२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

उपचार खर्चबापत सहाराले आचार्यलाई दियो १० लाख रुपैयाँ


बिर्तामोड, असार २४ । सहारा नेपाल साकोसले जीवन वरदान कार्यक्रमअन्तर्गत भद्रपुरका नरेन्द्रकुमार आचार्यलाई १० लाख २५ हजार २४२ रुपैयाँ उपलब्ध गराएको छ ।

फोक्सोको समस्याका कारण भद्रपुर ७ का ४३ वर्षीय आचार्यको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भएको थियो । सहाराले आफ्नो कार्यक्रमअन्तर्गत उनलाई उपचार खर्चबापत सो रकम दिएको कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

सहाराले आफ्ना सेयर सदस्य गम्भीर वा सामान्य बिरामी भई उपचार गर्नुपरे त्यसबापत केही रकम प्रदान गर्दै आएको छ । इन्फ्लुन्जा ए नामक रोगबाट ग्रसित आचार्यको ५२ दिनसम्म ग्रान्डीमा उपचार भएको थियो । उनको उपचारमा ३३ लाख रुपैयाँ खर्च भएको थियो ।

रकम प्राप्त गरेपछि आचार्यले सहाराप्रति आफूलाई गर्व महसुस भएको बताए । ‘सहारा साँच्चै नै सबैको सहारा रहेछ’, आचार्यले भने, सहाराले हामी कसैलाई मर्न नदिने रहेछ ।’ खर्च भएको एकतिहाइ रकम आफूले सहयोग पाउनु ठुलो कुरा भएको आचार्यले सुनाए ।

फागुन अन्तिममा ज्वरो आएपछि आचार्यलाई कोरोना भाइरसको आशंका गरिएको थियो । तर झापा, विराटनगर, धरान हुँदै ग्रान्डी पुगेपछि उनलाई एक किसिमको कडा खाले फ्लु भएको पुष्टि भएको थियो । उनको फोक्सोमा ७० प्रतिशत फ्लुको संक्रमण देखिएको थियो ।

बुधबार सहाराको केन्द्रीय कार्यालायमा कार्यकारी निर्देशक गिरी र वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले आचार्य दम्पत्तीलाई चेक हस्तान्तरण गरेका थिए । आचार्यलाई यसअघि पनि मृगौलाको पत्थरीको शल्यक्रिया खर्चबापत ८८ हजार ७२३ रुपैयाँ सहाराले उपलब्ध गराएको थियो ।

यसैबीच, जीवन वरदान कार्यक्रमका संयोजक भक्तबहादुर खड्काका अनुसार सहाराले यो कार्यक्रमबापत हालसम्म आठ करोड ४४ लाख ४६ हजार २६१ रुपैयाँ खर्च गरेको छ । कार्यक्रमका २० हजार सदस्यमध्ये तीन हजार ५१ जनाले यो सुविधा प्राप्त गरेको खड्काले जानकारी दिए ।

जीवन वरदान कार्यक्रमअन्तर्गत संस्थामा आबद्ध भएका सदस्य तथा कर्मचारीको स्वास्थ्यमा कुनै पनि रोगको उपचार अथवा शल्यक्रिया गराउनुपर्ने अवस्था आएमा उपचारार्थ रकम उपलब्ध गराइन्छ । त्यसअन्तर्गत उपचार तथा शल्यक्रिया, स्वास्थ्य हेरचाह, नियमित औषधि सेवन, प्रसूति सेवा, सुत्केरी पोषण, स्वास्थ्य परीक्षण, स्वास्थ्य शिविर र स्वास्थ्य शिक्षा कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer