२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनले स्थापना गर्‍यो खुट्टाले चल्ने धारा


खुट्टाको सहायताले हात धुदै प्रिन्सिपल राई ।

धुलाबारी, असार २३ । पढाईसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको धुलाबारीको इस्ट होराइजन माविको राष्ट्रिय सेवा दल ४५ औँ र ४६ औँ जुनियर डिभिजनले दुई स्थानमा हात धुने पाइडल टेंकी सञ्चालनमा ल्याएको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा सचेतना जगाउने उद्देश्यले इस्ट होराइजनले धुलाबारीमोड र बजार सिरानमा पाइडल टेंकी राखेको हो । सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको इस्ट होराइजनले नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा सेवा दलका विद्यार्थीले खुट्टाबाट चलाउन मिल्ने टेंकी निर्माण गरेको हो ।

आफ्नै सीप प्रयोग गरेर बनाइएको टेंकीको एकापट्टि खुट्टाले थिच्दा तरल साबुन आउँछ भने अर्कोपट्टि थिच्दा धाराबाट पानी झर्छ । यो प्रविधिको विकास सेनाको सहयोगमा इस्ट होराइजनका सेवा दलका विद्यार्थीले गरेका हुन् । हात धुदा हातले साबुनको बट्टा र धारा छुनु नपरोस् भनेर खुट्टाबाट चल्ने टेंकी बनाइएको हो ।

विद्यालयका शिक्षक महेश खड्काका अनुसार ५ सय लिटर क्षमता भएका टेंकीको पानीमा सेनेटाइजर समेत प्रयोग गरिएको छ । दुवै स्थानमा राखिएको हात धुने टेंकी स्थानीय संस्थाको संरक्षणमा रहनेछ । धुलाबार बजार सिरानमा राखिएको टेंकीको संरक्षण सञ्जीवनी महिला विकास संस्था र मोडमा राखिएको टेंकीको संरक्षण धुलाबारी युनिटीले गर्नेछ ।

राष्ट्रिय सेवा दलका सदस्यहरु ।

विद्यालयका प्रिन्सिपल सञ्जीव राईले सेवा दलका विद्यार्थीले गरेको कामको प्रशंसा गरेका थिए । सामाजिक, खेलकुद, गीत-संगीत, नृत्य तथा अन्य गतिविधिमा देशमै उत्कृष्ट रहेको विद्यालयका ४० जना विद्यार्थी सेवा दलमा आवद्ध छन् । प्रिन्सिपल राईले समाजमा विद्यार्थीको क्षमता उदाहरणीय रहेको बताए ।

शिक्षक विकास ग्वालले सहजीकरण गरेको कार्यक्रममा नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजंग थापाले निरीक्षण गरेका थिए । हात धुने टेंकी राखिएपछि दुवै स्थानमा सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ । सोही अवसरमा धुलाबारी ट्राफिक पोस्टलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको थियो भने सर्वसाधारणलाई मास्क वितरण गरिएको थियो ।

धुलाबारीमोडको कार्यक्रममा मेचीनगर वडा नम्बर १० का वडाध्यक्ष सुवेश पनेरु, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक कैलाश चौधरी, धुलाबारी युनिटीका संयोजक प्रकाश खड्कालगायतले सचेतना मन्तव्य राखेका थिए । धुलाबारी सिरानको कार्यक्रममा मेचीनगर वडा नम्बर ९ का वडाध्यक्ष गोपाल खड्का, सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, सहारा नेपाल साकोसका निर्मल दाहाल, प्रेम डाँगीलगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer