२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

को बन्ला लिग च्याम्पियन ?


झापा । सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा आज (शनिबार) त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । शनिबार हुने अन्तिम खेलले लिग विजेता टोलीको टुङ्गो लगाउनेछ । सहिद स्मारक ए डिभिजन लिगले शनिबार नयाँ क्लबलाई च्याम्पियनको रुपमा पाउन लागेको हो । दुवै टिमले अहिलेसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् ।
स्थिर प्रदर्शन र टिम गेमको राम्रो नमुना प्रस्तुत गरेको आर्मी लयमा देखिन्छ । राष्ट्रिय टिमका अधिकांश स्टार खेलाडी अनुबन्धन गरेको मछिन्द्रसँग व्यक्तिगत रुपमा उत्कृष्ट खेल्न सक्ने खेलाडीको भिड छ । दुवै टिम लिगको नयाँ च्याम्पियन बन्न सक्दो कोसिस गर्नेछन् । दशरथ रंगशालाले शनिबार दिउँसो सहिद स्मारक ए डिभिजन लिगको इतिहासमा नयाँ च्याम्पियन क्लब पाउनेछ ।
लिग लिडर आर्मी र दोस्रो स्थानको मछिन्द्र अन्तिम खेल जित्दै उपाधि जित्ने दाउमा हुनेछन् । दुवै टोलीका प्रशिक्षक र कप्तान आफ्नो टोलीले उपाधि जित्नेमा ढुक्क समेत छन् । ‘पक्कै पनि लिगमा तयारी च्याम्पियन बन्ने थियो । जित्नकै लागि खेल्नेछौँ,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले आर्मीसँगको खेलअघि भने, ’आर्मीविरुद्ध थोरै मौका पाउने छौँ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।’
लिगको अन्तिम खेल बाँकी रहँदा मछिन्द्र आर्मीभन्दा एक अंकले पछि रहेको छ । त्यसैले उपाधि जित्न अन्तिम खेलमा मछिन्द्रलाई जित्नै पर्ने दबाब रहेको छ । बराबर र हारले मछिन्द्र च्याम्पियन बन्ने छैन । आर्मीको २९ अंक रहँदा मछिन्द्रको २८ अंक रहेको छ ।
‘आर्मीसँग जित्नै पर्ने दबाब छैन, आर्मीलाई बराबर भए पुग्छ’, प्रशिक्षक कटवाल भन्छन्, ‘आर्मी राम्रो छ । गोल गर्न गाह्रो छ । त्यसको बाबजुत च्याम्पियनको लागि खेल्छौँ । आर्मीलाई बराबरीको अवसर छ । त्यसको फाइदा लिन्छौँ ।’
यस सिजनको उपाधि जित्न साविक विजेता मनाङ मस्र्याङ्दीबाट कप्तान विराज महर्जनसहित ७ खेलाडी अनुबन्ध गरेको मछिन्द्रले लिगमा मात्र एक हार व्यहोरेको छ । तर, गत सिजनको खराब प्रदर्शनको कारण मछिन्द्रले एक अंक सुरुवातबाटै गुमाएको छ । त्यही गुमाएको अंकले मछिन्द्र आर्मीसँग पछि रहेको हो ।
यस्तै मछिन्द्रले लिगको अन्तिम खेलअघि राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरलाई पनि अनुबन्ध गरेको छ । आर्मीविरुद्धको अन्तिम खेलमा मछिन्द्रले विमललाई मैदान उतार्नेछ । मछिन्द्रलाई खेलाडीको चोटले भने सताउनेछ । कप्तान विराजसहित दिपक राई र सुजल श्रेष्ठ पूर्ण फिट छैनन् ।
तर, अन्तिम खेलमा टिमलाई जितको विकल्प नभएको कप्तान विराज बताउँछन् । ‘आर्मीलाई भन्दा हामीलाई महत्वपूर्ण खेल छ । जित बाहेक दोस्रो विकल्प हामीलाई छैन । पछिल्लो १–२ खेलले हामीलाई घाटा भयो’, उनले भने ।
मोफसलको प्रतियोगितामा दर्जनभन्दा बढी उपाधि जितेको आर्मीले लिगको उपाधि जित्न सकेको छैन । त्यसैले, मछिन्द्रविरुद्धको अन्तिम खेलमा आर्मी इतिहास रच्न चाहन्छ । जसमा लागि आर्मी आतुर देखिएको छ ।
’इतिहास रच्ने दाउमा छौँ । मछिन्द्र राम्रो टिम हो । तर, हाम्रो टिम वर्क छ । हाम्रो बलियो पक्ष पावर खेल हो’, मछिन्द्रसँगको खेलअघि आर्मीका प्रशिक्षक नविन न्यौपाने भन्छन्, ’अहिलेसम्म लिग जितेका छैनौँ । योपटक अवसर छ । अट्याकिङ खेल खेल्छौँ । बराबरीका लागि हैन जित्नकै लागि खेल्छौँ ।’
लिगको १२ खेलमा आर्मीले ९ जित निकालेको छ । दुई खेलमा बराबरी र १ हार व्यहोरेको छ । तर, आर्मीले सुरुवातमा भन्दा पछिल्लो समय लयात्मक खेल खेलिरहेको छ । त्यस्तै, मछिन्द्रविरुद्ध आर्मीलाई दबाब कम हुनेछ । मछिन्द्रविरुद्ध आर्मी जित अथवा कम्तिमा बराबरी गर्ने योजनामा हुनेछ ।
’दबाब लिएर खेल्याँै भने हार्ने सम्भावना हुन्छ । त्यसैले दबाबरहित खेल्नेछौँ । एउटा मौका आएको छ, सदुपयोग गर्न चाहन्छौँ’, प्रशिक्षक न्यौपाने भन्छन् । लिगको अन्तिम खेलमा आर्मीलाई खेलाडीको चोटले खासै सताउने छैन । उसका दिनेश हेन्जनबाहेक अन्य खेलाडी पूर्ण रुपमा फिट छन् । जसको फाइदा आर्मीले उठाउनेछ ।
आर्मीका कप्तान भरत खवास पनि टोलीलाई ऐतिहासिक उपाधि दिलाउन तयार छन् । त्यसैले उनले मछिन्द्रविरुद्ध जितबाहेक अन्य विकल्प सोचेका छैनन् । ’लिगको उपाधि जित्न सकेका छैनौँ । त्यसैले हाम्रो लागि महत्वपूर्ण खेल हो । सबै खेलाडी तयार छन्’, भरत भन्छन्, ’मछिन्द्रसँग अनुभवी र राम्रो विदेशी खेलाडी छ । मछिन्द्र बलियो छ । तर, जितबाहेक अन्य विकल्प छैन । बराबरीबारे सोचेका छैनौँ ।’ -खेलपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer