२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

संकटमा ओलम्पिक, आइपिएल र युरो कप


झापा । कोरोना भाइरसबाट पछिल्लो समय विश्व प्रभावित छ। पाँच हजारभन्दा धेरैको ज्यान लिएको यस भाइरसबाट खेलकुद पनि अछुतो छैन। फुटबल, क्रिकेट, बक्सिङ, म्याराथन लगायत सबैजसो खेल गतिविधि संक्रमण फैलिएसँगै विश्वभर रोकिएको छ। यसले खेल क्यालेन्डरदेखि अर्थतन्त्रसम्म प्रभावित बनेको छ।

सिरि ए, प्रिमियर लिग, ला लिगा लगायतका ठूला फुटबल लिग रोकिएका छन्। कतिपय खेल दर्शकविहीन रंगशालामा भइरहेका छन्। कतिपय अन्योलमै छन्।

कोरोना भाइरसबाट चीनपछि सबैभन्दा धेरै प्रभावित बनेको इटलीले त फुटबल विश्वकप पछिकै ठूलो इभेन्ट मानिने युरो कप स्थगित गर्न प्रस्ताव नै अघि सारिसकेको छ। जापानमा हुने तय भएको ओलम्पिक २०२० का छनोट खेल प्रभावित भइरहेका छन्। त्यस्तै चर्चित खेलाडीहरुमै पनि कोरोना संक्रमण भेटिँदा खेलक्षेत्र त्रसित बनेको छ।

नजिकिँदा तीन ठूला इभेन्ट

कोरोनाका कारण विश्व खेलकुदमा सन् २०२० मा धेरै खेल इभेन्ट प्रभावित हुने देखिन्छन्। टोकियो ओलम्पिक, युरो कप र इन्डियन प्रिमियर लिग (आइपिएल) प्रभावित हुँदैछन्।

सबैभन्दा चर्चामा छ टोकियो ओलम्पिक। कोरोनाको संक्रमण देखिए तापनि जापानले निर्धारित समयमै ओलम्पिक आयोजनाको तयारी तीब्र पारेको छ। भारतमा पनि भाइरसको संक्रमण बढ्दै गएसँगै अप्रिल १५ सम्मका लागि आइपिएल स्थगित गरिएको छ। अर्कोतर्फ युरोप कोरोनाबाट प्रभावित भइरहँदा युइएफएले मंगलबार भिडियो कन्फ्रेन्समार्फत फुटबल एसोसिएसनहरुसँग बैठक गर्दैछ।  

ओलम्पिक अन्योलमा

कोरोना भाइरसको प्रकोप बढेसँगै चर्चामा रहेको खेल इभेन्ट हो ओलम्पिक। कोरोनाको प्रकोपबीच जापान अझै प्रतियोगिता जुलाई महिनामै गराउने दृढ छ। केही दिनअघि मात्र जापानका प्रधानमन्त्री सिन्जो आवेले आफूहरु प्रतियोगिता गराउन तयार रहेको प्रतिक्रिया दिएका थिए।

‘हामी प्रकोपलाई पार गर्दै कुनै समस्या बिना ओलम्पिक आयोजना गराउने छौँ,’ आबेले टोकियोमा एक कन्फ्रेन्सबीच भनेका छन्।

उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा प्रतियोगिता आयोजनाको अधिकार हुने भन्दै आफूहरुले आइओसीसँग समन्वय गरिरहेको बताएका छन्।

‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र टोकियो ओलम्पिक आयोजकले निर्धारित मितिमै सुरक्षित तरिकाले ओलम्पिक आयोजनाको लागि नजिक रहेर समन्वय गर्दै अघि बढ्नो ‘रिकन्फर्मड’ गरेका छौँ।’ टोकियो ओलम्पिकको आधिकारिक वेबसाइटमा लेखिएको छ।

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओलम्पिकको तालिका हेरफेर गर्नुपर्ने सुझाव दिएका थिए।

‘मलाई लाग्छ उनीहरुले ‌ओलम्पिक एक वर्ष पछिलाई सार्नुपर्छ। ओलम्पिकमा खेलाडी स्टेडियम देखिनुभन्दा यो राम्रो हुन्छ भन्ने मलाई लाग्छ।’ ट्रम्पले भनेका थिए।

जापानले भने यसलाई खारेज गरिदिएको थियो। जापानी ओलम्पिक मिनिस्टर सेइको हासिमोटोले ट्रम्पको प्रतिक्रियाप्रति आफू जानकार रहेको बताउँदै उक्त भनाईबाट आफ्नो योजनामा कुनै फरक नपर्ने बताएकी थिइन्।

यसअघि तीन पटक ओलम्पिक क्यान्सिल भएको छ, १९१६, १९४० र १९४४ मा। कारण थियो विश्वयुद्ध। यसपटक ओलम्पिक रोकिएमा महामारीका कारण रोकिएको यो पहिलो ओलम्पिक हुनेछ।

टोकियो ओलम्पिककै लागि भनेर ब्रोडकास्टरहरुले कयौँ मिलियन डलर लगानी गरेका छन्। बजार पनि त्यही अनुसारले बन्दै गएको छ। जापानले कयौँ मिलियन डलर खर्च गरेर पूर्वाधार निर्माण गरिसकेको छ। 

कोरोनाका कारण विश्वभर खेल गतिविधि प्रभावित भइरहँदा ओलम्पिक हुनेमा अनिश्चितता कायमै छ। विश्व स्वस्थ्य संगठनको रिपोर्ट अनुसार जापानमा मात्रै अहिलेसम्म ७ सय ८० जनामा कोरोना सङक्रमण भएको पुष्टि भइसकेको छ। जसमध्ये २२ जनाको मृत्यु भइसकेको छ।

सर्‍यो आइपिएल

कोरोना भाइरसको बढ्दो प्रभावसँगै क्रिकेटको ठूलो फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल) लामो चर्चापछि स्थगित भयो। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)  ले कोरोनाको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै १५ अप्रिलसम्मका लागि आइपिएल सारेको हो।

‘यो निर्णय कोरोनाले सिर्जना गरेको अवस्थालाई हेरेर लिएको हो,’ बिसिसिआइको बयानमा भनिएको छ।

विश्व स्वास्थ्य संगठनले कोरोनलाई महामारीको रुपमा घोषणा गर्दैगर्दा इन्डियन प्रिमियर लिगमा विदेशी खेलाडी बिनै प्रतियोगिता गराउनेदेखि बन्द रंगशालामा खेल गराउनेसम्मका चर्चा चलेका थिए।

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले कोरोनाको प्रकोप बढ्न नदिन दिल्लीमा एकमहिनासम्म कुनै खेल प्रतियोगिता हुन नदिने बताएका थिए। दिल्लीभन्दा अघि कर्नाटकले पनि अहिलेकै अवस्थामा आइपिएल आयोजनाप्रति अनिच्छा देखाएको थियो। त्यस्तै महाराष्ट्रले टिकटको बिक्री नै रोकेको थियो।

अब नयाँ मितिमा पनि आइपिएल हुन नसके यो वर्ष आइपिएल रद्द हुने सम्भावना रहने बताइएको छ। ‘यदि अप्रिल महिनामा पनि आइपिएल गराउन नसके अर्को वर्षलाई सर्नेछ,’ बिसिसीआईको उच्च स्रोतलाई उदृत गर्दै क्रिक ट्राकरले लेखेको छ।

भारतमा पछिल्लो समय कोरोनाको संक्रमण बढिरहेकाले आइपिएल अझ अन्योलमा छ। पछिल्लो समय भारतमा कोरोना भाइरसबाट एक सयभन्दा बढी संक्रमित छन्। दुई जनाको मृत्यु समेत भइसकेको छ।   

अनिश्चित युरो कप

हाल युरोप कोरोना भाइरसको केन्द्रविन्दु बनेको छ। चीनपछि युरोपका अधिकांश देशहरुमा भाइरसको संक्रमण फैलिसकेको छ। इटाली भाइरसबाट सबैभन्दा धेरै प्रभावित छ। भाइरसको संक्रमण फैलिएसँगै इटाली हाल ‘लकडाउन’ मा छ।  त्यस्तै स्पेन, फ्रान्स, जर्मनी, स्वीजरल्यान्ड, बेलायतलगायतका देशहरुमा कोरोनाको उच्च संक्रमण देखिएको छ।

युरोकपमा सहभागितासहित उपाधि दाबेदारी गर्नेमा पनि यिनै राष्ट्रका टिम पर्ने गरेका छन्।

त्यतिमात्र होइन अहिले प्रिमियर लिग, ला लिगा, सिरि ए, लिग वान लगायत युरोपका ठूला लिग रोकिएका छन्। जसले जुन १२ बाट सुरु हुने भनिएको युरो कपलाई अन्योलमा लगेको छ।

अझ इटालियन फुटबल एसोसिएसनले सिरि ए का खेल पनि स्थगित गरिएकाले त्यसलाई सकेर मात्र युरो कप सुरु गराउन युइएफएमा प्रस्ताव गर्ने तयारी गरेको छ।

फेडेरेसनका अध्यक्ष गाब्रिइले ग्राभिनाले युइएफएको मंगलबारको बैठकमा यो विषय उठाउने बताएका छन्।

‘युरोपियन च्याम्पियनसिप स्थगित गर्न हामी युइएफएमा प्रस्ताव गर्नेछौँ,’ उनले एक टेलिभिजन कार्यक्रममा भनेका छन्, ‘हामी पहिला सिरि ए का खेल पूरा गर्न चाहन्छौँ किनभने क्लबहरुको यति धेरै लगानी र त्यागपछि खेल पूरा हुन दिनु न्यायोचित हुन जान्छ।’

युइएफएले मंगलबार विभिन्न ५५ एसोसिएसन सदस्यहरुसँग भिडियो कन्फ्रेन्स मिटिङको तयारी गरेको छ। बैठकमा युरोपका विभिन्न देशका लिगहरु लगायत युरो कप आयोजनाबारे छलफल हुने बताइएको छ। -पहिलोपोस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer