२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

सताक्षी गोल्डकपमा आयोजकले स्थानीय खेलाडी उतार्ने


झापा । आजबाट सुरु हुने सताक्षी गोल्डकपको तेस्रो संस्करणमा आयोजक टिमले स्थानीय खेलाडीलाई नै मैदानमा उतार्ने भएको छ । उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबले मनाङ मस्र्याङ्दी क्लबको सामना गर्दैछ ।
आयोजक समितिका सचिव भाग्य सुब्बाका अनुसार मनाङविरुद्धको खेलमा आयोजकले नगरभित्रैका खेलाडीलाई प्राथमिकता दिनेछ । केन्द्रको नजरमा नपरेका तर उत्कृष्ट प्रदर्शन गर्ने स्थानीय खेलाडीले मनाङसँग खेल्ने भएको सुब्बाले बताए । केही खेलाडी धरान, इलामबाट ल्याइए पनि ए डिभिजन खेलेका खेलाडी भने आयोजक टिमको जर्सीमा हुने छैनन् । आयोजकको टिम कोचमा उपाध्यक्ष फुर्वा तामाङ छन् भने टिम व्यवस्थापकको जिम्मेवारी सन्तोष थेगिमले सम्हाल्ने छन् ।
झापा माइपश्चिमको सर्वाधिक दर्शक उपस्थित रहने सताक्षी गोल्डकपमा आठ टिमको सहभागिता रहेको छ । शिवतिाक्षी नगरपालिकाले प्रतियागिताको संयोजन गरेको छ । गोल्डकपको तेस्रो संस्करणमा आयोजक समितिले यो वर्ष पार्किङ र प्रवेशद्वारलाई पनि अझ व्यवस्थित बनाइने जनाएको छ । अघिल्ला संस्करणभन्दा उत्कृष्ट र भव्य बनाउन दर्शक प्याराफिट पनि मजबुद र स्तरीय बनाइएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको छ । यो वर्ष एक्सन स्पोर्टस् टिभी च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुनेछ ।
सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जिलिङको एमएफसीले सहभागिता जनाउने छन् ।
प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । आर्थिक संयोजक इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । प्रतियोगिताका म्यान अफ दि सिरिजको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।
त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer