
बिर्तामोड, बैशाख २१ । सहारा नेपालको अगुवाईमा सुरु भएको ‘एकका लागि एक’ अभियानले अर्जुनधारा–१० बाट खाद्य सामग्री वितरण सुरु गरेको छ ।
शुक्रबार सहाराको केन्द्रीय कार्यालयमा औपचारिक उद्घाटन भएको अभियानले लक डाउनमा कुनै पनि विपन्न परिवार भोकै बस्नु नपरोस् भनेर सहयोग जुटाएर खाद्य सामग्री वितरण गरिरहेको छ । शनिबार सो वडाका २५ परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।
वडा कार्यालयमा वडाध्यक्ष बलदेव गोम्देनलाई ‘एकका लागि एक’ को प्याकेज हस्तान्तरण गर्दै शनिश्चरे शाखा प्रबन्धक लक्ष्मीप्रसाद रिजालले केन्द्रबाट जारी अभियान यहाँसम्म ल्याएको जानकारी गराए । सोही दिन नै हरेक क्षेत्रबाट पीडित बनेका २५ परिवारलाई उक्त राहत प्रदान गरिएको थियो ।
राहतमा २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, २ लिटर तेल, हात धुने साबुन र नुहाउने साबुन रहेको छ । राहत प्रदानपश्चात वडाध्यक्ष गोम्देनले यस्तो असजिलो परिस्थितिमा वडा नम्बर १० मा आएर सेवाको भावना बढाइदिएको हुँदा सबैको मन, मनमा सहारा बस्न सकोस् भनी शुभकामना दिएका थिए ।
सहारा नेपालले ‘एकका लागि एक’ अभियानअन्तर्गत झापामा कम्तिमा एक हजार अतिविपन्न परिवारलाई राहत दिने योजना बनाएको छ । अभियानलाई झापाका १५ वटा सामाजिक संस्थाले साथ दिएका छन् ।
अभियानले सरकारको कुनै पनि सामाजिक भत्ता नलिएका परिवार (ज्येष्ठ नागरिक, एकल महिला, अल्पसंख्यक, अपाङ्गता, दलित, पिछडा आदि), कुनै प्रकारको पेन्सन नपाएको परिवार, परिवारको सदस्य जागिरे नभएको, घर नभएको, भए खेतीपाती नगरेको, तेस्रो मुलुकमा वैदेशिक रोजगरीमा कोही पनि नभएको परिवारलाई मात्र खाद्यान्न सहयोग गर्ने लक्ष्य लिएको अभियान संयोजक महेन्द्रकमार गिरीले बताए ।