२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

भक्का जोगाउन भाक्का दिवस


बिर्तामोड । जाडो मौसममा राजवंशी समुदायमा भक्का खाने परम्परागत चलन हो । पछिल्लो समय भक्का चोक बजारमा खाजाको रुपमा समेत खान पाइन्छ । अग्र्यानिक र स्वस्थ्यकर हुने भएकाले भक्का विपन्न वर्गको मौसमी व्यापार समेत बनेको छ । भक्का खाजाको रुपमा लोकप्रिय छ । परम्परागत खाना व्यावसायिक बन्दै गएपछि राजवंशी समुदायले यसको संरक्षण र प्रवद्र्धन गर्न भन्दै केही वर्षयता पुस २९ गतेलाई भाक्का दिवसका रुपमा मनाउँदै आएको छ ।
राजवंशी समुदायले मंगलबार बिर्तामोडमा सांस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाएको हो । मंगलबार उनीहरुले गैरराजवंशी समुदायलाई माछा, सब्जी, अचारसँग भक्का खुवाएर भाक्का दिवस मनाएका हुन् । दिवसका अवसरमा कोचिला गाभुर फ्रन्टले सांस्कृतिक नृत्यसहित निःशुल्क भक्का खाने कार्यक्रम आयोजना गरेको थियो ।
मंगलबार एकाबिहानै गाउँबाट एक हुल राजवंशी महिलाहरु ‘पेटानी’ (जातीय पहिरन) लगाएर बिर्तामोड आइपुगेर पूर्वपश्चिम राजमार्ग किनारमै लस्करै बसेर भक्का बनाएका थिए । नजिकै माछा तरकारी, भान्टा–कोपीको तरकारी र अर्को भाडामा टमाटरको अचार राखेर उनीहरुले बिर्तामोडको वनस्टप मलअगाडि भक्का खुवाएका थिए ।
निःशुल्क खान पाइने जानकारी पाएपछि माछा–भक्का खानेको ठुलो लाइन लागेको थियो । करिब एक हजारजनाले आदिवासी राजवंशी समुदायको भक्का विभिन्न परिकारसँग पेटभरी खाएको आयोजकको भनाइ छ ।
‘आम मानिसले भक्कालाई सामान्य खाजाको रुपमा मात्र बुझेका छन् । तर, त्यस्तो होइन । कोच राजवंशी समुदायमा भक्काको विशेष स्थान र महत्व छ । त्यसबारे जानकारी दिन प्रत्येक वर्ष पुस २९ गते भाक्का दिवस मनाउन थालेका हौँ’, फ्रन्टका अध्यक्ष अभय राजवंशीले भने । जाडो मौसममा राजवंशी जातिमा छोरी–चेलीलाई बोलाएर भक्का, पिठ खुवाउने चलन छ । छोरी–चेलीलाई चिसो छल्न हप्ता–दस दिनका लागि माइत बोलाएर मिठामिठा परिकारसँग भक्का खुवाएर खुसी बनाई घर पठाउने चलन छ ।
भक्का शुद्ध चामलको पीठोबाट बनाइन्छ । मात्राअनुसार चामललाई करिब दुई घण्टासम्म पानीमा भिजाउनुपर्छ । पानीबाट निकालेर थिग्राउनु पर्छ । ओखली, ढिकी वा मिलमा कुट्नुपर्छ । पीठोलाई मसिनो चाल्नीले चाल्नुपर्छ । त्यसपछि थोरै पानी हालेर मुछ्नुपर्छ । पानीले मुछेर पीठोलाई नरम बनाउनुपर्छ । त्यसपछि एउटा भाडामा पानी उमाल्नुपर्छ । भाडामाथि माटोबाट बनाइएको दुलो परेको डकन राख्नुपर्छ ।
उक्त डकनलाई भाडाभित्रको वाफ कतैबाट ननिस्किनेगरी राख्नुपर्छ । उम्लिएको पानीबाट निस्किने वाफमाथि भक्का बनाइने गरिन्छ । पानीले मुछेर नरम बनाएको पीठोलाई बटुकामा हालेर नरम सुतीको कपडाले बेरेर वाफ निस्किदै गरेको डकनमा राखेपछि भक्का पाक्छ । बाफमा भक्का पाक्न दुई मिनेट लाग्छ ।
‘भक्कामा कुनै मिसावट छैन । स्वास्थ्यको लागि एकदम लाभदायी छ’, बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले भने, ‘भक्का राजवंशी जातिको परम्परागत खान्की भए पनि अहिले सबैको लोकप्रिय बनेको छ ।’ भाक्का दिवस कार्यक्रममा भारतको मेघालय, असाम, पश्चिम बंगाल र बिहारका राजवंशीहरु सहभागी थिए । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भक्का खाएर कार्यक्रमको उद्घाटन गरेका थिए । -कान्तिपुरबाट सम्पादित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer