२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अस्ट्रेलियाका नेपालीलाई नेपाल फर्काउने दूतावासको पहल


कोरोना महामारीका कारण खाली रहेको सिड्नी ओपेरा हाउस । तस्बिर : रोयटर्स

अस्ट्रेलिया, चैत १६ । अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण बढिरहेको सन्दर्भमा अस्ट्रेलियास्थित नेपाली दूतावासले कठिन अवस्थामा रहेका नेपालीलाई उद्दार गर्ने गृहकार्य सुरु गरेको छ ।

दूतावासले अस्ट्रेलिया सरकारले केही दिनपछि आफ्ना नागरिकलाई ल्याउन लागेको नेपाल एयरलाइन्सको बिमानबाट अत्यन्तै कठिन अवस्थामा रहेका नेपालीलाई नेपाल फर्काउने पहल सुरु गरेको हो ।

दूतावास अधिकारीका अनुसार नेपालमा आफन्तको मृत्यु भएका, स्वास्थ्य अवस्था नाजुक भएका, भर्खरै अस्ट्रेलिया आएका र समस्यामा परेका नेपाली विद्यार्थीलाई प्राथमिकतामा राखेर उक्त बिमानबाट फिर्ता लैजान सकिने सम्भावनाअनुसार नेपाल सरकारसँग अनुमति मागिएको छ ।

क्यानबेरास्थित अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दहालले यसबारेमा परराष्ट्र मन्त्रालयसँग सुझाव र अनुमति मागिएको पुष्टि गरे । ’हामीले आज बिहानै परराष्ट्रका उच्च अधिकारीसँग यदि सो विमानमा त्यस्ता नेपालीलाई फिर्ता लैजान सकिने नसकिने बारेमा छलफल गरेका छौँ र आज साँझ हुने उच्चस्तरीय बैठकद्वारा यसबारेमा निर्णय हुने अपेक्षा राखेका छौँ,’ दहालले भने ।

नेपालमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना भाइरस नियन्त्रणका लागि बनेको संयन्त्रले आइतबार यसबारेमा निर्णय गर्ने आशा राखिएको छ ।

अष्ट्रेलियामा सयौंको संख्यामा नेपाली अभिभावक र हालै आइपुगेका विद्यार्थी छन् । त्यसका साथै अहिले करिब ४ सय विद्यार्थी सेल्फ आइसोलेसनमा बसिरहेका छन्। एनआरएन उपाध्यक्ष नवीन पन्तले आफ्नै देशको विमान आएको बेला अत्यन्तै जरुरी भएका र बिरामी अभिभावकलाई नेपाल लैजानु आवश्यक भएको सुनाए ।

दूतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटाले अष्ट्रेलियामा रहेका एनआरएन लगायतका अन्य संस्थाको सुझाव अनुसार आफ्नै विमान आएको बेलामा त्यसलाई रित्तै पठाउनु भन्दा समस्यामा रहेकालाई आफ्नै देश फर्काउन सकिन्छ कि भनेर पहल गरिएको सुनाइन् ।

अष्ट्रेलियामा अहिलेसम्म ७ जना नेपालीमा कोरोनाको संक्रमण देखीईसकेको छ । जसमध्ये ४ जना सिड्नीका विद्यार्थी छन भने ३ जना मेलबर्नका छन । उनिहरु आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहेका छन् भने स्वास्थ्य सामान्य रहेको छ । अष्ट्रेलियामा अहिलेसम्म ३ हजार ९ सयमा संक्रमण देखीइसकेको छ भने १६ जनाको मृत्यु भएको छ । -इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer