२०७८ बैशाख ७ मंगलबार
Jhapa Today
Adv top

सय दिन, जसले संसार बदल्दियो


३१ डिसेम्बर, २०१९ — समय दिउँसो १ः३८ बजे।

एक चिनियाँ वेबसाइटमा खबर आयो– औद्योगिक नगर वुहानको मासु बजार वरिपरिका क्षेत्रमा एउटा नौलो रोग फेला पर्यो। सामान्य रुघाखोकीबाट सुरू भएर निमोनियाको लक्षण देखाउने त्यो रोग अहिलेसम्म देखिएका भाइरलभन्दा फरक र भयानक थियो।

खबर आयो, हल्का खासखुस पनि भयो, तर कुनै खलबली मच्चिएन। नयाँ वर्षको पूर्वसन्ध्यामा वुहानबाट आएको सूचनालाई संसारको के कुरा, चीनले नै गम्भीर रूपमा लिएन।
आज १०० दिनपछि फर्केर हेर्दा त्यो रोगले विश्वव्यापी भ्रमण पूरा गरेको छ। संसारका १७ लाखभन्दा बढी संक्रमित भएका छन् भने एक लाखभन्दा बढीले ज्यान गुमाएका छन्। यसले धनी–गरिब, ठुला–साना, शक्तिशाली–कमजोर कसैलाई छाडेको छैन। बेलायती राजकुमारदेखि प्रधानमन्त्रीसम्म संक्रमित छन्। संसारका आधाभन्दा बढी जनसंख्या रोगबाट बच्न आ–आफ्नो घरभित्र कैद छन्।

डिसेम्बरको अन्तिम दिन राति ११ बजेर ५९ मिनेट जाँदा सडकमा निस्केर आतिशबाजी गर्ने, रेस्टुरेन्टमा धूम मच्चाउने र घर–घरमा पार्टी गरेर उत्सव मनाउनेहरूले सायदै सोचेका थिए, अर्को वर्ष संसारभरिका सडक र रेस्टुरेन्ट रित्ता हुँदैछन्। त्यस रात जे बदलियो, त्यो केवल क्यालेन्डर थियो!

दिन १
बुधबार, १ जनवरी
वुहानको मासु बजार बन्द
वुहानको मासु बजारमा हरेक बिहान भीड लाग्थ्यो। नयाँ वर्षको पहिलो दिन भने एकाबिहानैदेखि अफरातफरी मच्चिएको थियो। प्रहरीले फलामे बार लगाएर बजार क्षेत्र छिर्न निषेध गरे। अन्तरिक्षयात्रीले लगाउने स्पेस–सुटजस्तै पोसाकमा आएका सरकारी कर्मचारीले त्यहाँका अन्तरकुन्तरबाट नमुना संकलन गरे। त्यसलाई प्लास्टिक झोलामा सिलबन्दी गरेर प्रयोगशाला लगे।

नयाँ रोगको चर्चा चिनियाँ सामाजिक सञ्जालभरि छायो। वुहान अस्पतालमा उस्तै लक्षण देखिएका बिरामी धमाधम भर्ना हुन थाले।

‘पक्कै सार्स हो, नभए त्यस्तै अर्को कुनै रोग होला, नर्सहरूलाई यसै बिरामी छुन नदिनू,’ एउटा सन्देशमा भनियो। लगत्तै अर्को सन्देश आयो, ‘हात धुनू। मास्क लगाउनू। पञ्जा नलगाई बिरामी छुँदै नछुनू।’

ताइवानले त्यसै दिन खतराको घन्टी बजायो। वुहानबाट आउने हवाई यात्रुहरूलाई निगरानीमा राखियो। ज्वरो नापियो। रुघाखोकीको लक्षण छ कि छैन भनेर अनुगमन गरियो।
दुई दिनभित्र सिंगापुर र हङकङले पनि सीमावर्ती क्षेत्रमा चीनबाट आएका यात्रु परीक्षण गर्न थाल्यो। यसले सुरूका दिनमा सिंगापुर र हङकङलाई कोरोनाबाट सुरक्षित राख्न मद्दत गर्यो। तर, पछिल्लो समय यहाँ पनि भाइरस संक्रमण बढेको छ।
उता वुहानमा नयाँ रोगको ‘हल्ला फैलाएको’ भन्दै आठजना पक्राउ परे। पहिलोपटक रोग पहिचान गरेर सहकर्मीहरूलाई सूचित गरेका चिनियाँ डाक्टर ली वेनलियाङ पनि प्रशासनको केरकारमा परे। उनले यसलाई सामान्य रुघाखोकी नभई, सार्सजस्तै कुनै भाइरल रोगको शंका गरेका थिए।

सेन्सरसिपको जगजगी भएको चिनियाँ प्रशासनले इन्टरनेटमा ‘वुहान निमोनिया’, ‘वुहान मासु बजार’, ‘नयाँ भाइरल’ लगायत शब्दावली खोजी–खोजी सेन्सर गर्न थाल्यो।

दिन ९
बिहीबार ९ जनवरी
नोभल कोरोना भाइरसको पहिचान
चिनियाँ वैज्ञानिकहरूले रोग फैलाउने कारक नयाँ प्रजातिको कोरोना भाइरस भएको पुष्टि गरे।

यसअघि दुई किसिमका कोरोना भाइरस ‘सार्स’ र ‘मर्स’ ले महामारीको रूप लिएका थिए। नयाँ प्रजाति अझ भयानक थियो, जसको संक्रमणले अघिल्लो रात ६१ वर्षीय पुरुषको वुहान अस्पतालमा निधन भयो। यो पहिलो कोरोना मृत्यु हो।

यसबीच इरानको तेहरानमा जहाज दुर्घटना भयो। इरानले प्राविधिक गडबडी भएको दाबी गर्यो। तर, सामाजिक सञ्जालमा आएका फोटा र भिडिओका आधारमा धेरैले उक्त जहाज क्षेप्यास्त्रको निशाना बनेको आरोप लगाए। यो घटनाले वुहानको कोरोना भाइरस आतंक केही दिन ओझल पर्यो।

पछि एउटा अध्ययनले वुहानमा कोरोना बिरामी हरेक साता दोब्बर भएको सार्वजनिक गर्यो। त्यसैको भोलिपल्ट चिनियाँ डाक्टर ली वेनलियाङ आफैं संक्रमित भए। उनमा पनि कोरोनाको लक्षण देखियो।

दिन १३
सोमबार, १३ जनवरी
थाइल्यान्डमा पहिलो बिरामी पहिचान
वुहानका स्वास्थ्य अधिकारीले कोरोना पहिचान गरेको सातादिन बितिसक्दा पनि राष्ट्रिय स्तरमा सुरक्षा अपनाइएको थिएन। यही मौकामा भाइरस चिनियाँ सीमा नाघेर विश्वयात्रामा निस्क्यो।

थाइल्यान्डको बैंकक विमानस्थलमा ६१ वर्षीय संक्रमित व्यक्ति फेला परे। उनी वुहानबाटै आएका थिए।

यसबीच कोरोनाबारे छलफल गर्न सरुवारोग विशेषज्ञहरूको एउटा बैठक लन्डनमा बस्यो। निष्कर्ष थियो– ‘बेलायतमा संक्रमणको जोखिम कम छ, तै पनि सुरक्षा उपाय बढाउनुपर्छ।’

चीन सरकारले यति बेलासम्म यो भाइरस मान्छेबाट मान्छेमा सर्छ कि सर्दैन पुष्टि गरिसकेको थिएन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि चिनियाँ सरकारको आधिकारिक भनाइ पछ्याउँदै खासै चासो र चिन्ता देखाएन।

यसले सरुवारोग विशेषज्ञहरू अलमलिए। हङकङ विश्वविद्यालयका सरुवारोग प्राध्यापक गुआन यीले न्यूयोर्क टाइम्सलाई भनेका थिए, ‘आउँदा केही दिनमा नयाँ बिरामी देखिएन भने यो रोग सकियो भन्ने मान्नुपर्छ।’

‘ग्राउन्ड’ मा बसेर भाइरसको सामना गरिरहेका वुहानका स्वास्थ्यकर्मी भने त्रसित थिए।

पहिलो बिरामी फेला परेको पन्ध्र दिनभित्र वुहान अस्पतालमा मिल्दाजुल्दा लक्षणका बिरामी धान्नै नसकिने थियो। ती बिरामी वुहानको मासु बजारसँग मात्र सम्बन्धित थिएनन्। उनीहरू सहरका विभिन्न भागबाट आएका थिए, जसले यो भाइरस मान्छेबाट मान्छेमा सर्छ भन्ने पुष्टि गर्दै थियो।

दिन २०
सोमबार, २० जनवरी
मान्छेबाट मान्छेमा सर्छ भन्ने पुष्टि
चीनका विश्वासिला श्वासप्रश्वास विशेषज्ञ झोङ नानशानले पहिलोपटक सरकारी टेलिभिजन च्यानलमा भने, ‘ग्वाङडाङ प्रान्तमा कोरोनाका दुई जना बिरामी फेला परेका छन्। उनीहरूको वुहानसँग प्रत्यक्ष सम्बन्ध छैन।’

उनको सन्देश प्रस्ट थियो, ‘कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्छ।’

करिब दुई साता चीन सरकारले ढाकछोप गर्न खोजेको कोरोना संक्रमणले बीसौं दिन आइपुग्दा पूरै देशलाई लपेटमा लिएको थियो। त्यसै साता शुक्रबार राति चार जना नयाँ बिरामीमा कोरोना पुष्टि भए। आइतबारसम्म बिरामी संख्या १३९ पुग्यो। भोलिपल्ट राजधानी बेइजिङ र सांघाईमा पनि बिरामी भेटिए।

उता जापान, दक्षिण कोरिया र अमेरिकामा फाट्टफुट्ट कोरोना बिरामी देखिन थाले। वासिङ्टन राज्यमा ३५ वर्षीय पुरुष उच्च ज्वरो र खोकीले अस्पताल भर्ना भए। उनी केही दिनअघि वुहानबाट फर्किएका थिए। परीक्षण गर्दा कोरोना पुष्टि भयो। यो अमेरिकाको पहिलो कोरोना संक्रमण हो।

दुई दिनपछि अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘ब्रिफिङ’ गरे। ट्रम्पले चासो दिएनन्। वासिङ्टन पोस्टका अनुसार उनले कुराकानी बीचैमा अलमल्याएर ‘सुगन्धित भेपिङ कहिलेदेखि बजारमा आउँछ’ भनी प्रश्न गरेका थिए।

वुहानमा कोरोनाले महामारीको रूप लिइसकेको थियो। बिहान ६ बजेदेखि नै कोरोना लक्षण भएका सयौं बिरामी अस्पतालमा पालो पर्खिरहेका हुन्थे।

दिन २४
शुक्रबार, २४ जनवरी
नेपाल आइपुग्यो कोरोना भाइरस, युरोप पनि पुग्यो
वुहानमा अध्ययनरत नेपाली विद्यार्थी फिर्ता ल्याउने कि नल्याउनेबारे काठमाडौंमा चर्चा सुरू भयो। त्यही बेला वुहानबाट आएका एक विद्यार्थी ज्वरो आएर, खोकी लागेर टेकु अस्पताल जँचाउन गए। उनलाई केही दिन भर्ना गरियो। घाँटीर्को याल झिकेर कोरोना परीक्षण निम्ति हङकङ प्रयोगशाला पठाइयो।

जनवरी २४ मा हङकङ प्रयोगशालाबाट आएको रिपोर्टले उनलाई कोरोना भएको पुष्टि र्गयो।

रिपोर्ट आउनेबित्तिकै बिरामीको खोजी हुँदा उनी अस्पतालबाट डिस्चार्ज भइसकेका थिए। टेकु अस्पतालका डाक्टरले उनलाई घरमै निगरानीमा राखे। नेपालका यी पहिलो कोरोना बिरामी अहिले पूर्ण निको भइसकेका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार, नेपाल कोरोना संक्रमण देखिएको सातौं मुलुक हो।

यो घटनापछि वुहानमा रहेका नेपालीलाई फिर्ता ल्याउने बहसले तीव्रता लियो। उता चीन सरकारले वुहान ‘लकडाउन’ गर्यो। हवाई सेवा र रेल्वे बन्द गरिए। एक करोड दस लाख जनसंख्या भएको वुहानको जनजीवन ठप्प भयो।

यसबीच वुहानमा ८०० भन्दा बढीलाई संक्रमण देखियो भने २५ जनाको मृत्यु भयो। यो कोरोनाले महामारी रूप लिएको संकेत थियो।

विश्व भ्रमणमा निस्केको भाइरस यसै साता युरोप पनि पुग्यो। फ्रान्स आएका दुई जना चिनियाँ नागरिक र तिनका नातेदारमा कोरोना पुष्टि भयो। उनीहरूले थुप्रैलाई रोग सारिसकेका थिए। फ्रान्सेली अधिकारीले रोग पहिचान गर्न युद्धस्तरमा परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याए।

‘डढेलो लाग्दा आगो निभाएझैं यो महामारी नियन्त्रण गर्न युद्धस्तरमा परीक्षण र उपचार गर्नुपर्नेछ,’ फ्रान्सका स्वास्थ्य मन्त्री एनेस ब्युजँले भने।

त्यसको दुई दिनअघि डाभोस भ्रमणमा रहेका ट्रम्पलाई पहिलोपटक सञ्चारकर्मीहरूले कोरोनाबारे प्रश्न गरे, के तपाईं सम्भावित महामारीबाट चिन्तित हुनुहुन्छ?

ट्रम्पको जवाफ थियो, ‘एकरत्ति छैन। हामीकहाँ सबै नियन्त्रणमा छ।’

भोलिपल्ट चीनले लकडाउन विस्तार गरेर साढे ५ करोड नागरिकलाई घरबाट निस्कन निषेध गर्यो। राष्ट्रपति सी चिनफिङले देशमा ‘जटिल परिस्थिति’ सिर्जना भएको सार्वजनिक रूपले स्वीकार गरे।

त्यसै दिन हुबेई प्रान्तको सिन्ह्वा अस्पतालका एक डाक्टरको कोरोनाले मृत्यु भयो। उपचारमा खटिएर ज्यान गुमाउने उनी पहिलो स्वास्थ्यकर्मी हुन्।

दिन ३१
शुक्रबार, ३१ जनवरी
ब्रेक्जिटकै दिन कोरोनाले उछिन्यो सार्सलाई
करिब चार वर्ष लगातार बहसपछि बेलायत आधिकारिक रूपमा युरोपेली युनियनबाट बाहिरिँदै थियो। ‘ब्रेक्जिट’ टुंगोमा पुग्न लागेकै दिन कोरोना महामारीले सार्सलाई उछिनेर नयाँ रेकर्ड बनायो।

युरोपेली समुदायबाट अलग्गिन सफल बेलायतले कोरोनाबाट भने छुटकारा पाएन।

बेलायत, स्पेन र इटालीमा कोरोना बिरामी भेटिनुले यो भाइरस युरोपभरि सल्केको पुष्टि भयो। ‘स्थिति गम्भीर छ, तर हडबडाउनु पर्दैन। सबै नियन्त्रणमा छन्,’ इटालीका स्वास्थ्य मन्त्री रोबर्टो स्पारान्जाले भने।

पहिलो बिरामी भेटिएको महिनादिनसम्म चीनबाहिर कसैको मृत्यु भएको थिएन। यसले अरू मुलुक ढुक्क देखिन्थे।

चीनमा भने संक्रमणले रफ्तार समातेको थियो। त्यहाँ ११ हजारभन्दा बढी बिरामी थिए, २५८ को ज्यान गइसकेको थियो।

यसबीच अमेरिकाले हालै चीन भ्रमण गरेका विदेशी नागरिकलाई प्रवेश निषेधको घोषणा गर्यो।

दिन ३५
मंगलबार, ४ फेब्रुअरी
चीनबाहिर पहिलो मृत्यु
फेब्रुअरी पहिलो सातासम्म चीनमा कोरोनाका बिरामी २० हजार नाघ्यो। मृत्यु हुनेहरू ४२५ पुगे।

फिलिपिन्सको मनिलामा बिरामी परेका चिनियाँ नागरिकको मृत्यु भयो। उनी चीनबाहिर कोरोना लागेर मृत्यु हुने पहिलो व्यक्ति हुन्। यो घटनापछि फिलिपिन्सले चीनबाट कुनै पनि व्यक्तिको प्रवेशमा रोक लगायो।

डब्लुएचओ महानिर्देशकले कोरोना विश्वव्यापी रूपले फैलिएको स्वीकार गर्दै भने, ‘अहिले यसको गति सुस्त छ, तर विस्तारै जटिल हुनसक्छ।’ उनले अन्तर्रा्ष्ट्रिय व्यापार र भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता भने औंल्याएनन्।

डब्लुएचओले नै अन्तर्राष्ट्रिय भ्रमणमा खबरदारी नगरेपछि संक्रमणको जोखिममा रहेका मुलुकहरू लचिला भए।

सांघाईबाट बेलायत आएका एक व्यक्तिले गार्डियनसँग भने, ‘मैले चीनबाट आएको जानकारी दिँदा पनि कुनै परीक्षण गरिएन। यो जोखिमपूर्ण हुनसक्छ।’

वुहानको केन्द्रीय अस्पतालमा डा. ली वेनलियाङको अवस्था बिग्रँदै गयो। तीन दिनपछि उनको मृत्यु भयो। यसले लकडाउनमा थुनिएको वुहान सहर र सम्पूर्ण चीनलाई शोक र सुर्तामा डुबायो।

यसबीच सन् २०१८ मै भंग गरिएको ह्वाइट हाउस महामारी तयारी कार्यालयका पूर्व निर्देशकहरूले वालस्ट्रिट जर्नलमा लेख लेखे। शीर्षक थियो– ‘अमेरिकालाई कोरोना भाइरस महामारीबाट समयमै जोगाउँ’।

लेख प्रकाशित भएको भोलिपल्ट अमेरिकाका रोग नियन्त्रण केन्द्रहरूले देशभरि कोरोना परीक्षण किट वितरण गर्न थाले। ती किट समस्याग्रस्त रहेको पाइयो। अर्को एक महिनासम्म पनि अमेरिकाले १ हजार २ सयभन्दा बढी परीक्षण गर्न सकेन। जबकि, यही अवधिमा दक्षिण कोरिया र जर्मनीले दैनिक कम्तिमा १२ हजार परीक्षण गरेर रोकथामलाई तीव्रता दियो।

केही दिनमै न्यू ह्यामसायरमा आयोजित एर्क याली सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ‘महामारी छिट्टै साम्य हुने’ दाबी गरे।

‘अप्रिलमा मौसम अलि न्यानो हुन थालेपछि यो भाइरस स्वतः हराएर जानेछ,’ उनले भने।

दिन ४७
आइतबार, १६ फेब्रुअरी
वुहानबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याइयो
नेपाल वायुसेवा निगमको चार्टर्ड जहाज १ सय ७५ जना विद्यार्थी लिएर चीनबाट काठमाडौं आइपुग्यो। वुहानबाट उडेको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

नेपालले हुवेई प्रान्तमा रहेका १ सय ८५ जना नागरिक उद्दार गर्ने भने पनि ६ जना स्वास्थ्य समस्याले फर्कन पाएनन्, चार जना स्वैच्छाले उतै बसे।

शनिबार बिहान वुहानका विद्यार्थीसँग कुरा गर्दा शरीरको तापक्रम ३७.३ डिग्रीभन्दा माथि देखिए चीन सरकारले जान नदिने बताएका थिए। यसले धेरै विद्यार्थी तापक्रम बढ्ला कि भनेर डराएका थिए।

वुहानबाट ल्याइएका विद्यार्थीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा राखियो। क्वारेन्टाइन अवधिभर स्वास्थ्य परीक्षण गर्दा उनीहरू कसैमा कोरोना देखिएन। वुहानबाट आएका सबै नेपाली विद्यार्थी क्वारेन्टाइन पूरा गरी घर फर्किसकेका छन्।

दिन ५०
बुधबार, १९ फेब्रुअरी
दक्षिण कोरियाको चर्चबाट फैलियो कोरोना भाइरस
दक्षिण कोरियाले सुरूदेखि सतर्कता देखाएकाले संक्रमण फैलिन पाएको थिएन। अघिल्लो दिनसम्म जम्मा ३० जना संक्रमित थिए। तर, ३१ औं बिरामीले सबैको चिन्ता बढाइदियो।

६१ वर्षीय ती महिलाले भाइरसको लक्षण देखिँदा देखिँदै एक स्थानीय चर्चको प्रार्थनामा भाग लिएकी थिइन्। उनको लापरबाहीले चर्चमा सामेल कम्तिमा १ हजार १ सय ६० जना जोखिममा परे।

‘त्यसपछि त एकाएक विस्फोट भएझैं भयो,‘ कोरियाका विदेशमन्त्री काङ कुङ–वाहले पछि भनेका थिए।

यसै साता इरानले पनि आफ्नो धार्मिक सहर कोममा दुई जना बिरामी भेटिएको पुष्टि गर्यो।

उता मिलानमा भएको च्याम्पियन्स लिगमा एट्लान्टाले स्पेनिस क्लब भ्यालेन्सियालाई ४–१ ले पराजित गर्यो। खचाखच सान सिरो स्टेडियम प्रत्येक गोलसँगै जुरुक्क उठ्थ्यो। खेल हेर्न इटालीको बर्गामो सहरका झन्डै एकतिहाइ जनता उर्लिएका थिए। हजारौं स्पेनी लामो यात्रा गरेर आएका थिए।

पछि यही खेल इटाली र स्पेनमा कोरोना महामारी सल्काउन सलाइको काँटी बनेको प्रमाणित भयो।

दिन ५६
मंगलबार, २५ फेब्रुअरी
विश्वव्यापी बन्यो कोरोना भाइरस
पहिलो बिरामी भेटिएको दुई महिना नबित्दै संसारका ८० हजारभन्दा बढी कोरोना संक्रमित भए। अन्य देशको संक्रमित संख्याले पहिलोपटक चीनको आधिकारिक तथ्यांक नाघ्यो।

चार दिनअघि पहिलो कोरोना मृत्यु भोगेको इटालीमा ११ जनाले ज्यान गुमाए। उत्तरी इटालीमा करिब ५० हजारलाई लकडाउनमा राखियो। कोरोनाले क्वारेन्टाइनमा राखिएको यो युरोपको पहिलो घटना हो।

यसबीच इरानको मृत्यु संख्या चीनबाहेकका मुलुकमा सबभन्दा बढी भयो। त्यहाँ कम्तिमा १२ जनाले ज्यान गुमाएको सरकारले पुष्टि गर्यो।

उता अमेरिकामा १४ औं बिरामी फेला पर्यो। त्यति बेला ट्रम्प भारतबाट ट्वीट गर्दै थिए, ‘अमेरिकामा कोरोना नियन्त्रणमा छ। सेयर बजारको स्थिति पनि राम्रो देखिन्छ।’

दिन ६६
शुक्रबार, ६ मार्च
इटाली संकटमा, बेलायतमा पहिलो कोरोना मृत्यु
इटालीमा कोरोना मृत्युको संख्या छ दिनमै छ गुणा बढ्यो। कम्तिमा २३० जनाले ज्यान गुमाए। संक्रमित संख्या हरेक दिन १ हजार २ सयले वृद्धि हुन थाल्यो।

राजधानी रोमले स्कुल–कलेज बन्द गर्नुका साथै फुटबल प्रतियोगिताहरूमा रोक लगायो। ‘बिरामी संख्या यही दरमा वृद्धि भए हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन,’ इटालीका प्रधानमन्त्रीले भने, ‘यो हाम्रो सघन उपचारको क्षमताभन्दा बढी हुनेछ।’

बेलायतमा ७० वर्षकी एक महिला कोरोना संक्रमणले मृत्यु हुने पहिलो भइन्। त्यसपछि बेलायती प्रधानमन्त्री कार्यालयले यो महामारीबारे टिप्पणी गर्दै भन्यो, ‘भाइरस तीव्र रूपले बढ्दै गएको छ।’

तीन दिनअघि मात्र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले हात मिलाउन जारी राखेको बताएका थिए।

‘अघिल्लो रात म अस्पतालमा थिएँ, त्यहाँ कोरोनाका केही बिरामी थिए,’ उनले भने, ‘मैले ती सबैसँग हात मिलाएँ।’

दिन ७१
बुधबार, ११ मार्च
डब्लुएचओद्वारा ‘कोभिड–१९’ महामारी घोषणा
अमेरिकामा कोरोना बिरामीको संख्या हजार नाघ्यो। संसारभरि १ लाख १६ हजारभन्दा बढी संक्रमित भए।

अमेरिकी र बेलायती सेयर बजार सन् २००८ को वित्तीय मन्दीपछि पहिलोपटक तीव्र गतिले धराशयी हुन थाल्यो। सेयर बजार घट्नुमा भाइरस आतंक सँगसँगै साउदी अरब र रुसबीच जारी तेलको मूल्ययुद्ध पनि कारण थियो।

इटालीमा कोरोना मृत्युको संख्या एकैदिन १६८ ले वृद्धि भयो। यो त्यति बेलाको सबभन्दा उच्च मृत्युदर थियो। बिरामी उपचार गर्दागर्दा लखतरान परेर आफ्नै डेस्कमा ढलेकी एक नर्सको तस्बिर संसारभरि भाइरल भयो।

डब्लुएचओले कोरोना भाइरसलाई ‘कोभिड–१९’ भनी वैज्ञानिक नाम दिँदै विश्वव्यापी महामारीको रूप लिएको आधिकारिक रूपमा स्वीकार गर्यो।

बेलायतमा ४५६ जनालाई संक्रमण पुष्टि भयो। अन्य युरोपेली मुलुकले लकडाउनको निर्णय गरे। बेलायतले भने फरक नीति लियो। मान्छेले प्रतिरोधात्मक क्षमता विकास गर्दै जानुपर्छ भन्ने उसको मनसाय देखियो। दैनिक जीवन ठप्प पार्दा व्यक्तिगत स्वतन्त्रताले ठूलो मूल्य चुकाउनुपर्छ भन्ने पनि उसको तर्क थियो। बरू बिरामी र संवेदनशील व्यक्तिहरूलाई घरभित्रै रहन बेलायत सरकारले सुझाव दियो।

‘आज लकडाउन र्गयौं भने पनि भोलि कुनै दिन महामारी फैलिनेछ। बरू जनजीवन सामान्य राख्यौं भने भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता विकास हुँदै जाला,’ बेलायतको प्रमुख वैज्ञानिक सल्लाहकार सर पेट्रिक भालान्सले बिबिसीसँग भनेका छन्।

दिन ७७
मंगलबार, १७ मार्च
धेरै देशले लिए लकडाउनको नीति, संसारभरि जनजीवन ठप्प
कोरोनासँग लड्न युरोपेली देशहरूले आफूलाई संसारबाट अलग्याउन थाले। युरोप बाहिरका देशहरूमा आवागमन रोक लगाए। फ्रान्सेली राष्ट्रपति इम्यानुअल माक्रोँले भने, ‘हामी लडाइँको चरणमा छौं।’

मार्च तेस्रो सातासम्म इटालीमा दैनिक मृत्युदर ४५० नाघेर चीनलाई उछिन्ने दिशामा बढ्दै थियो। साताको अन्त्यसम्म स्पेनमा पनि संक्रमित संख्या दोब्बर बढेर १७ हजार नाघ्यो। संसारमा कोरोनाबाट मृत्यु हुनेमध्ये तीनचौथाइ युरोपेली थिए।

युरोपेली देशमा हरेक घन्टा विकराल परिस्थिति सिर्जना हुँदै थियो– बिरामी थपिँदै थिए, मृत्युदर बढ्दै थियो, नयाँ–नयाँ ठाउँ लकडाउन हुँदै थियो।

अस्ट्रेलियाले विदेशमा रहेका आफ्ना नागरिकलाई जतिसक्दो छिटो स्वदेश फर्कन आह्वान र्गयो। फ्रान्सले मोटरसाइकल चलाउन रोक लगायो। अमेरिकाको क्यालिफोर्नियामा ४ करोड जनसंख्यालाई घरबाहिर ननिस्कन आग्रह गरियो।

यसबीच बेलायती प्रधानमन्त्री कार्यालयले आफ्नो अघिल्लो नीति संशोधन गर्यो। प्रतिरोधात्मक क्षमता कुरेर बस्दा बेलायतमा मात्र ५ लाखभन्दा बढीको मृत्यु हुनसक्ने आकलनपछि प्रधानमन्त्री बोरिस जोन्सन हडबडाए।

उता, बुर्किनो फासोमा पूर्व उपराष्ट्रपतिको कोरोना संक्रमणले मृत्यु भयो। यो उप–सहारा अफ्रिका क्षेत्रको पहिलो कोरोना मृत्यु हो।

साताको अन्त्यसम्म अफ्रिका महादेशभरि हजार जना संक्रमित भए। संसारभरि १ लाख ६० हजारमा रोग पुष्टि भयो।

दिन ८३
सोमबार, २३ मार्च
नेपालमा दोस्रो कोरोना बिरामी, बेलायत र भारतमा लकडाउन आदेश
नेपालमा पहिलो बिरामी भेटिएको दुई महिनापछि दोस्रो व्यक्तिमा पनि कोरोना पुष्टि भयो। फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस देखिएको थियो।

उनी फ्रान्सबाट आएपछि ‘होम क्वारेन्टाइन’ मा बसेकी थिइन्। कतारसम्म सँगै आएकी भियतनामकी साथीले आफूलाई संक्रमण भएको खबर गरेपछि उनी परीक्षण गर्न गएकी थिइन्।

टेकु अस्पतालले ती युवतीको परिवारका सदस्यलाई पनि परीक्षण गरेर ‘होम क्वारेन्टाइन’ मा बस्नू भन्यो। उनको परिवारमा कसैलाई कोरोना लागेको पाइएन।

यो दुई महिना अवधिमा संसारभरि बिरामी संख्या ३ लाख ७० हजारभन्दा माथि पुग्यो। तीमध्ये बेलायतीको संख्या नै ६ हजार ६ सय थियो। बेलायती प्रधानमन्त्रीले अत्यावश्यक वस्तु र सेवाबाहेक सबै किसिमका गतिविधि बन्द गर्न निर्देशन दिए। सबैलाई घरमै बस्न आग्रह गरे।

यसबीच स्पेनमा झन्डै ४ सयको मृत्यु भयो। यो एक दिनको सबभन्दा ठूलो मृत्यु संख्या हो। न्यूयोर्कमा पनि ५ हजारभन्दा बढी नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो। योसँगै अमेरिकाभरि बिरामी संख्या २० हजार पुग्यो। साताको अन्त्यसम्म कोरोना प्रभावित मुलुकको सूचीमा अमेरिका पहिलो नम्बरमा थियो।

भाइरसको उद्गम चीनमा भने महामारीको चाप कम हुन थालेको थियो। यो साता त्यहाँ पहिलोपटक एक जना पनि नयाँ बिरामी भेटिएन।

भोलिपल्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनको लकडाउन घोषणा गरे। संसारका साढे तीन अर्ब जनता कुनै न कुनै खालको क्वारेन्टाइनमा बाँधिए।

दिन ८५
बुधबार, २५ मार्च
नेपालमा तेस्रो कोरोना बिरामी, लकडाउन आदेश
संयुक्त अरब इमिरेट्स (युएई) बाट आएका एक नेपाली युवालाई संक्रमण पुष्टि भयो। उनी धादिङका हुन्।

शारजाँह एयर अरेबियाको उडान नम्बर जी(९५३७ बाट काठमाडौं आएका उनी होटलमा बसेका थिए। अघिल्लो दिन ज्वरो आएपछि टेकु अस्पताल गएका थिए। अस्पतालले नमूना परीक्षण गर्न पठाएकोमा राति १२ बजे पोजेटिभ नतिजा आयो।

सरकारले उनीसँगै होटलमा रहेका सबै सम्भावित व्यक्ति खोजेर क्वारेन्टाइनमा राख्ने र परीक्षण गर्ने बतायो। यसको अघिल्लो दिनबाटै नेपालले एक साताको लकडाउन घोषणा गरेको थियो, जुन दुईचोटि थपेर वैशाख ३ सम्म जारी छ।

तेस्रो बिरामी भेटिएको दुई दिनपछि दुबईबाट आएर सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय युवालाई पनि कोरोना पोजेटिभ भेटियो।

त्यसको अर्को दिन बेल्जियमबाट आएकी युवतीलाई पनि कोरोना लागेको पुष्टि भयो।

दिन ९३
बिहीबार, २ अप्रिल
नेपालमा थप कोरोना बिरामी, संसारभर १० लाख
जोन हप्किन्स विश्वविद्यालयका अनुसार संसारभरि कोरोना संक्रमित संख्या १० लाख नाघ्यो भने मृतक संख्या ५० हजार पुग्यो। बेलायती प्रधानमन्त्रीसमेत बिरामी परेर अस्पताल भर्ना भए।

यता पाँच दिनअघि बेल्जियमबाट आएकी जुन युवतीमा कोरोना देखिएको थियो, उनीसँगै आएकी ६४ वर्षीया महिलालाई पनि कोरोना लागेको पाइयो। उनी नेपालका छैठौं बिरामी हुन्।

त्यसको दुई दिनपछि सुदूरपश्चिममा एकसाथ तीन जनामा कोरोना पोजेटिभ भेटियो। तीमध्ये दुई जना भारतबाट आएका युवा थिए, कैलाली र कञ्चनपुरका।

कैलालीमा एक जना महिलालाई पनि संक्रमण पुष्टि भयो। उनी दुबईबाट आएका चौथो संक्रमितकी भाउजू हुन्। योसँगै नेपालभित्र पहिलोपटक एक व्यक्तिबाट अर्कोमा कोरोना सरेको पाइयो।

उता स्पेनमा एकै दिन ९५० जनाको मृत्यु भयो। अमेरिकामा ६६ लाखले कोरोना प्रभावका कारण बेरोजगार सुविधा लिन आवेदन दिए। यसको अघिल्लो साता ३० लाखले आवेदन दिएका थिए।

अमेरिकामा मृतक संख्या ६ हजार पुग्यो। न्युयोर्कको सेन्ट्रल पार्कमा फिल्ड अस्पताल स्थापना गरियो। ट्रम्पले भने, ‘आगामी दुई साता पीडादायक हुनेछ।’

दिन ९९
बुधबार, ८ अप्रिल
महामारीको भविष्य अनिश्चित
बेलायती प्रधानमन्त्री अस्पतालमै छन्। उनलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ।

युरोपका केही मुलुकमा नयाँ बिरामी र नयाँ मृत्यु संख्या बढेको छ। पहिले महामारी चर्केका ठाउँमा अलि मत्थर हुन थालेको संकेत देखिएका छन्।

चीनमा महामारी सुरू भएपछि पहिलोचोटि एक जना पनि बिरामीको मृत्यु भएन। चीनले केही सहरमा सतर्कतापूर्वक लकडाउन खोल्ने निर्णय गर्यो।

अघिल्लो शनिबार संसारभरि एकै दिन ६ हजार ५ सयभन्दा बढीको ज्यान गयो। सुरूदेखि सतर्कता र निगरानी बढाएर महामारी नियन्त्रणमा राख्न सफल सिंगापुरमा फेरि नयाँ बिरामी देखिन थाल्यो।

कोरानोविरुद्ध खोप पत्ता लगाउन संसारभरका वैज्ञानिक अनुसन्धानमा छन्। निको भइसकेका बिरामीको रगतमा प्रतिरोधात्मक क्षमता (एन्डिबडी) परीक्षण पनि सुरू भएको छ। त्यो एन्टिबडी बिरामीको रगतमा हालेर उपचार गर्न सकिनेबारे अनुसन्धान भइरहेको छ। खोप भने अझै कम्तिमा १८ महिनादेखि दुई वर्ष लाग्ने बताइएको छ।

दिन १०१
शुक्रबार, १० अप्रिल
महामारीबाट मृत्यु हुने संंख्या १ लाख नाघ्यो
चीनको वुहानमा पहिलोचोटि कोरोना बिरामी फेला परेको सय दिन पूरा भएको छ।

महामारीको यो सय दिनमा कोरोना भाइरसले संसारका अधिकांश मुलुकलाई आफ्नो लपेटमा लिएको छ। अमेरिकाको न्यूयोर्क महामारीको नयाँ केन्द्र बनेको छ, जहाँ संसारका अन्य सबै मुलुकको दाँजोमा बढीले ज्यान गुमाएका छन्।

ठ्याक्कै १०१ औं दिन कोरोना महामारीले ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ। संसारभरि १७ लाख बढी मानिस भाइरसग्रस्त छन् भने करिब ४ लाख निको भइसकेका छन्।

महामारीको त्रास जारी छ।

(गार्डियनमा प्रकाशित हन्ड्रेड डेज द्याट चेन्ज्ड द वर्ल्ड’ लेखमा नेपालको सन्दर्भ थपेर सेतोपाटीले गरेको अनुवादको सम्पादित अंश ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*