२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा पिसिआर ल्याब सञ्चालन गर्न अध्ययन टोली गठन


ल्याबका लागि कोटिहोमस्थित समर्पण भवनमा भौतिक संरचना पुनर्निर्माण गरिँदै ।

-हिमाल खरेल
बिर्तामोड, असार २० ।
प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले झापामा कोभिड १९ परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न अध्ययन टोली गठन गरेको छ ।

प्रदेशका अन्य जिल्लाको तुलनामा झापामा संक्रमण बढिरहेको हुँदा ल्याब स्थापनाको तयारी भइरहेको छ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा ल्याब स्थापना हुँदैछ ।

यही बीचमा मन्त्रालयले प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका दुईजना विषयविज्ञलाई स्थलगत अनुगमन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी तोकेको छ । प्रयोगशालाका निमित्त निर्देशक जयवेन्द्र यादवका अनुसार प्याथोलोजिस्ट डा. प्रतिक्षा कार्की र मेडिकल ल्याब टेक्निसियन प्रणवकुमार यादवलाई ल्याब स्थापना हुन लागेको स्थानको सम्भाव्य अध्ययन गरी रायसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।

प्रदेश प्रयोगशालाले कनकाईको समर्पण भवनसहित मेची अञ्चल अस्पताल र दमक नगरपालिकाको स्थलगत अध्ययन गर्न कार्की र यादवलाई खटाएको छ । मन्त्रालयले असार १६ गते पत्र लेखेर प्रयोगशालालाई पिसिआर ल्याब सञ्चालनका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो ।

कनकाईमा पिसिआर ल्याबका लागि आवश्यक मेडिकल तथा अन्य मापदण्ड मिल्ने भवन रहेकाले संरचना पुनर्निर्माणको काम भइरहेको छ । ल्याब स्थापना हुने समर्पण भवनको प्राविधिक टोलीले निरीक्षण गरी संरचना निर्माणको कामसमेत सुरु गरिएको छ ।

अन्नपूर्ण न्युरो अस्पताल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार साह र विराज लोहनीले ल्याबका लागि आवश्यक पर्ने मापदण्ड र प्राविधिक पक्षबारे रायसुझाव दिएका थिए । उनीहरु मेडिकल माइक्रो बाइलोजीमा एमएससी हुन् ।

भद्रपुरमा भने जनस्वास्थ्य कार्यालयको तालिम भवनमा ल्याब राख्ने तयारी भइरहेको छ । तर, सो भवन पिसिआर ल्याब स्थापना र सञ्चालनका लागि संरचनात्मक हिसाबले मापदण्डविपरीको रहेको बताइएको छ । बायोसेफ्टी क्याबिनेट, पिसिआर मेसिन र डिफ्रिजलगायत सामग्री राख्न कम्तिमा चारवटा कोठा आवश्यक पर्छ । तर, भद्रपुरको सो भवनमा आवश्यक कोठा छैनन् ।

दमकमा भने अन्तर्राष्ट्रिय आप्रवास संगठनले यसअघि सञ्चालनमा ल्याएको ल्याब भएकै स्थानमा पिसिआर ल्याब स्थापनाका लागि अध्ययन गर्न भनिएको छ । मापदण्डका हिसाबल सो भवन उपयुक्त रहेको बताइएको छ ।

यसैबीच, कनकाई कोटिहोमस्थित समर्पण भवनमा ल्याब सञ्चालनका लागि भौतिक संरचना तयार भइरहेको छ । एकका लागि एक अभियानले पिसिआर ल्याब साउन १ गतेबाट सञ्चालनमा आउने तयारी थालेको छ ।

त्यसका लागि पिसिआर मेसिन तथा ल्याबका लागि आवश्यक अन्य उपकरणका खरिद प्रक्रिया अघि बढाइएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । अभियानमार्फत झापामा स्थापना हुन लागेको पिसिआर ल्याबका लागि झापाका राजनीतिक दल, सहकारी अभियन्ता र साझेदार संस्थाबीच सामाजिक विकासमन्त्री जीवन घिमिरेले समर्पण भवनमा ल्याब राख्न अनुमति दिएका थिए ।

मन्त्री घिमिरेले झापाको केन्द्रविन्दु भएकाले कोटिहोम क्षेत्र उपयुक्त भएको बताएका थिए । उनले छलफलपछि भवनको निरीक्षण गरेका थिए । उनले ल्याब सञ्चालनका लागि पनि प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गरेका थिए ।

कोटिहोममा ल्याब सञ्चालनमा आए इलाम, पाँचथर, ताप्लेजुङ र उत्तर पूर्वी मोरङबाट संकलन भएका थ्रोट स्वाब ल्याउन सहज हुनेछ । यातायात दूरी र अन्य हिसाबले पनि कोटिहोम उपयुक्त रहेको छ ।

कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला छन् । प्रत्येक प्रयोगशालाले एक सय पिसिआर परीक्षण गर्न सक्छन् । तर, प्रदेश १ मा स्वाब संकलन भने दैनिक छ सयभन्दा बढी भइरहेको छ । प्रदेश १ मा संकलन भइरहेको र्‍यालको नमुना संख्याको तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला झापा हो ।

एकका लागि एक अभियानले ल्याब स्थापना गरेर सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्नेछ । ल्याब स्थापनाका लागि आवश्यक पर्ने एक करोडभन्दा बढी रकम अभियानले खर्च गर्नेछ । प्रदेश सरकारले मेची अञ्चल अस्पतालको मातहतमा रहनेगरी कोटिहोमको ल्याब सञ्चालन गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer