२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धिचालको उपाधि भारतका हरिशलाई


काँकरभिट्टा । नाइट चेस क्लबको आयोजनामा आयोजित पिबी थापा स्मृति अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २०९५ रेटेड खेलाडी हरिश शर्माले हात पारेका छन् ।

नवौँ चरणसम्म भएको खेलमा ८ जीत र एक बराबरी खेलेर हरिशले ८.५ अंकसहित उपाधि हात पारेका हुन्  । उनले नगद ६० हजारसहित ट्रफी हात पारे ।

फाइनल चरणको खेलमा हरिशले भारतकै राकेश गुरुङसँग बराबरी खेलेका थिए । आठौँ चरणसम्मको खेलमा जीत हात पारेका हरिशलाई नवौँ चरणको खेलमा हराउन राकेशले निकै प्रयास गरेका थिए ।

सेतो गोटी लिएर राकेशले खेलको ४८औँ चालमा घोडा फाइदा गरे ।  जसले गर्दा हरिश दबाबमा परेका थिए । दबाबमा परे पनि संयमित खेलेका हरिशले आक्रामक खेलेका राकेशको हरेक चाललाई विफल पार्दै लगे र ७७औँ चालमा राकेशलाई हात्ती बलिदान गर्न बाध्य बनाए । अन्ततः ८०औँ चालमा खेल बराबरीमा रोके ।

भारतीय खेलाडीहरुको वर्चश्व रहेको प्रतियोगितामा भारतकै रिशव निशाद र राकेश गुरुङ दोस्रो र तेस्रो भए । रिशवले नवौँ चरणको खेलमा भारतकै कुमार गौरवसँग बराबरी खेलेका थिए । दुवैको समान ७.५ अंक भएता पनि बुकोहम टाइब्रेकरको आधारमा रिवले दोस्रो स्थान हात पारेका हुन् । रिशवले ४० हजार पाउँदा राकेशले २५ हजार नगद हात पारे ।

नेपालका कृष्ण थापा चौथो स्थान हात पार्दै उनले १८ हजार पुरस्कार पाए । त्यस्तै, भारतका किरण साइ, कुमार गौरव, राघव श्रीवास्तव, प्रशान्त करिया क्रमशः पाँचौ, छैटौँ, सातौँ र आठौँ स्थानमा रहे भने नेपालका सुमन राई नवौँ र भारतका सम्भ्रांत गोयल दशौँ स्थानमा रहे ।

बिसौँ स्थानसम्मका खेलाडीलाई आयोजकले नगद पुरस्कारको व्यवस्था गरेको प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार भेट्रानतर्फ उत्कृष्ट ठहरिए । महिलातर्फ भारतका स्नेहा हल्डेर प्रथम भइन् । झापाका सुमन श्रेष्ठले प्रदेशतर्फ पहिलो स्थान हात पर्दा राजन सुवेदी झापा जिल्ला उत्कृष्ट ठहरिए ।

नाइट चेस क्लब काँकरभिट्टाका अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण समारोहमा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिन् ।

फागुन २० गतेदेखि सुरु प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका १३२ जना खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा सबैभन्दा बढी ८० वर्षका राजिस्थानका आरके गुप्ताले पनि प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer