२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

लिगका कारण सर्यो सताक्षी गोल्डकप


तयारी पूरा, बन्यो प्याराफिट

झापा । फागुन ३ गतेदेखि हुने भनिएको ‘सताक्षी गोल्डकप २०७६’ एक दिन पछि धकेलिएको छ । एन्फाले जारी लिगको कारण देखाउँदै प्रतियोगिता फागुन ४ गतेबाट सुरु गर्न आयोजकलाई भनेको छ । फागुन ३ गते लिगको अन्तिम खेल हुँदैछ । अन्तिम खेलमा त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् ।
झापा झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता अब फागुन ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ । भारतको एकसहित आठवटा टिम सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सतासीधाम स्पोर्टिङ क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए ।
आयोजकले खेल मैदान सम्याउने र जस्ताको घेराबारा लगाउने काम सम्पन्न गरेको छ । अघिल्ला संस्करणभन्दा उत्कृष्ट र भव्य बनाउन दर्शक प्याराफिट पनि मजबुद र स्तरीय बनाइएको आयोजकले जनाएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।

तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जिलिङको एमएफसीले सहभागिता जनाउने तामाङले जानकारी दिए ।
प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । आयोजक समितिका आर्थिक विभाग प्रमुख सनम इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । प्रतियोगिताका म्यान अफ दि सिरिजको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।
त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer