२०७८ बैशाख ७ मंगलबार
Jhapa Today
Adv top

कोभिड-१९ र मनोसामाजिक समस्या


डा सुमनप्रसाद अधिकारी

हाम्रो समाजमा मानसिक रोग र यसको उपचारबारे धेरै भ्रमहरू छन्। वैज्ञानिक आधार नभएकाले यस्तो रोगनै हुन्न भन्ने जमात पनि ठुलै छ। तर सिग्मंड फ्रेडको सिद्धान्तसँगै मनको अस्तित्वलाई विज्ञानले स्वीकारेको धेरै भयो। यसैमा आधारित भएर गरिएका खोज९अनुसन्धानले धेरै प्रकारका मनोबैज्ञानिक रोगहरु हुने तथ्य देखाएको छ। 
 
मनोवैज्ञानिक रोगलाई अरु रोगजस्तै मान्न सकिने आधारहरू पनि धेरै छन्। संसारको एक९चौथाई जनसंख्या यस्तो समस्याबाट गुजिरहँदा यस्तो रोग नै हुन्न भन्नु मुर्खता हुनेछ।

धेरैजसो अवस्थामा मानसिक रोगको निदान भनेको व्यक्तिको सोचाइ, भोगाइ र व्यवहारमा आएको परिवर्तन हो। मानसिक रोगको निदान र उपचारमा सकारात्मक पहल आजको आवश्यकता हो। 
 
महामारी, लकडाउन र मानसिक समस्या 
संसारभारी कोभिड१९ को महामारीले मानिसहरू आक्रान्त भईरहेको बेला मानसिक समस्याहरू पनि धेरै देखिन थालेका छन्। विश्व स्वास्थ्य संगठनले पनि निकट भविष्यमा मानसिक रोगको महामारी नै आउन सक्ने आँकलन गरेको छ।  
हालको अवस्थामा जुन खालको आर्थिक, सामाजिक अनि शैक्षिक अनिश्चितता छ त्यसले गर्दा कुनै पनि व्यक्तिमा अस्थिर मनोभाव वा अस्थिर मनोदसा पैदा गर्न सक्दछ। जसको कारण सो व्यक्ति मनोवैज्ञानिक समस्याबाट ग्रसित हुने सम्भावना धेरै रहन्छ। कहिलेकाही त यो नै आत्महत्याको कारक समेत बन्न पुग्दछ। जुनसुकै उमेर समूहका मानिसमा यस्तो समस्याहरू देखिने सम्भावना रहन्छ । 
 
बाल्यवस्था 
एक्लै बस्न मन हुने, अरुसँग घुलमिल नहुने, धेरै रिसाउने, झगड़ा गर्ने, लडिबुडी गर्ने, आफुभन्दा ठुलाले भनेको नमान्ने, धेरै चकचक गर्ने आदि।
 
वयस्क 
मन निरास हुने, नरमाइलो लाग्ने, रुन मन लाग्ने, पश्चातापको भावना आउने, आत्महत्याको सोच आउने, डर लाग्ने, काममा ध्यान नजाने, कुराहरु बिर्सने, अनावश्यक सोच आउने, निद्रा नलाग्ने, शरीर पोल्ने, झमझम गर्ने, कुनै प्रकारको भ्रम हुने, मिथ्याभास हुने आदि।
 
बुढेसकाल 
डर लाग्ने, शंका लाग्ने, स्मरणशक्ति कम हुने, झिजो लाग्ने, मन उदास हुने, रुन मन लाग्ने, छटपटी हुने आदि।
 
महामारीको कारण लागुपदार्थको प्रयोग समेत बढ़ने सम्भावना रहन्छ। तनाव कम गर्ने नाममा मादकपदार्थ र अन्य लागुऔषध प्रयोग हुनेगरेको पाइएको छ। 
 
सामाजिक दूरी र यसको मनोवैज्ञानिक असर
 कोभिड १९ अत्यधिक संक्रामक भाईरल इन्फेक्सन हो। श्वासप्रस्वासको माध्यमले सर्ने हुनाले सुरक्षाको हिसाबले शारीरिक दूरी आवश्यक हो। सामाजिक होइन। बरु यतिबेला सामाजिक एकताको भाव आवश्यक छ। तर यसको अर्थ लकडाउनको मर्मलाई बेवास्ता गर्दै एकअर्कालाई भेट्नु भन्ने पनि होइन।  
आइसोलेसन र क्वारेन्टिनमा बस्दा समेत मानसिक स्वस्थताको लागि विशेष ध्यान दिनुपर्दछ। त्यसका निम्ति सकारात्मक सोचाइ, दरिलो आत्मविश्वास अनि आत्मानुशासनको महत्वपूर्ण हुन्छ।

सूचनाको अधिक भार र मानसिक समस्या 
महामारी सम्बन्धि सूचना मात्र धेरै समय सुन्ने वा हेर्ने गरेमा पनि मनोवैज्ञानिक समस्याहरू आउनसक्ने अनुसन्धानहरुले देखाएका छन्। एन्जाइटि, डिप्रेसनजस्ता समस्या भएका व्यक्तिमा सो समस्याले जटिल रूप लिने वा पहिलोपल्ट यस्ता समस्या देखापर्न सक्ने पनि हुन्छन्। 

ओसीडी भएका व्यक्तिलाई त अहिलेको अवस्थाले झनै कठिन स्थिति पैदा गरी दिएको छ। कहिलेकाँहि गलत सूचनाको कारण आफुले आफैलाई हानि पु¥याउने खालका सोच आउने  वा आत्महत्याको सोच आउने सम्म हुन सक्दछ।

महामारीमा कसरी मानसिक स्थिती सबल बनाउने? 
मानसिक रूपमा स्वस्थ रहनु शारीरिक स्वस्थता जत्तिकै महत्त्वपूर्ण विषय हो। योग, व्यायाम, स्वस्थ खानपान, पर्याप्त निद्राले मानसिक रूपमा सबल रहन सहयोग गर्दछन।

आजको यो विषम परिस्थिति अवश्य टरेर जान्छ। नयाँ बिहानी फेरी आउँछ भन्ने सकारात्मक सोच र ऊर्जाले यो घड़ीमा मनलाई अस्थिर हुनबाट जोगाउने काम गर्दछ। साथै तनाबको सही व्यवस्थापन पनि मानसिक रूपमा स्वस्थ रहन आवश्यक कड़ी हो। 

यी सबैका बाबजुद कुनै प्रकारको मनोवैज्ञानिक समस्या छन भने मनोविद् वा मनोचिकित्सकसंग समयमा सल्लाह लिन अप्ठ्यारो मान्न हुँदैन। -स्वास्थ्यखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*