२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुने एक लाख २० हजार नजिक


संक्रमितको संख्या १९ लाख २३ हजार नाघ्यो, ४ लाख ४३ हजार निको भएर फर्किए घर

-हिमाल खरेल
बिर्तामोड, बैशाख २ । विश्वभर एक लाख १९ हजार ५९५ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १९ लाख २३ हजार ६५१ पुगेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७१ हजार २८६ जनामा देखिएको छ भने ५ हजार ३९९ जनाको निधन भएको छ । नेपालमा संक्रमितको संख्या १४ पुगेको छ भने एकजना निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ५ हजार ६९१ जनालाई कोरोना संक्रमणको परीक्षण गरिएको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये ५ लाख ६३ हजार ४८१ जनाको केस बन्द गरिएको छ । अर्थात, ४ लाख ४३ हजार ८८६ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी १ लाख १९ हजार ५९५ जनाको निधन भएको हो ।

सफल उपचार र निधन भएकाबाहेक १३ लाख ६० हजार १७० जनामध्ये चार प्रतिशत अर्थात ५१ हजार ७४८ जनाको अवस्था दयनीय छ । बाँकी १३ लाख ८ हजार ४२२ जनाको उपचार र अवस्था स्थीर छ ।
संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या २३ हजार ६१८ जना पुगेको हो । अमेरिकामा ५ लाख ८६ हजार ७४८ जनाभन्दा बढी मानिसमा संक्रमण देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र एक हजार ५१३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २६ हजार ४४८ जना नयाँ संक्रमित फेला परेका छन् । संसारभर मृत्युको झन्डै एक चौथाइ संक्रमित अमेरिकामा छन् । मृत्युदर अप्रत्यासित रहेको विश्वको महाशक्ति राष्ट्र भनिने अमेरिकामा करिब १२ हजार ७७२ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

त्यस्तै, अमेरिकापछि धेरैका मृत्यु इटलीमा भएको छ । इटलीमा २० हजार ४६५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, स्पेनमा १७ हजार ७५६, फ्रान्समा १४ हजार ९६७, बेलायतमा ११ हजार ३२९, इरानमा ४ हजार ५८५, बेल्जियममा ३ हजार ९०३, जर्मनीमा ३ हजार १९४, नेदरल्यान्ड्समा २ हजार ८२३, ब्राजिलमा १ हजार ३२८, टर्कीमा १ हजार २९६ र स्विटजरल्यान्डमा १ हजार १३८ जनाको मृत्यु भइसकेको छ ।

बेलायत, बेल्जियम लगायत युरोपियन मुलुकमा पछिल्लो केही दिनयता कोरोना संक्रमणको अवस्था भयावह देखिएको छ । सुरूमा ठुलो मानवीय क्षति व्यहोरेको चीनले भने अथक प्रयासपछि संक्रममण नियन्त्रणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको छ ।

चीनमा ३ हजार ३४१ जनाको निधन भएको छ । पछिल्लो २४ घण्टामा चीनमा दुईजनाको मात्र मृत्यु भएको छ भने नयाँ संक्रमित १०८ जना फेला परेका छन् । तर, दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म त्यहाँ ३५८ जना संक्रमितको मृत्यु भएको छ । १० हजार ४५३ जना संक्रमित पहिचान भएको छ । पछिल्लो २४ घण्टामा भारतमा २७ जनाको मृत्यु भएको छ भने एक हजार २४८ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा ५ लाख ८० हजार ७४८ जना संक्रमित छन् । त्यसपछि स्पेनमा १ लाख ७० हजार ९९, इटलीमा १ लाख ५९ हजार ५१६, फ्रान्समा १ लाख ३६ हजार ७७९, जर्मनीमा १ लाख ३० हजार ७२, बेलायतमा ८८ हजार ६२१, चीनमा ८२ हजार १६०, इरानमा ७३ हजार ३०३ र टर्कीमा ६१ हजार ४९ जना संक्रमित पुगेका छन् ।

(बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer