२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

ए डिभिजन लिग : आजबाट सातौँ चरण


झापा । आज शुक्रबारबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सातौँ चरणको पहिलो खेल मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सातौँ चरणका सम्पूर्ण खेलको तालिका अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरिसकेको छ । सातौँ चरणको पहिलो दिन एक मात्र खेल हुनेछन् ।
दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा शेर्पालाई हराउँदै आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा मछिन्द्र हुनेछ । लिगमा अपराजित मछिन्द्रले १३ अंक जोडेको छ । लिगमा मछिन्द्रले ६ खेलमा ४ जित र २ बराबरी खेलेको छ । शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ । १३ औँ स्थानको शेर्पाले ६ खेलमा २ हार र ४ बराबरीसहित ४ अंक जोडेको छ ।
लिगको दोस्रो दिन शनिबार दुई खेल हुनेछ । अपराह्न १२ बजे हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको ६ खेलमा ९ अंक जोडेको जावलाखेल पाँचौँ स्थानमा रहेको छ । ६ खेलमा ८ अंक जोडेको पुलिस लिगको सातौँ स्थानमा रहेको छ ।
शनिबार दिउँसो तीन बजे दुई ठुला क्लब भिड्ने छन् । साविक विजेता तथा उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । चिरपरिचित दुई प्रतिद्वन्द्वीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । तेस्रो स्थानको मनाङ थ्री स्टारलाई हराएर उपाधि होड कायम राख्न चाहन्छ । लिगमा अपराजित रहेको मनाङले ६ खेलमा १२ अंक जोडेको छ । थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौथो स्थानमा रहेको छ । थ्री स्टार मनाङलाई हराएर शीर्ष तीनमा उक्लने योजनामा हुनेछ ।
सातौँ चरणको खेलअन्तर्गत आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा न्युरोड टिम एनआरटी र एपिएफ क्लबबीच खेल हुनेछ । एनआरटी ८ अंक जोडेर लिगको छैटौँ स्थानमा रहेको छ । एपिएफ ५ अंक जोडेर ११ औँ स्थानमा रहेको छ ।
आइतबार हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ । फ्रेन्ड्स ५ अंक जोडेर लिगको १२ औँ स्थानमा रहेको छ । सरस्वती भने १ अंक जोडेर पुछारमा रहेको छ ।
सातौँ चरणको अन्तिम दिन सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र संकटा क्लबबीच खेल हुनेछ । ब्रिगेड ७ अंक जोडेर लिगको नवौँ स्थानमा रहेको छ । ८ अंक जोडेको संकटा आठौँ स्थानमा रहेको छ ।
सातौँ चरणको अन्तिम खेलमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । आर्मी १३ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । च्यासल ६ अंक जोडेर दसौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer