२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

पिसिआर ल्याबका लागि मेची उद्योग वाणिज्य संघ र भन्सार एजेन्ट संघको सहयोग


बिर्तामोड, जेठ २९ । जनस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याबका लागि मेची उद्योग वाणिज्य संघ र मेची भन्सार एजेन्ट संघले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

‘एकका लागि एक अभियान’ अन्तर्गत झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब झापाको कनकाई कोटिहोममा स्थापना हुने सम्भावना छ । बिहीवार बिर्तामोडमा एक कार्यक्रमकाबीच मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, सचिव रवि नेपाल, कार्यालय प्रमुख गोपाल बस्नेत तथा मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौलाले संयुक्त रुपमा ५१ हजार रुपैयाँ हस्तान्तरण गरे ।

अभियानको तर्फबाट सहसंयोजक विनोद बस्नेत, सदस्यहरु बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेल र वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले रकम ग्रहण गरेका थिए ।

अभियानका सहसंयोजक बस्नेतले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै एकका लागि एक अभियानले विश्वभर रहेका झापालीलाई एक ठाउँमा जोडेको बताए । उनले महामारी नियन्त्रणका लागि छिटोभन्दा छिटो पिसिआर ल्याब स्थापना गर्न सबैलाई सहयोगका लागि अपिल गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईले एकका लागि एक अभियानमा निजी क्षेत्रको समेत उत्साहजनक सहभागिता बढेको भन्दै खुसी व्यक्त गरे । उनले सबै उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुलाई समेत यस अभियानमा जोडिन आग्रह गरेका छन् ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष तिम्सिना र भन्सार एजेन्ट संघका अध्यक्ष निरौलाले अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।

एकका लागि एक अभियान, अन्तर्राष्ट्रिय झापाली समाज, जिल्ला सहकारी संघ, प्रदेश सरकार तथा झापाका स्थानीय सरकारको सहकार्य र समन्वयमा पिसिआर ल्याब स्थापना हुनेछ । ल्याब स्थापनाका लागि एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान छ ।

Adv footer