२०७७ माघ ५ सोमबार
Jhapa Today
Adv top

महिनावारीको विषयमा समुदाय किन मौन ?


कल्पना गरौं, आजदेखि विश्वभरका महिलाहरुको महिनावारी बन्द भयो, र अब कहिल्यै कुनै पनि महिलाको महिनावारी हुँदैन । अबको केही दशकपछिको अवस्था के होला ?
पक्कै, मानिस जन्मिने प्रक्रिया नै बन्द हुनेछ । केही दशकपछि मानव जातिकै अस्तित्व समाप्त हुनेछ ।
मानव जातिको जीवन निर्माणको प्रक्रिया थालनी हुन्छ, महिनावारीबाट । तर यही पवित्र महिनावारी अझै पनि अपवित्रताको विषय बनेको छ र सार्वजनिक रुपमा छलफलका लागि कतिपय समाजमा वर्जित विषय।
समाजले छलफल गर्न नचाहे पनि, बिहीबार फेरि महिनावारीको बारेमा समुदायमा छलफल भए, र प्रतिवद्धता व्यक्त भयो ः महिनावारीको मौनता तोड्ने ।
“मौनता र स्वीकृतिको संस्कारले कुनै पनि सामाजिक परिवर्तन हुँदैन”, झापाको कमल गाउँपालिका, वडा नं. ४ मा आयोजना गरिएको गाउँपालिकास्तरीय कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले भन्नुभयो, “महिनावारीको बारेमा समेत मौनताको संस्कार रहेसम्म चिन्तन र व्यवहारमा परिवर्तन सम्भव छैन ।”
परिवर्तनका लागि एकजुट हुनुपर्नेमा जोड
इतिहासले समेत देखाउँछ कि परिवर्तनको थालनी अस्वीकृतिबाट हुन्छ । यथास्थितिलाई स्वीकार गर्दै गएमा परिवर्तन हुँदैन । ‘चालमा रहेको बस्तुलाई स्थिर अवस्थामा लैजान र स्थिर अवस्थामा रहेको बस्तुलाई चालमा लैजान अतिरिक्त बल’ आवश्यक परेजस्तै महिनावारीको बारेमा रहेका विभेदकारी धारणामा परिवर्तनका लागि समेत ‘योजनावद्ध ढंगले कार्यान्वयन’ मा जानुपर्ने धारणा अध्यक्ष काफ्लेको छ । “संसारभरका महिलामा महिनावारी हुन्छ, तर हामीकहाँ छुवाछुत र विभेद किन ?”, उहाँको प्रश्न छ, “हामी प्रभावितहरु अहिल्यै नजुटे कहिले जुट्ने ?”
अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर भएको प्रतिवद्धता कार्यक्रममा अध्यक्ष काफ्लेलेमात्र होइन, उपस्थित सहभागीहरुले समेत महिनावारीको बारेमा खुलेर बोल्ने, विभेद नगर्ने र महिनावारी स्वच्छता प्रवद्र्धनमा क्रियाशील हुने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै प्रतिवद्धता व्यक्त गरे सोही अवसरमा छलफलमा जुटेका किशोरीहरुले पनि । “स्कूलमा प्याड फेर्ने र सफाइ गर्ने राम्रो व्यवस्था नहुँदा महिनावारीको बेला स्कूल पनि जेलजस्तो लाग्छ”, किशोरी एलिसा (नाम परिवर्तन) को प्रश्न छ, “बस्नका लागि भवन, दिसा पिसावका लागि चर्पीको डिजाइन गर्दा हाम्रा लागि प्याड फेर्ने र सफाइ गर्ने कोठाको डिजाइन किन समावेश हुँदैन ?”
महिनावारी व्यवस्थापन दिवसकै अवसर पारेर झापाको गौरीगञ्ज गाउँपालिका, वडा नं. २ मा भेला भएका महिलाहरुले महिनावारीको समयमा स्थानीय बजारमा प्याड समेत सहज रुपमा पाउन नसकेको दुःखेसो पोखे । “स्थानीय स्तरमा प्याड समेत सजिलै पाइँदैन, बजारसम्म पुग्न सजिलो पनि छैन”, वडा नं. २ मा रहेको प्रकाशपुर टोल पूर्ण सरसफाइ समिति अध्यक्ष माया कोइरालाले भन्नुभयो, “लकडाउनमा यातायात र आवतजावत बन्द भए पनि महिनावारी त रोकिदैन नि ।”
स्यानिटरी प्याड सहजै नपाएका कारण झेल्नुपर्ने समस्याबाट पार पाउनका लागि कपडाको घरेलु प्याड उत्पादनमा जोड दिनुपर्ने राय समितिका सचिव विद्या निरौलाको छ । पूर्ण सरसफाइ अभियानअन्तर्गत घरेलु प्याड निर्माणको तालिम सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।
जनजाति बाहुल्यता रहेको गौरीगञ्जमा महिनावारीको समयमा छुवाछुतभन्दा पनि स्वच्छता प्रवद्र्धन मुख्य सवाल भएको बताउनुहुन्छ झापा जिल्ला पूर्ण सरसफाइ अभियानअन्तर्गत गौरीगञ्जका पालिका संयोजक ज्ञानु राजवंशी । “घरायसी तहमा सरसफाइ प्रवद्र्धन गर्न सहज भए पनि संस्थागत रुपमा महिनावारीमैत्री सरसफाइ सुविधा निर्माण गर्न कठिन भैरहेको छ”, उहाँको भनाइ छ, “यहाँका कार्यालयदेखि विद्यालयसम्म नै महिनावारीमैत्री सरसफाइ सुविधाको अभाव छ ।”
भनेको बेला सरसफाइ सामग्री पाइएन ः अध्ययन
कोरोना सन्त्रासका कारण सृजित बन्दाबन्दीपछि समुदायमा पूर्ण सरसफाईको सन्देश निरन्तर प्रवाह गर्न र कोरोना विरुद्धको प्रतिकार्यका लागि ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमबाट कार्यक्षेत्रका घरधुरीमा फोन सम्पर्कको माध्यमबाट जानकारी लिने दिने कार्य भैरहेको छ । यसअन्तर्गत टेलिफोनबाट जानकारी दिने र घरधुरीका सूचना मोबाइल एप्लिकेशनबाट अद्यावधिक गर्ने कार्य कार्यक्रम सञ्चालन भएका नेपालका १६ वटै जिल्लामा जारी रहेको सो कार्यक्रम सञ्चालनमा सघाउने निकाय यू.एन. ह्याबिट काठमाण्डौका खानेपानी, सरसफाइ तथा स्वच्छता संयोजक राजेश मानन्धरले जानकारी दिनुभयो ।
यस कार्यक्रमअन्तर्गत महिनावारी सरसफाइ र स्वच्छताको बारेमा तेस्रो चरणमा कुराकानी गरिएका ५ हजार ८ सय ४२ घरधुरीका महिलामध्ये १ हजार ४ सय ४६ ले लकडाउनको समयमा आवश्यक परेको बेलामा स्यानटरी प्याड लगायतका सामग्री अभाव भएको जनाएका छन् । यसैगरी, १ हजार २ सय ५९ जनाले घरेलु स्यानिटरी प्याडको समेत अभाव भएको बताएका छन् ।
अघिल्लो शैक्षिक सत्रदेखि नै विद्यालयबाट नै छात्राहरुलाई महिनावारीको समयमा स्यानिटरी प्याड उपलब्ध गराउने कार्यको थालनी गरिएको भए पनि अहिले विद्यालय बन्द छन्, र किशोरीहरु पसलमा गएर आफैले सहजै स्यानिटरी प्याड किन्न हिच्किचाउँछन् । “वयस्क महिला भन्दा पनि किशोरीहरु बढी प्रभावित भएको उहाँहरु सँगको कुराकानीमा पाइयो”, पालिका संयोजक ज्ञानु राजवंशीको भनाइ छ, “किशोरीहरुले परिवारमा खुलेर भन्न पनि लाज मान्ने र आफै पसलसम्म पुगेर प्याड किन्न पनि लाज मान्ने भएकोले उनीहरुमा मानसिक तनाव समेत बढ्ने गरेको बताए ।”
अद्यावधिक गरिएको जानकारी अनुसार छलफल गरिएका महिलामध्ये २ सय ४० महिलाले लकडाउनको बेला मानसिक तनाव भएको र यसले महिनावारी चक्र नै अनियमित भएको समेत बताएका छन् भने ३ सय ७६ ले परिवारमा गोपनियताको समस्या भएको बताएका छन् ।
मौनताको संस्कार तोड्न जोड
महिनावारी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन पूर्ण सरसफाइ प्रवद्र्धनअन्तर्गत एक प्रमुख क्रियाकलापको रुपमा रहेको र आफूहरुले समेत संस्थागत र घरायसी तहमा विशेष जोड दिइएको बताउनुहुन्छ विराट सामुदायिक अध्यय केन्द्र झापाका पूर्ण सरसफाइ अभियान संयोजक सोमनाथ आचार्य । “समुदाय तहमा समेत पहिलो जोड महिनावारीको बारेमा भैरहेको मौनतालाई तोड्दै यसलाई छलफल र विमर्शको विषयको रुपमा स्थापित गर्न जोड दिइरहेका छौं”, आचार्यको भनाइ छ, “संस्थागत सरसफाइ प्रवद्र्धन र महिनावारीमैत्री सरसफइ सुविधा निर्माणका लागि पालिका तहमा नीतिगत निर्णय र त्यसको कार्यान्वयन पक्षमा समेत सहजीकरण गरिरहेका छौं ।”
विद्यालय र समुदाय केन्द्रित कार्यहरुमा समेत महिनावारी स्वच्छता प्रवद्र्धनलाई अभिन्न विषयको रुपमा समावेश गरिएको र घरधुरीलाई सफा र स्वच्छ घोषणा गर्नका लागि त्यस घरका सदस्यहरुमा महिनावारी सरसफाइ तथा स्वच्छतासम्बन्धी ज्ञान भएको र स्वच्छता व्यवहार अपनाउने गरेको सूचकमा विशेष ध्यान दिने गरिएको आचार्यको भनाइ छ ।
पूर्ण सरसफाइको दिगोपन संस्थागतकरणका लागि पालिका तहमा तयार गरिएको खानेपानी, सरसफाइ तथा स्वच्छता योजनामा समेत महिनावारी सरसफाइ तथा स्वच्छता प्रवद्र्धनमा जोड दिइएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् योजना तयारी कार्यदलका संयोजक सुवास श्रेष्ठको भनाइ छ । “महिनावारीसम्बन्धी सोचाइ तथा धारणामा सकारात्मक परिवर्तन गर्ने, महिनावारीसम्बन्धी सुविधामा सबै महिलाको पहुँच पु¥याउने र संस्थागत एवम् सार्वजनिक सरसफाइ संरचनाहरुलाई महिनावारीमैत्री बनाउनेमा योजनामा जोड दिइएको छ”, उहाँको भनाइ छ, “अहिलेको कोरोनाको सन्त्रासले पनि सरसफाइ तथा स्वच्छता योजनालाई अझै प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यक भएको देखाएको छ ।”
कुनै पनि सामाजिक विषय वा सवालका प्रभावितहरुलाई संगठित र क्षमता अभिवृद्धि गरेमा मौनताको संस्कार तोड्न सहज हुने भएकोले विद्यालय र टोल तहमा समेत महिनावारी सरसफाइ तथा स्वच्छता सरोकार समूह गरी उनीहरुको क्षमता अभिवृद्धि र सुधार योजना बनाई कार्यान्वयनमा जोड दिने गरिएको संस्थाका कार्यक्रम अधिकृत अर्जुन पाठकको भनाइ छ ।
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ ले सोको स्थानीयकरण र कार्यान्वयनको दायित्व स्थानीय तहलाई सुम्पिएकोले पनि आफूहरु यसका लागि झनै प्रतिवद्ध बनेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको भनाइ छ । “मौनताको संस्कार तोड्ने काम किशोरीहरुबाट थालनी गरिएमा आउँदो पुस्ताले समस्या भोग्नु पर्दैन भन्नेमा सचेत रहेका छौं”, अध्यक्ष काफ्लेको प्रतिवद्धता छ, “विद्यालयहरुले तयार गर्ने वार्षिक योजना र अतिरिक्त क्रियाकलापमा समेत पूर्ण सरसफाइ र महिनावारी स्वच्छतालाई समेट्न विशेष जोड दिन्छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*