२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चार वर्षमा पनि बनेन मेची अस्पताल


अस्पतालको नक्सा ।

बिर्तामोड, साउन १८ । चार वर्षअघि नै मेडिकल कलेजका रुपमा विकास गर्नेगरी अवधारणा बनाइए पनि मेची अस्पतालको स्तरोन्नति समेत हुन सकेको छैन ।

अस्पतालको भवन पनि पूर्णरुपमा बनिसकेको छैन । कामभन्दा पनि गफ धेरै हुने सरकारी कार्यशैलीका कारण नागरिकले सुविधासम्पन्न स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् ।

पुष्पकमल दाहाल प्रधानमन्त्री र गगन थापा स्वास्थ्यमन्त्री हुँदा अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गरेर लाने अवधारणा अघि सारिएको थियो ।

अस्पतालको सम्भाव्यता अध्ययन गर्दै भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारबाट २० करोड रुपैयाँ बजेट प्रदान गर्ने निर्णय समेत गरेको तत्कालीन अस्पताल व्यवस्थापन समिति अध्यक्ष राम कट्टेलले बताए । दुई वर्षभित्र अस्पतालको भवन निर्माण सम्पन्न गरिसक्ने गरी काम थालिएको भए पनि चार वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन नसकेको कट्टेलको भनाइ छ ।

मेची अस्पतालको निर्माणाधीन भवन समयमा सम्पन्न हुन नसक्नु र जीर्ण अवस्थामा रहेको पुरानै भवनबाट सेवाग्राहीले अहिलेसम्म सेवा लिनु परेको छ । ‘कुन बेला छत खस्छ पत्तो छैन, पानी पर्दा समेत चुहिने भवनबाट उपचारका लागि आएका बिरामीलाई जोखिमयुक्त भवनमा राखेर अस्पतालले अहिलेसम्म सेवा दिनुपर्ने बाध्यता छ’, कट्टेलले भने ।

भद्रपुरस्थित मेची अस्पताल यहाँको ठुलो सरकारी अस्पताल हो । योसहित १ नम्बर प्रदेश सरकारको मातहतमा दुईवटा ठुला अस्पताल छन् । कोसी अस्पताल र मेची अस्पताललाई प्रदेश सरकारले हेर्दै आएको छ ।

मेची अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गरेर लान सम्भाव्यता अध्ययनको क्रममा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको टोलीले कलवलगुढीमा रहेको प्रशिक्षण केन्द्रको ५२ बिघा जग्गाको निरीक्षण समेत गरेको थियो । तर, अहिलेसम्म मेडिकल कलेज बनाउने विषयमा सरकारले निर्णय गर्न सकेको छैन ।

तत्काल अस्पतालको स्तरोन्नतिका लागि भन्दै राज्यमन्त्री गुरुङले अस्पताललाई दुई करोड ८४ लाख ७० हजार रुपैयाँको अख्तियारीपत्र हस्तान्तरण गरेका थिए । कट्टेलकै कार्यकालमा तत्काल आइसियु सेवा सञ्चालन गर्न २० लाख रुपैयाँ समेत अस्पताललाई सरकारले प्रदान गरेको थियो ।

उनकै कार्यकालमा भौतिक संरचना सुधार, फार्मेसी, डायलासिस सेवा सञ्चालनलगायत शीर्षकमा बजेट पारदर्शी रूपमा खर्च गरेर अपुग भए थप रकम माग गर्न अञ्चल अस्पताललाई निर्देशनसमेत दिएका थिए ।

सोही बमोजिमको काम भए पनि अहिले त्यसयता कुनै काम हुन नसकेको कट्टेलको भनाइ छ । अस्पताललाई स्तरोन्नति गर्दै लाने अवधारणासहित प्रदेश सरकारले २३ करोड रुपैयाँ प्रदान गर्ने बताएपछि झापाबासी जति उत्साहित थिए ।

निर्माणाधीन भवन समयमा सम्पन्न नहुँदा त्यत्ति नै निराश छन् । ६१ वर्ष पुरानो मेची अस्पतालमा सञ्चालनमा रहेको १३४ बेडलाई बढाएर ३०० बेड बनाउँदै यसलाई मेडिकल कलेज बनाउने प्रदेश सरकारको दायित्वमा पर्ने स्थानीयको भनाइ छ ।

अस्पतालको अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले मेची अस्पतालको भवन निर्माण समयमा सम्पन्न नहुनुमा निर्माण व्यवसायीको ढिलासुस्ती रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer