२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चीनका ७ बन्दरगाह नेपालका लागि खुल्ला


झापा । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुद्री बन्दरगाह प्रयोग गर्नुपर्ने बाध्यता पुस १६ गतेदेखि हटेको छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा भएको समझदारीअनुसार नयाँ वर्ष २०२० देखि चीनका ४ समुद्री बन्दरगाह र तीन सुख्खा बन्दरगाह नेपालका लागि खुल्ला भएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह अब नेपालले प्रयोग गर्न पाउनेछ । नेपाल र चीनबीच रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको यारी, सुंखवासभाको किमाथांका, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका भएर व्यापार गर्न सक्ने समझदारी भएको थियो । तर, बन्दरगाहसम्मको पहुँच भने तत्कालका लागि हाल चल्तीको रसुवाको केरुङ नाकाबाट मात्रै हुनेछ ।
गत आर्थिक वर्ष नेपालले भारत र चीनसँग मात्रै ११ खर्ब ८६ अर्बभन्दा धेरैको व्यापार गरेको थियो । नेपालको कुल व्यापार १४ खर्ब १८ अर्ब ५३ करोडमध्ये भारतसँग मात्र ९ खर्ब ७९ अर्बभन्दा धेरैको भयो भने चीनसँग २ खर्ब ७ अर्ब ६१ करोडको व्यापार भयो । बाँकी २ खर्ब ३२ अर्बको भन्दा धेरैको व्यापार भने तेस्रो मुलुकसँग भएको भन्सार विभागले जनाएको छ ।
नेपालले चीनका चार समुन्द्री बन्दरगाहबाट व्यापार अनुमति पाएसँगै झन्डै ४ खर्बको (चीनसँग २ खर्बभन्दा धेरै र तेस्रो मुलुकसँग २ खर्ब ३२ अर्बभन्दा धेरै) व्यापार अब हिमाल छिचोलेर चिनिया बन्दरगाहमार्फत गर्न बाटो खुलेको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म नेपालले अनुमति पाएका समुद्री बन्दरगाहबाट रेलमार्फत ढुवानी सुविधा उपलब्ध छ । नेपालले चिनिया बन्दरगाह भएर तेस्रो देशसँग व्यापार गर्दा अनुमतिप्राप्त बन्दरगाहबाट सिगात्सेसम्म रेल सुविधा प्रयोग गर्न सक्नेछ । सिगात्सेबाट केरुङ हुँदै काठमाडौँसम्म भने सडकमार्फत कन्टेनरबाट व्यापार हुनेछ । -अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer