२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

भारतबाट आउनेको व्यवस्थापनमा झापा उत्कृष्ट


मेची पुलमुनिबाट नेपाल प्रवेश गर्ने तयारीमा दोलखाका स्थानीय ।

बिर्तामोड, असार ४ । सरकारले भारतबाट आउन तोकेको २० वटा सीमा क्षेत्रमध्ये झापाको व्यवस्थापन अन्यत्रभन्दा राम्रो पाइएको छ ।

झापामा सीमाबाट प्रवेश र बर्हिगमनका लागि छुट्टाछुट्टै बाटो तय गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने मेची पुलमुनिबाट आउने गरेका छन् भने भारततिर जाने पुलमाथिबाट जान्छन् ।

नेपाल प्रवेश गर्नेबित्तिकै हात धुने र ज्वरो नाप्ने व्यवस्था छ । यसको संयोजन जनस्वाथ्य कार्यालयको टोलीले गर्छ । त्यसपछि नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लैजान्छ ।
‘अन्तर्वार्ता नसकिउञ्जेल उहाँहरूलाई अल्छी नलागोस् भनेर वाइफाइको पनि व्यवस्था गरिएको हो’, झापाका एक सुरक्षा अधिकृतले भने, ‘सेन्टरमा ७ वटै प्रदेशअनुसारको डकुमेन्टेसन गरेर विवरण संकलन गर्ने गरेका छौँ ।’

त्यहीँ नेपाल टेलिकमले पनि उनीहरूलाई निःशुल्क सिम कार्ड वितरण गर्ने गरेको छ भने एक बोतल पानी, मास्क र खानाको पनि व्यवस्था गरिएको छ । महिलाहरूका लागि काँकरभिट्टा रोट्र्याक्ट क्लबले स्यानिटरी प्याड पनि उपलब्ध गराउँछ ।

सबै विवरण संकलन र आरडिटी परीक्षणपछि भारतबाट आउने व्यक्तिलाई सम्बन्धित जिल्लामा पठाउने गरिएको छ । काँकरभिट्टाबाहेक सबै नाकामा नेपाल प्रवेश गर्नेहरूको परीक्षण गर्ने गरिएको छैन । यद्यपि, कतिपयको हकमा रुट नमिल्दा मेचीनगर अथवा भद्रपुरको कलवलगुढीमा रहेको क्वारेन्टिनमा राखिने गरिएको छ ।

यसैबीच, सरकारले तोकेको देशभरका २० वटा नाकाबाट दैनिक चारदेखि पाँच हजार मानिस आउने गरेको तथ्यांक छ । सरकारी तथ्यांकअनुसार हालसम्म भारतबाट दुई लाख ४६ हजार नागरिक फर्किएका छन् । यसरी फर्किनेमध्ये धेरै जेठ ११ र १२ मा फर्किएका हुन् ।

भारतले लकडाउन खुकुलो बनाएर रेल्वे सेवा सुरु गरेसँगै ठुलो संख्यामा नेपालीहरू नेपालको सीमा आइपुगेका थिए । उनीहरूको व्यवस्थापन पनि भद्रगोल भएको थियो । परीक्षणबिना नै नेपाल प्रवेश गरेका उनीहरूको स्थानीय तहमा क्वारेन्टिन पनि राम्रोसँग भएन । त्यही कारण क्वारेन्टिनस्थलमा कतिपय संक्रमित भएका छन् ।

सीमा क्षेत्रको होल्डिङ सेन्टर व्यवस्थापनको जिम्मा सेनालाई दिइएको छ । झापामा नेपाली सेनाको श्रीनाथ गण, चारआलीले नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासनलगायत सबैको समन्वयमा भारतबाट आउनेको व्यवस्थापन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer