२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सताक्षी गोल्डकपलाई ५० लाख सहयोगको प्रतिबद्धता


बिर्तामोड । सताक्षी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तेस्रो संस्करणका लागि करिब ५० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जुटेको छ ।

भोलि फागुन ४ गतेबाट ११ गतेसम्म सञ्चालन हुने झापा माइपश्चिमको सर्वाधिक दर्शक उपस्थित रहने सताक्षी गोल्डकपमा व्यापारिक प्रतिष्ठानहरुले सहयोगप्रति चासो देखाएका छन् । अघिल्ला गोल्डकपमा भन्दा तेस्रो संस्करणका लागि उनीहरु सहयोग गर्न बढी नै इच्छुक देखिएको आयोजक सतासीधाम स्पोर्टिङ क्लबका उपाध्यक्ष फुर्वा तामाङले जानकारी दिए ।

आठ टिमको सहभागिता हुने निश्चित भएको सताक्षी गोल्डकपको टाइटल स्पोन्सर नभए पनि शिवसताक्षी नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएको आर्थिक समितिका संयोजक सनम इजमले बताए । त्यसैले नगरपालिकाको संयोजनमा गोल्डकप सम्पन्न हुनेछ । यो वर्ष गोल्डकपको सहआयोजकमा एलभिडी, सहारा नेपाल साकोस, अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्सी, टुबोर्ग बियर र केएसबी इन्टरनेसनल रहेका छन् । झापाका सबै स्थानीय तहले पनि आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, गोल्डकपको तेस्रो संस्करणका लागि झन्डै चार दर्जन व्यावसायिक प्रतिष्ठान तथा संघसंस्थाले आर्थिक सहयोगको प्रतिबद्धता जनाएको गोल्डकपका प्रेस संयोजक योगेन लावतीले बताए । उनका अनुसार राष्ट्रिय वाणिज्य बैंक बैंकिङ पार्टनरका रुपमा रहेको छ । एनआइसी एसिया बैंक, मेगा बैंक, सिभिल बैंक, एनएमबी बैंक, एक्सल डिभालपमेन्ट बैंकले सहयोग गर्ने भएका छन् ।

छिमकी साकोस, चौतारी साकोस, शुलभ साकोस, साइनो साकोस, सेवारो साकोस, सतासी निर्माण सेवा, किसान कृषि सहकारी, ध्रवतारा स्कुल, पशुपति स्कुल, सेभेन सिज स्कुल, पद्मा आयाल स्टोर, वाटर किङडम पार्कलगायतले स्पोन्सर गरेका छन् । होटल ग्रिन प्यालेस, कोहिनूर, पलेँटी, आन्सी क्याफे होटल पार्टनरका रुपमा रहेका छन् ।

यसैबीच, गोल्डकपको तेस्रो संस्करणमा आयोजक समितिले यो वर्ष पार्किङ र प्रवेशद्वारलाई पनि अझ व्यवस्थित बनाइने जनाएको छ । अघिल्ला संस्करणभन्दा उत्कृष्ट र भव्य बनाउन दर्शक प्याराफिट पनि मजबुद र स्तरीय बनाइएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको छ । यो वर्ष एक्सन स्पोर्टस् टिभी च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुनेछ ।

तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जिलिङको एमएफसीले सहभागिता जनाउने तामाङले जानकारी दिए । प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । आर्थिक संयोजक इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । प्रतियोगिताका म्यान अफ दि सिरिजको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer