२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दुवै मृगौला पीडित नेपालीद्वारा सहयोगको याचना


बिर्तामोड, असार १९ । झापा बिर्तामोड ३ करेलाबारी निवासी मृगौला पीडित भीमबहादुर नेपालीले आफ्नो उपचारका लागि सहयागको याचना गरेका छन् ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेका नेपालीको दुवै मृगौला खराब भएको छ । दुवै मृगौलाले काम नगरेपछि ५ महिनादेखि नियमित डायलासिस गराउँदै आएका छन् । हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने भएकाले खर्च जुटाउन गाह्रो भएको पीडित नेपालीले बताए । उनका अनुसार एकपटक डायलासिस गर्न अस्पताल जाँदा ७ हजार रुपैयाँ खर्च लाग्छ । हप्तामा दुईपटक डायलासिस गराउँदै आएको उनले बताए ।

४२ वर्षीय नेपालीको आफ्नो घर भिट्टा समेत छैन । श्रीमती बिताएका उनको एक छोरी मात्र छिन् । छोरीको अभिभावक उनी आफैँ थलिएपछि उपचार खर्च धान्न र बिहान–बेलुकाको छाक टार्न समेत गाह्रो भएको उनले दुख सुनाए । छोरीसहित उनी अहिले बहिनी–ज्वाइँसँग बस्दै आएका छन् । नेपाली सिलाई कटाईको काम गर्ने गर्थे । उनले भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालमा डायलासिस गराउँदै आएका छन् ।

आर्थिक अभावमा नियमित डायलासिस गराउन समेत गाह्रो भएपछि करेलाबारी टोलका स्थानीयले ‘भीमबहादुर नेपाल बचाऊ समिति’ गठन गरेका छन् । कुमार बर्देवाको संयोजकत्वमा गठित समिति मातहत रहने गरी करेलाबारी टोल विकास समितिका अध्यक्ष कुमार कन्दङवा संयोजक रहेको तीन सदस्यीय आर्थिक सहयोग संकलन समिति समेत गठन गरिएको छ । दुवै समितिका सदस्य तथा करेलाबारीका स्थानीयहरु मिलेर शुक्रबारदेखि आर्थिक सहयोग संकलन गरिरहेका छन् ।

‘हामी आफ्नै गाउँबाट आर्थिक सहयोग उठाउन सुरु गरेका छौँ । जसले जति सकेका छन् । सहयोग गरिरहेका छन् । आर्थिक सहयोग उठाएर उहाँको डायलासिस गर्नु बाहेक अर्को विकल्प छैन’ टोल समिति अध्यक्ष कुमार कन्दङवाले भने । उनले मनकारी दाताहरुलाई समेत सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘घरमा एक पैंसा छैन । हप्तामा दुईपटक डायलासिस कसरी गराउनु ?’ बहिनी गोमा दर्जीले भनिन्, ‘हामीलाई हाम्रै परिवार चलाउन गाह्रो भइरहेको छ । खाना र बस्न जेनतेन दिइरहेका छौँ । डायलासिस गराउन सक्ने हैसियत हाम्रो छैन ।’ सबैले सहयोग गरिदिए आफ्नो दाजु अझै केही समय बाँच्ने उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer