२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

‘एकका लागि एक’ अभियान: ९१० परिवारलाई राहत


२६ संस्था र ३१७ व्यक्तिको साथ

-हिमाल खरेल
बिर्तामोड, बैशाख २६ ।
लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्न सुरु गरिएको ‘एकका लागि एक’ अभियानले एक सातामा ९१० परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन उद्घाटन गरेर वितरण सुरु भएको अभियानअन्तर्गत बिहीबारसम्म झापा र मोरङका आठ स्थानीय तहमा ९१० परिवारले खाद्यान्न पाएको सचिवालयका गोपाल भट्टराईले जानकारी दिए । अभियानले कम्तिमा २ हजार परिवारलाई खाद्यान्न वितरण गर्ने रकम प्राप्त गरिसकेको छ ।

‘कोभिड १९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने नाराका साथ सुरु भएको अभियानले मेचीनगरका काँकरभिट्टामा ७५, धुलाबारीमा ६९ र चारआलीमा ३१ गरी कुल १७५ परिवारलाई खाद्य सामग्री प्रदान गरेको छ ।

त्यस्तै, बिर्तामोड वडा नम्बर १ मा ३०, वडा नम्बर ३ मा २०, वडा नम्बर ४ र ५ मा ५०÷५० गरी कुल १५० परिवार, अर्जुनधाराका १, २, ३, ५, ७, ८ र १० नम्बर वडाका ११० परिवार, शिवसताक्षीका ५, ६, ९, १० र ११ नम्बर वडाका १०० परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ ।

भट्टराईका अनुसार कनकाई नगरपालिका २, ३, ४, ५ र ८ नम्बर वडाका १०० परिवार, दमक नगरपालिकाका ३ र ४ वडाका १०० परिवार, भद्रपुर नगरपालिकाका १० वटा वडामा १० जनाका दरले १०० परिवार र मोरङको सुन्दर हरैँचा नगरपालिकाका ४ र ११ नम्बर वडाका ७५ परिवारलाई खाद्य सामग्री दिइएको छ ।

‘एकका लागि एक’ अभियानमा खासगरी सहारा नेपाल साकोसको मुख्य योगदान रहेको छ । साकोसका ३५० जना कर्मचारीका तर्फबाट १२ लाख रुपैयाँ अभियानमा सहयोग प्राप्त भएको छ । त्यस्तै, सहारा नेपाल गैरसरकारी संस्थाले २ लाख रुपैयाँ प्रदान गरेको छ ।

अभियानमा २६ वटा सामाजिक संस्था जोडिएको अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीले बताए । हालसम्म संस्थागत रुपमा ७ लाख ३७ हजार २०० रुपैयाँ र व्यक्तिगत रुपमा २३ लाख २५ हजार २०१ रुपैयाँ अभियानलाई प्राप्त भएको छ । व्यक्तिगत रुपमा देश तथा विदेशबाट ३१७ जना दाताले अभियानमा सहयोग गरेका छन् ।

लामो समयसम्म भएको लक डाउनका कारण समस्यामा परेका अति विपन्न ज्यालादारी गरेर परिवारको पालनपोषण गर्ने परिवारलाई यो अभियानले खाद्यान्न वितरण गरिरहेको छ । अभियानलाई उत्सहाजनक सहयोग प्राप्त भइरहेकाले २ हजारभन्दा बढी परिवारलाई खाद्य सामग्री दिइने अभियानका सहसंयोजक विनोद बस्नेतले बताए ।

अभियानले स्थानीय तहको समन्वयमा प्रतिपरिवारलाई २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर खाने तेल, साबुनलगायतका आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ । अभियानले सामाजिक सञ्जाल र कर्मचारी परिचालन गरेर धमाधम आर्थिक संकलन गर्दै आएको छ ।

अभियानले सरकारको कुनै पनि सामाजिक भत्ता नलिएका परिवार (ज्येष्ठ नागरिक, एकल महिला, अल्पसंख्यक, अपाङ्गता, दलित, पिछडा आदि), कुनै प्रकारको पेन्सन नपाएको परिवार, परिवारको सदस्य जागिरे नभएको, घर नभएको, भए खेतीपाती नगरेको, तेस्रो मुलुकमा वैदेशिक रोजगरीमा कोही पनि नभएको परिवारलाई मात्र खाद्यान्न सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer