२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

तत्काल विद्यालय नखोल्न प्रशासनको निर्देशन


बिर्तामोड, साउन १७ । जिल्ला प्रशासन कार्यालय झापा र शिक्षा विकास तथा समन्वय इकाईले अर्को सूचना नभएसम्म विद्यालय नखोल्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

प्रशासन र इकाईले एकसाथ विज्ञप्ति निकालेर सामुदायिक र निजी विद्यालय तथा शैक्षिक कन्सल्टेन्सी र ट्युसन सेन्टरलाई अध्ययनरअध्यापन नगराउन निर्देशन दिएका हुन् । संक्रमणको दृष्टिले ’रेड जोन’ मा रहेका भद्रपुर र कचनकवलका कतिपय विद्यालय सञ्चालन गरिएपछि नियमक निकायले त्यस्तो निर्देशन दिएका हुन् ।

संघीय सरकारको निर्णयलाई लत्याउँदै भद्रपुर नगरपालिले आचारसंहितामा नै अनौपचारिक रुपमा नगरभित्रका सामुदायिक तथा निजी विद्यालय सञ्चालनका लागि अनुमति दिएको थियो । अनुमतिलगत्तै भद्रपुरका केही विद्यालयले कक्षा ९ र १० को पढाइ सुरु गरेका थिए ।

प्याब्सन भद्रपुर नगर अध्यक्ष डिल्ली दुलाल भद्रपुर नगर शिक्षा समितिले साउन ८ गते राखेको सर्वपक्षीय बैठकमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको बताउँछन् । उनका अनुसार नगर शिक्षा समितिबाट तय भएको स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन पश्चात विद्यालय सञ्चालनमा ल्याइएको हो ।

कचनकवलमा निजी विद्यालय सञ्चालकले आफूखुसी विद्यालय खोलेका थिए । गाउँपालिका र शिक्षा शाखाका पदाधिकारीले अनुगमन गरेर विद्यालय बन्द गराएका थिए । विद्यालय सञ्चालन भइरहेको सञ्चारमाध्यममा समाचार आएपछि दुवै निकायले बन्द गर्न निर्देशन दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमकुमार राई र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयप्रसाद महतले विज्ञप्ति निकालेर कोभिड १९ संक्रमणको जोखिमका कारण पठनपाठन नगर्न नगराउन निर्देशन दिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको असार ८ र मन्त्रिपरिषदको जेठ २८ गतेको निर्णयानुसार शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र सञ्चालन नगर्ने आदेश जारी भएको भन्दै शिक्षण संस्था बन्द गर्न भनिएको छ ।

सरकारले स्थगित भएका परीक्षा र विद्यार्थी भर्ना भदौ १ गतेदेखि गर्न भने पनि झापामा शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिमकेन्द्र सञ्चालन हुन थालेपछि त्यस्तो नगर्न निर्देशन दिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer