२०७८ बैशाख ८ बुधबार
Jhapa Today
Adv top

२० वर्षीय सञ्जयले बनाए ह्याचरी मेसिन


एकपटकमा ५०० चल्ला उत्पादन

फर्मका पंक्षीलाई चारो खुवाउँदै डिल्लीराम ।


– हिमाल खरेल
बिर्तामोड । २० वर्षीय सञ्जय बाँस्तोला पेशाले इन्जिनियर होइनन् । विराटनगरको एक कलेजमा बिसिए पढ्दैछन् । कलेज विदा भएको समयमा बुवाले सञ्चालन गरेको एसएन्डएस कृषि फर्ममा व्यस्त हुन्छन् । उनका बुवा डिल्लीरामले छ महिनाअघि बाट सुरु गरेको कृषि फर्ममा स्थानीय जातका कुखुरा, टर्की, तित्रा र बट्टाइ छन् । रहु, नैनी र कत्ले माछा छन् । डिल्लीरामले अर्जुनधारा ५ झापामा फर्म खोल्नुको खास उद्देश्य बाहिरबाट चल्ला ल्याएर हुर्काएर बिक्री गर्नु होइन ।
आफ्नै फर्ममा चल्ला उत्पादन गर्ने उनको व्यावसायिक योजना थियो । पोथीले ओथरा बसेर चल्ला काड्दा ठुलो संख्यामा चल्ला उत्पादन हुन सक्दैन । त्यसका लागि चल्ला उत्पादन गर्न ह्याचरी मेसिन अनिवार्य हुन्थ्यो । बुवाले थालेको फर्ममा एकैपटक धेरै चल्ला कोरल्ने आइडियाको खोजीमा सञ्जय थिए । उनलाई ह्याचरी मेसिनबाट एकखेपमै सयौँ चल्ला उत्पादन गर्न सकिन्छ भन्ने थाहा थियो । बजारबाट मेसिन किन्नु भन्दा आपैmँ प्रयास गर्छु भनेर उनी ह्याचरी मेसिन बनाउने योजनामा लागे ।

आफूले बनाएको मेसिनबाट उत्पादित बट्टाइका चल्ला देखाउँदै सञ्जय ।


परीक्षण उत्पादन
सुरुमा सञ्जयले माछा राख्न प्रयोग हुने थर्मो कार्टुन प्रयोग गरेर परीक्षण गरे । छोराले प्रयास गरिहेर्छु भनेपछि डिल्लीरामले पनि हौसला दिए । बुवाको प्रोत्साहन र छोराको लगावको प्रतिफल, मेसिनको प्रयोगबाट चल्ला कोरलिए । बुवाछोरा दङ्ग भए । अब भने सञ्जय मेसिनको निर्माणमा जुटे । कलेज र गुगलको सहयोग लिए । खोज अनुसन्धान गरे । केही पार्टपुर्जा कलेजबाट र केही बजारबाट खरिद गरे । करिब २० हजार रुपैयाँको खर्चमा ह्याचरी मेसिन बन्यो ।
सञ्जयले बनाएको ह्याचरी मेसिनले एकपटकमा पाँच सय अण्डाबाट चल्ला उत्पादन गर्ने क्षमता राख्छ । फर्मको एउटा कुनामा सञ्जयले कोठा अँध्यारोे बनाएर मेसिन राखेका छन् । जहाँ बट्टाइका चल्ला हुर्किंदैछन् । मेसिनभित्र पनि बट्टाइकै अण्डा राखेका छन् । बुवाको उद्देश्यलाई साथ दिन उनले बनाएको ह्याचरी मेसिनको चर्चा भएपछि केही फर्मले बनाइदिन आग्रह गरेका छन् । केही इन्जिनियरिङ कम्पनीले कसरी बनाएको भनेर बुझ्न खोजे पनि उनले सूत्र नबताउने सुनाए ।


अर्गानिक फर्म
मासिक एक लाख ७० हजार रुपैयाँको जागिर छोडेर उनी रिटायर्ड लाइफ बिताउन ३३ वर्षपछि फेरि गाउँ पसेका छन् । २०४३ सालमा गाउँ छोडेका उनी विराटनगर काठमाडौँ हुँदै विदेशिए । गाउँ फर्किनुको कारण, विषादियुक्त वातावरणबाट टाढा रहनु रहको छ । अर्गानिकलाई प्रोत्साहन गर्नु हो । विराटनगरका डिल्लीरामले १० कठ्ठा जग्गा भाडामा लिएर फर्म सुरु गरेका हुन् । उनलाई पत्नीले दरिलो साथ दिएकी छन् । ‘जीवनको उत्तारद्र्धमा स्वदेशमै केही गरौँ भन्ने मनमा पलायो’, ५३ वर्षीय उनले सुनाए, ‘फर्म भयो भने शरीर नि तन्दरुस्त हुने ।’
पसल वा अरु कुनै व्यवसायमा एकै ठाउँ बसिरहनु पर्ने तर फर्ममा काम हुने उनको बुझाइ छ । उनले धेरैजनाले ब्रोइलर कुखुरा फर्म सञ्चालन गरेको देखेसुने पनि स्थानीय जात र अन्य प्रजातिको फर्म कम पाएका थिए । फेरि उनी अर्गानिकलाई बढी जोड दिन्थे । त्यही भएर १५ लाख रुपैयाँ लगानी गरेर उनले फर्म सुरु गरेका हुन् । उनले कालै अण्डा हुने कडकनाथ जातको कुखुरा पनि भित्र्याएका छन् । हुर्किएपछि चल्ला उत्पादन गर्ने योजना बनाएका छन् । पाँच हजारभन्दा धेरै बट्टाइका चल्ला उत्पदान गरिसकेका छन् । टर्की र कुखुराका चल्ला पनि उत्पादन गरिरहेका छन् । बजार हेरेर फर्मलाई अझ व्यवस्थित बनाउने सुरमा डिल्लीराम रहेका छन् ।

सञ्जयले बनाएको ह्याचरी मेसिनभित्र बट्टाइका अण्डा ।


परिवारै प्रविधिमा
डिल्लीराम साउदी अरबियामा प्राविधिक थिए । उनले १५ वर्ष एसी, फ्रिज प्राविधिक भएर काम गरे । साउदी अरेबियामा बस्दा तीनैजना सन्तानलाई प्रविधिमा अब्बल बनाउनुपर्छ भन्ने उनले बुझेका थिए । त्यहीँको कमाइले उनले दुई छोरा र एक छोरीलाई इन्जिनियरिङ पढाए । जेठो छोरा अमेरिकामा, छोरीज्वाइँ इटहरी उपमहानगरपालिकामा इन्जिनियर छन् । छोरीले इन्जिनियरिङ सकेर निजी काम गर्छिन् । कान्छो सञ्जयले त आफ्नो क्षमता देखाइसकेका छन् । ‘हातमा सीप भयो भने मान्छे भोकै मर्दैन’, ‘त्यही भएर तीन्टैलाई प्राविधिक शिक्षा दिएँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*