पनि दर्शन गर्न लैजाने व्यवस्था मिलाएका छौं । यी सबै काम पर्यटनसँग प्रत्यक्ष रुपमा जोडिएका विषय हुन् । सिङ्गो देश नै सन् २०२० लाई नेपाल भ्रमण वर्षको सुरुवात बनाउने महाअभियानमा होमिएको छ । यो बेला हामी नेपालको घामको पहिलो झुल्को देखिने मेचीनगरबाट सकारात्मक सन्देश प्रवाह गर्न तम्सिएका छौं । हाम्रो महोत्सवको सफलताले भ्रमण वर्षलाई महत्वपूर्ण मदत पुर्याउने निश्चित छ । सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन प्रबर्धनात्मक र सार्थक कार्यहरु गर्नु निजी क्षेत्रको पनि दायित्व हो भन्ने हामीले बुझेका छौं । भारत र भूटानका पर्यटन व्यवसायीहरुलाई अवलोकनका लागि निम्ता दिएका छौं । उहाँहरुको आगमनले पनि पर्यटन वर्षको प्रवर्धनमा सघाउ पुग्नेछ । प्रदेश नंं. १ र स्थानीय पर्यटकीय स्थलमा पाहुनाहरुलाई घुमाउने व्यवस्था मिलाएका छौं ।

महोत्सवको प्रचार गर्न छिमेकी मुलुक पनि जानुभएको थियो । कस्तो रेस्पोन्स पाउनुभयो ?
उहाँहरु अत्यन्त सकारात्मक हुनुभयो । हामीले भारतको इन्डस्ट्री र चेम्बर संगठनका अगुवाहरुसँग भलाकुसारी गर्दै महोत्सव सफल बनाउन आग्रह गरेका थियौं । कतिपय भारतीय उद्योगी र पर्यटन अभियन्ताहरु महोत्सवमा स्टलसहित अवलोकनका लागि आउने हुनुभएको छ । भारत, पाकिस्तान र बंगलादेशका स्टलहरु रहने निश्चित भइसकेको मैले अघि नै बताइसके । भूटान र म्यानमारलाई समेत जोड्न कोसिस गरेका थियौं । उहाँहरुको उत्पादन यहाँ ल्याउने खालको रहेनछ ।

आयोजनामा कति बजेट लाग्ने अनुमान छ ? स्रोत कसरी जुटाउँदै हुनुहुन्छ ?
मेची उद्योग वाणिज्य संघ आफैसँग पनि महोत्सवका लागि फन्ड छ । स्पोन्सर र स्टलबाट आउने रकम हाम्रो मुख्य स्रोत हो । केही रकम गेटमनीबाट प्राप्त हुने नै छ । महोत्सव सम्पन्न गर्न ७० देखि ८० लाख रुपैयाँसम्म लाग्ने हाम्रो अनुमान छ ।

गेटमनी खुकुलो हुनेछ कि महँगो ?
गेटमनी ५० रुपैयाँ राख्ने सोच बनाएका छौं । यो आजको जमानामा खासै महँगो होइन । गेटमनी तिरेपछि स्टलको भिजिट गर्न र महोत्सवमा हुने विविध कार्यक्रमहरु हेर्न सकिनेछ । राष्ट्रिय स्तरका लोकप्रिय कलाकारहरुको प्रस्तुति हेर्न पाइने छ । राति ७ बजेपछि महोत्सव बन्द हुनेछ । सुरक्षाका लागि निजी गार्ड राखेका छौं । नेपाल प्रहरीले हामीलाई सहयोग गर्ने छ । उहाँहरुको सहायता कक्ष महोत्सवस्थलमै रहने छ ।

उद्घाटन कस्तो हुनेछ ?
सुरुवात निकै भब्य बनाउनेछौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथि रहनुहुनेछ । समापनका बेला चाहिँ भिजिट ट्वान्टी ट्वान्टीको उत्सव सुरु भइसकेको हुने भएकाले अतिथिको व्यवस्थापनमा अलि मिहेनत पर्ला जस्तो छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय पदाधिकारीहरु, झापास्थित सबै गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुलाई निम्तो दिएका छौं । प्रदेशका मन्त्री तथा सांसदहरु महोत्सवमा आउनुहुने छ । अङ्ग्रेजी सम्बतको नयाँ वर्षको पहिलो दिन नेपाल भ्रमण वर्षको सुरुवात भएकाले केही विशेष बनाउनेछौं । महोत्सवलाई सफल बनाउन हाम्रो संघको वरिष्ठ उपाध्यक्ष लगायत सिङ्गो टिम र पूर्व अध्यक्षहरु उत्साहपूर्वक खटिइरहनु भएको छ । संस्थापक अध्यक्षज्यू विरामी हुनुहुँदा पनि हामीलाई महोत्सवको तयारी कस्तो भइरहेको छ भनेर हौसला बढाइरहनु भएको छ । समस्त मेचीनगर र झापा जिल्लाबासीलाई यस महोत्सवमा सक्रिय सहभागिताका लागि हामी हार्दिक निमन्त्रणा गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer