२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जनस्तरबाट स्थापना हुने पिसिआर ल्याब साउन १ गतेबाट सञ्चालनमा आउने


झापा, असार १३ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा स्थापना गर्न लागिएको पिसिआर ल्याब साउन १ गतेबाट सञ्चालनमा आउने तयारी थालिएको छ ।

शनिबार अभियानको बिर्तामोडमा प्राविधिकसहितको बैठकले ल्याब सञ्चालनको तयारी सुरु गर्ने निर्णय गरेको छ । त्यसका लागि पिसिआर मेसिन तथा ल्याबका लागि आवश्यक अन्य उपकरणका खरिद प्रक्रिया अघि बढाइएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

ल्याब स्थापना हुने समर्पण भवनको प्राविधिक टोलीले निरीक्षण गरी संरचना निर्माणको कामसमेत सुरु गरिएको छ । अन्नपूर्ण न्युरो अस्पताल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार साह र विराज लोहनीले ल्याबका लागि आवश्यक पर्ने मापदण्ड र प्राविधिक पक्षबारे रायसुझाव दिएका थिए ।

यसअघि स्थापना हुन लागेको ल्याबका विषयमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले खरिद प्रक्रिया र भन्सार छुटका लागि प्रदेश सरकारले जिम्मेवारी लिने बाचा गरेका थिए । अभियानमार्फत झापामा स्थापना हुन लागेको पिसिआर ल्याबका लागि झापाका राजनीतिक दल, सहकारी अभियन्ता र साझेदार संस्थाबीच मन्त्री घिमिरेले समर्पण भवनमा ल्याब राख्न अनुमिति दिए ।

मन्त्री घिमिरेले अभियानले हालसम्म गरेको कामको प्रशंसा गर्दै चाँडाभन्दा चाँडो पिसिआर मेसिन खरिद गर्न अभियान टोलीलाई आग्रह गरेका थिए । मन्त्री घिमिरेले झापाको केन्द्रविन्दु भएकाले कोटिहोम क्षेत्र उपयुक्त भएको बताएका थिए । उनले छलफलपछि भवनको निरीक्षण गरेका थिए । उनले ल्याब सञ्चालनका लागि पनि प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गरे ।

समर्पण भवनमा ल्याब स्थापना र सञ्चालन गर्ने यसअघि नै अभियानको बैठकले निर्णय गरेको थियो । त्यसमा झापामा राजनीतिक दलका प्रमुखहरुले सहमति जनाएका थिए भने मन्त्रीसँगको छलफलमा पनि उनीहरुको एक स्वर रहेको थियो ।

कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले ल्याब स्थापनापछि सञ्चालनमा नगरपालिकाले व्यवस्थापकीय जिम्मेवारी लिने बताइसकेका छन् । उनले त्यसका लागि नगरले २५ लाख रुपैयाँ विनियोजन गरेको र थप आइपरे तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

ल्याब स्थापनाका लागि अभियानले ८५ लाख रुपैयाँ संकलन गरिसकेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघको समन्वयमा २५–२५ लाख हजार रुपैयाँ प्रदान गरेका छन् भने विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक संघसंस्थाले रकम सहयोग गरिरहेका छन् ।

कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला छन् । प्रत्येक प्रयोगशालाले एक सय पिसिआर परीक्षण गर्न सक्छन् । तर, प्रदेश १ मा स्वाब संकलन भने दैनिक छ सयभन्दा बढी भइरहेको छ । प्रदेश १ मा संकलन भइरहेको र्‍यालको नमुना संख्याको तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला झापा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer