२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा कच्चा पदार्थमा आधारित उद्योग संकटमा


फाइल तस्वीर

बिर्तामोड, चैत २० । झापामा निकै छोटो र निश्चित समयभित्र प्रशोधन गरिसक्नुपर्ने कच्चा पदार्थमा आधारित उद्योगहरु संकटमा पर्न थालेका छन् ।

विश्वमा महामारीको रुपमा फैलिँदै गएको नोभल कोरोना भाइरस (कोभिड १९) मुलुकमा भित्रन नदिन र यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लक डाउनको समय लम्बिँदै जाँदा त्यस्ता उद्योगहरुको संकट बढ्दै गएको हो ।

मुख्य रुपमा चिया, भेनियर, प्लाइउड, सिमेन्ट र खाद्य उद्योगहरु संकटमा परेका छन् । त्यस्ता उद्योगमा ठुलो परिमाणमा कच्चा पदार्थ काम नलाग्ने अवस्थामा पुग्न थालेको र अर्बौं रुपैयाँ नोक्सानी उद्योगीहरुले व्यहोरिरहेको उद्योगहरुको छाता संगठन झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालले बताए । उनले यस्ता उद्योगको समस्या समाधानका लागि विकल्प खोज्न आवश्यक देखिएको जिकिर गरे ।

लक डाउनको समयमा सबै मजदूर र कर्मचारीले लकडाउन पालना गरिरहेकोले उद्योगहरु सञ्चालन हुन नसक्दा झापाका चिया बगान तथा प्रशोधन उद्योग बन्द रहेकोले ठुलो परिमाणमा हरियो पत्ती खेर गइसकेको र अझै खेर जाने अवस्था आएको नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेशकुमार मित्तलले बताए । उनका अनुसार तयारी चियाको कच्चा पदार्थ हरियो पत्ती १०–१० दिनको अन्तरमा टिपिसक्नुपर्छ भने टिपिएको हरियो पत्ती बढीमा २४ घण्टाभित्र प्रशोधन गरिसक्नुपर्दछ ।

यसैगरी, भेनियर तथा प्लाइउड उद्योगको प्रमुख कच्चा पदार्थ काँचो गालिया काठ समयभित्र प्रशोधन हुन नसक्दा उद्योग परिसरमै ठुलो परिमाणमा नष्ट हुने अवस्थामा पुगेको भेनियर उद्योगी तथा झापा उद्योग संघका महासचिव दुर्गाप्रसाद भण्डारीले बताए ।

उनका अनुसार गा्ेलिया तयार भइसकेपछि बढीमा १५ दिनभित्र प्रशोधन (पिलिङ) गरिसक्नु पर्दछ । त्यस्तै प्लाइउडका लागि आवश्यक अर्को कच्चा पदार्थ रेजिन पनि निकै छोटो समयमा मिश्रण गरिसक्नुपर्ने हुन्छ । तर, उद्योग बन्द हुँदा भारतबाट आयात गरी उद्योगहरुमा भण्डारण गरिएको ठुलो परिमाणको रेजिन नष्ट हुने अवस्थामा पुगेको महासचिव भण्डारीले बताए ।

सिमेन्ट उद्योगहरुको अवस्था पनि चिया, भेनियर प्लाइउड उद्योगहरुको जस्तै रहेको बताउँछन् झापाको दुहागढीमा उत्पादित गोरखकाली सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक तथा झापा उद्योग संघका उपाध्यक्ष दिपेश ढकाल । सिमेन्ट उत्पादनको मुख्य कच्चा पदार्थ क्लिंकर निश्चित समयभित्र मिश्रण नगरिए सिमेन्टको गुणस्तर घट्ने उनले बताए ।

झापाको दुहागढीमा रहेको मगमग चाउचाउ उद्योग पनि संकटमा परेको सञ्चालक परशुराम अग्रवालले बताए । यसैगरी, चामल उद्योगहरु सञ्चालन नहुँदा जिल्लामा चामलको अभाव सिर्जना हुनसक्ने चामल उद्योगी तथा झापा उद्योग संघका वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठ बताउँछन् ।

यस्ता उद्योगका सञ्चालकहरुले लक डाउनको समयमा निश्चित सामाजिक दूरी कायम राख्दै थोरै जनशक्तिबाट उद्योग चलाउने वातावरण तयार गरिदिन सरकारसँग आग्रह गरेका छन् । झापा उद्योग संघले उद्योग वाणिज्य तथा आपूर्ति विभागमा झापाका उद्योगहरुको वर्तमान समस्याबारे बुधबार पत्राचार पनि गरिसकेको अध्यक्ष ढकालले बताए ।

उद्योगीहरुले लक डाउनको समयदेखि कम्तिमा ३ महिनाको बैंकको ब्याज मिनाहा, विद्युत महसुलको डिमान्ड चार्ज छुट, नियमित कामदारलाई निःशुल्क खानाको व्यवस्था, उद्योग बन्द अवधिभरको कामदारको पारिश्रमिक सरकारले व्यहोर्ने व्यवस्था गरिदिन माग गरेका छन् ।

झापामा ३२ वटा चिया प्रशोधन कारखाना, दर्ता भएका चिया बगान ६० र साना चिया किसानका झन्डै १८० चिया बगान रहेका छन् भने दर्तावाला ३६ वटा भेनियर र १४ वटा प्लाइउड उद्योग र ७ वटा सिमेन्ट उद्योग रहेका छन् । यस्तै, डेढ दर्जन चामल उद्योग र एउटा चाउचाउ उद्योग रहेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer