२०८२ जेठ २५ आइतबार
Jhapa Today
Adv top

आरएमडिसी लघुवित्तद्वारा पिसिआर ल्याबका लागि २ लाख सहयोग


बिर्तामोड, असार २ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौँले झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याबका लागि दुई लाख रुपैयाँ प्रदान गरेको छ ।

एकका लागि एक अभियानअन्तर्गत झापामा एक करोड १५ लाखको लागतमा ¥यालको नमुना परीक्षण गर्ने पिसिआर ल्याब स्थापना हुँदैछ । आरएमडिसीले सामाजिक उत्तरदायित्वअन्तर्गत अभियानलाई सो रकम प्रदान गरेको इटहरी शाखाका प्रबन्धक गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

आरएमडिसी लघुवित्त वित्तीय संस्था सहकारी संस्था तथा लघुवित्त वित्तीय संस्थाहरुलाई थोक कर्जा प्रदान गर्ने राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । करिब दुई दशकदेखि देशका विभिन्न भागमा रहेका विपन्न वर्गलाई लघु ऋण प्रदान गर्ने लघुवित्त र सहकारी संस्थालाई थोक कर्जा प्रदान गर्दै आएको छ ।

४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजले पनि ल्याबका लागि २५ देखि ३० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । त्यस्तै, झापा जिल्ला सहकारी संघको समन्वयमा संघसहित राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकबाट समान १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको छ ।

त्यस्तै, सहारा नेपाल साकोसबाट १ लाख ५ हजार, पूर्व नेपाल साकोसबाट १ लाख २ हजार, पब्लिक साकोसबाट १ लाख १ हजार र हाम्रो नेपाल साकोसबाट १ लाख १ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । संघका अध्यक्ष गणेश ढकालका अनुसार संघको समन्वयमा अभियानलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्न लागिएको छ ।

अभियानको कोषमा २८ लाख रुपैयाँभन्दा बढी बचत रहेकोमा दाताहरुले नगद प्रदान गरिरहेको अभियानका सचिवालय प्रमुख गोपाल भट्टराईले जानकारी दिए अभियानले यसअघि दुई हजार परिवारलाई खाद्यान्न, १० हजार मजदुरलाई तयारी खाना खुवाउनुका साथै एक हजार २० थान भिटिएम र आरडिटी किट प्रदान गरिसकेको छ । बिर्तामोडको एक क्वारेन्टिनमा २२ दिनसम्म बिहान बेलुका दिउँसो खाना र खाजा खुवाएको थियो ।

Adv footer