२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापासहित चार जिल्ला कोरोनाको जोखिममा, बिर्तामोडमा निशेधाज्ञाको तयारी


बिर्तामोड, साउन १४ । कोरोना संक्रमितको संख्या ठुला सहरहरूमा दिनानुदिन थपिने क्रम पनि बढ्दै गएपछि प्रदेश १ मा जोखिमका दृष्टिले सबैभन्दा खतरामा रहेका जिल्ला र स्थानीय तहको सूची तयार गरी टुंगो लगाइएको छ ।

पहिले भारत र तेस्रो देशबाट आएकाहरूमा मात्र कोरोनाको संक्रमण देखिए पनि स्रोत पहिचान नभएका संक्रमितको संख्यासमेत थपिन थालेपछि प्रदेश र स्थानीय सरकारको चिन्ता बढ्न थालेको छ । प्रदेश सरकारले कारोना संक्रमण र फैलावटको ‘ट्रेन्ड’लाई आधार बनाएर सूची तयार पारेको हो ।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएका झापा, मोरङ, सुनसरी र इलाम कोरोना संक्रमणका दृष्टिले सबैभन्दा धेरै जोखिममा छन् । त्यसभित्रका २० स्थानीय तह संक्रमणको जोखिममा छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उच्च जोखिम, जोखिम र कम जोखिम क्षेत्रलाई रेड, एल्लो र ग्रिनजोनका रूपमा वर्गीकरण गरी सरकारले स्वास्थ्य तथा अन्य गतिविधि सञ्चालन गर्ने प्रदेश संसदलाई जानकारी गराइसकेका छन् ।

सामाजिक विकास मन्त्रालयले गरेको अध्ययनले प्रदेश १ को राजधानी विराटनगर कोभिड १९ संक्रमणको जोखिमा रहेको देखिएको छ । यहाँ मंगलबारसम्म संक्रमितको संख्या ८२ पुगेको छ । पछिल्लोपटक पुष्टि भएका धेरै संक्रमितको ‘ट्राभल हिस्ट्री’ छैन । उनीहरूको संक्रमण स्रोत पनि पहिचान हुन सकेको छैन । दुई चिकित्सकसहित स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि विराटनगरमा समुदायमा कोरोना गएको निष्कर्ष महानगरको जनस्वास्थ्य महाशाखाको छ ।

झापाको मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, झापा गाउँपालिका र गौरीगन्ज गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा छन् । मोरङको रंगेली नगरपालिका, सुनवर्षी र रतुवामाई नगरपालिका, जहदा र धनपालथान गाउँपालिका पनि जोखमयुक्त क्षेत्रमा परेका छन् । सुनसरीको कोसी, भोक्राहा, नर्सिङ, हरिनगर, कप्तानगन्ज र बर्जु गाउँपालिका, इलामको सूर्याेदय नगरपालिका, माई–जोगमाई, सन्दकपुर र रोङ गाउँपालिकालाई पनि सरकारले जोखिमयुक्त क्षेत्र मानेको छ ।

यसैबीच, बाह्रदशी गाउँपालिकाका दुईजना संक्रमित बिर्तामोड आएको पुष्टि भएपछि बिर्तामोड नगरपालिकाले निशेधाज्ञा लगाउने तयारी गरेको छ । उनीहरुको सम्पर्कमा आएका बिर्तामोडका ७० जनाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।

उनले ती आशंकितहरुलाई क्वारेन्टिनमा राखिएको जानकारी दिए । ‘कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट पोजिटिभ आउने बित्तिकै निशेधाज्ञा लागु गरिने उपप्रमुख पवित्रा महताराप्रसाईंले बताइन् । समुदायमा संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी निशेधाज्ञा लगाउने तयारी नगरपालिकाको छ ।

बाह्रदशीका नेकपाका नेता तथा निजी क्लिनिक र फार्मेसी सञ्चालन गरेका स्वास्थ्यकर्मीलाई तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूको यात्रा विवरणबारे सोधखोज गर्दा नेकपाका नेता साउन ५ गते बिर्तामोड आएको खुलेको छ । पार्टी काम र सामाजिक संघसंस्थाको बैठकमा पनि उनको सहभागिता रहेको थियो । फार्मेसी सञ्चालक पनि औषधि किन्न बिर्तामोड आउजाउ गरेका थिए ।

त्यस्तै, कोरोना संक्रमणप्रति उच्च सतर्कता अपनाउँदै भीडभाड नगर्ने, बेलुका ५ बजेदेखि बजार बन्द गर्ने, आफैँ सम्वेदनशील भएर भीड घटाउने, शंकास्पद संक्रमितहरुको पहिचान गर्ने, सर्वसाधारणलाई सचेत गराउनेजस्ता निर्णय नगरले गरेको छ । सरकारले बजार बन्द गर्ने निर्णय गरे पनि व्यापारी र स्थानीयले उल्लंघन गर्दै आएका छन् ।

यसैबीच, सरकारले अब परीक्षणको दायरा बढाउने र समुदाय परीक्षणलाई जोड दिने तयारी थालेको छ । विराटनगर, धरानपछि अब मेची अस्पतालबाट समेत पिसिआर परीक्षण गर्ने सरकाले तयारी गरेको छ । नागरिकस्तरबाट एकका लागि एक अभियानले समेत कोटिहाममा ल्याब स्थापना गरिसकेको छ ।

हाल प्रदेश १ का दैनिक करिब आठ सयको परीक्षण हुँदै आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अब दैनिक १३ सय परीक्षणको लक्ष्य राखिएको छ । परीक्षणको दायरा बढाउने उद्देश्यले अभियानले सरकारलाई सहयोग गर्न ल्याब स्थापना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer