२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई सुखानी गोल्डकपको फाइनलमा


झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले सहज जीत निकालेर अर्जुनधारामा जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

उपाधिको दाबेदार लेटाङ फुटबल क्लब मोरङलाई मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा २–० गोलले सहजै पराजित गरेर कनकाईले उपाधि यात्रा तय गरेको हो ।

कनकाईको जीतका लागि पहिलो हाफमै दुई गोल सम्भव भएको थियो । खेलको ३ मिनेटमै कनकाईकी कप्तान लक्ष्मी श्रेष्ठले गोल गरेर टोलीलाई अग्रता दिलाएकी थिइन् ।

एकोहोरो दबाब सिर्जना गरेको कनकाईका लागि पहिलो हाफकै ११ मिनेटमा ममता राउतले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनले २५ यार्डको दूरीबाट प्रहार गरेको बललाई लेटाङकी गोलरक्षकले बचाउने प्रयास गरे पनि रोक्न सकिनन् ।

खेल सुरु भएको ११ मिनेटभित्र २ गोलले पछि परेपछि लेटाङले रणनीति परिवर्तन गरे पनि गोल फर्काउन भने सकेन । दोस्रो हाफमा केही राम्रा मुभ सिर्जना गरे पनि लेटाङको स्कोर निस्केन ।

लेटाङको खेलमा फिनिसिङ नहुँदा स्कोर हुन सकेको थिएन भने गोलरक्षकको केही कमजोरीका कारण कनकाईले स्कोर गरेको थियो ।

खेलको वुमन अफ दी म्याच कनकाईकी जसोदा लावती घोषित भइन् । उनलाई १ नम्बर प्रदेश सांसद अर्जुन राईले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

बुधबार साविक विजेता कर्णसिं सोनम एफसी ताप्लेजुङले धनकुटा जिल्ला फुटबल संघको टिमसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ ।

महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा गरिएको यस प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक राशिको हो ।

गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउनेछ । अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।

त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer