२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

आफ्नो ‘होम ग्राउन्ड’ स्तरोन्नति गर्दै झापा ११


-हिमाल खरेल
बिर्तामोड, साउन ३ ।
केही कृषकले धान रोपिसकेर मैजारो पनि गरिसके । धेरै कृषकलाई धान रोपाइँको चटारै छ । यो मानो खाएर मुरी फलाउने बेला पनि हो । तर, बितामोड–३ का छजना महिलाकोे चिन्ता धानबालीमा छैन । उनीहरुका हात चाउरका झार उखेल्न व्यस्त छन् ।

झापाको बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको संरक्षण र स्तरोन्नतिका लागि उनीहरुका हात अबको एक महिनासम्म चउरको झारमै हुनेछन् । खुला चउरको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेलको काम सुरु गरिएको झापा ११ फुटबल क्लबका अध्यक्ष तथा डोमालाल राजवंशी रंगशाला संरक्षण समितिका संयोजक जलकुमार गुरुङले बताए ।

नेपालकै उत्कृष्ट र आकर्षक मानिएको फुटबल मैदान डोमालाल राजवंशी रंगशालाको संरक्षणका लागि ३ नम्बर वडा कार्यालयले सहयोग गरेको वडा अध्यक्ष भोजराज सिटौलाले जानकारी दिए । वडाले त्यसका लागि पाँच लाख रुपैयाँ छुट्याएको छ ।

नगरपालिकाले भने यो आर्थिक वर्षमा पनि रंगशालाको संरक्षण र स्तरोन्नतिका लागि बेवास्ता गरेको छ । यो आर्थिक वर्षको नगरसभामा प्रस्तुत बजेटमा रंगशालाका लागि भनेर केहीँ केही उल्लेख गरिएको छैन । नगरपालिकाको यो कदमप्रति गुरुङले खेद व्यक्त गरेका छन् । नगरको गौरवको रुपमा रहेको रंगशालाका लागि बजेट विनियोजन नहुनु आश्चर्य भएको गुरुङले बताए ।

प्रतियोगिता सकेर अर्को संस्करण सुरु नहुन्जेलसम्म अरुतिरका खेल मैदानलाई संरक्षणमा खासै चासो दिइँदैन । तर, यो रंगशालाको स्वरुप नबिग्रियोस् भनेर संरक्षण समितिले मध्य बर्खामा समेत बेपर्वाह काम गरिरहेको छ । बिहान ७ बजे नै मैदान आइपुग्ने कामदारहरु अनावश्यक झार उखेल्नमै व्यस्त हुन्छन् ।

झापा गोल्डकपजस्तो प्रतिष्ठित प्रतियोगिता हुने सो मैदानको अवस्था जीवन्त राख्नका लागि समितिले काम गर्ने गरेको दैनिक झार उखेल्नमै खटिने बिर्तामोड–३ की मुना भट्टराईले बताइन् । मैदानको आकर्षण नघटोस् भनेर समितिले काम गरिरहेको हो ।

गुरुङले समयमै झार नगोड्ने हो भने प्रतियोगिता गर्ने बेलामा समस्या हुने बताए । उनले मैदान संरक्षणमा दीर्घकालीन योजना आवश्यक रहेको बताए । ‘यसरी झार उखेल्ने अस्थायी काम हो’, गुरुङले भने, ‘यसको दीर्घकालीन योजना हुनैपर्छ ।’

झापाकै गौरवका रुपमा रहेको यो रंगशालालाई बाचइराख्न जरुरी रहेको उनी बताउँछन् । मैदान व्यवस्थापनको खर्च यसअघि समितिले आफैँ जुटाउँदै आएको थियो । तर, स्थानीय सरकारलाई संरक्षणमा सहयोग गर्न आग्रह गरे पनि ३ नम्बर वडाबाहेक अरुले वास्ता नगरेको गुरुङको गुनासो छ । यो मैदानलाई देशकै उत्कृष्ट बनाउन सबै लाग्नुपर्ने उनको धारणा छ ।

यसैबीच, अध्यक्ष गुरुङले रंगशालाको संरक्षणका लागि दीर्घकालीन घेराबारा लगाइने जानकारी दिए । त्यस्तै, प्रवेशद्वार डिजिटल बनाइनेछ । भविष्यमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन गुरुयोजना तयार हुँदै गरेको गुरुङले बताए । त्यसका लागि बिर्तामोड नगरपालिकाले विशेष चासो राख्न जरुरी रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer