२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एकका लागि एक अभियानको पिसिआर ल्याब मेची अस्पतालले सञ्चालनमा ल्याउने


बिर्तामोड, साउन २० । सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गरिएको कोरोना भाइरसको परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनमा आउने भएको छ ।

एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउने ल्याब मेची प्रादेशिक अस्पताल भद्रपुरले सञ्चालनमा ल्याउने भएको हो ।

यसअघि पटकपटक आग्रह गर्दा पनि अस्पताल विकास समितिले सञ्चालनको जिम्मेवारी नलिने र भद्रपुरमा बाहेक अन्यत्र ल्याब आवश्यक नभएको टिप्पणी गर्दै आएको थियो ।

झापामा कोरोना भाइरस समुदायमा फैलिएपछि अस्पतालले ल्याब सञ्चालनमा चासो देखाएको हो । आज मंगलबार भद्रपुरमा भएको छलफलमा एकका लागि एक अभियानले अस्पताललाई पूर्णरुपमा तयारी अवस्थामा रहेको ल्याब हस्तान्तरण गर्ने सहमति भएको छ ।

अभियानले अत्याधुनिक पिसिआर ल्याब स्थापना गर्नुअघि नै सञ्चालनका लागि प्रदेश सरकारलाई आग्रह गर्दै आएको थियो । सहमतिपछि अस्पतालले स्वास्थ्य मन्त्रालयलाई स्वीकृतिका लागि अनुरोध गर्ने सहमति भएको छ । ल्याब सञ्चालनमा आएपछि दैनिक व्यवस्थापनको जिम्मा अस्पतालले लिने निर्णय भएको छ ।

बैठकमा ल्याबका खटिने कर्मचारीको तलब भत्तालगायत खर्च कनकाई नगरपालिकाले व्यहोर्ने निर्णय भएको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले यसअघि नै ल्याब स्थापनापछि सञ्चालनमा नगरपालिकाले व्यवस्थापकीय जिम्मेवारी लिने बताइसकेका छन् । उनले त्यसका लागि नगरले २५ लाख रुपैयाँ विनियोजन गरेको र थप आइपरे तयार रहेको प्रतिबद्धता जनाइसकेका छन् ।

बैठकमा अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेल, संविधानसभा सदस्य प्रेमबहादुर गिरी, कनकाई नगरप्रमुख पोखरेल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य लोकराज ढकाल, अस्पताल विकास समितिका सदस्य लक्ष्मण पोखरेल, पूर्वसदस्य घनश्याम अधिकारी, अभियानका संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेत, सदस्य सजेश शिवाकोटी, एकराज गिरी, भोला धिताल सहभागी थिए ।

ल्याब स्थापनाका लागि एकका लागि एक अभियानलाई ४२ वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघको समन्वयमा २५–२५ लाख हजार रुपैयाँ प्रदान गरेका छन् ।

विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक संघसंस्थाले रकम सहयोग गरिरहेका छन् । ल्याब स्थापनाका लागि अभियानले १ करोड २० लाख रुपैयाँ संकलन गरिसकेको छ ।

प्रदेश १ मा संकलन भइरहेको ¥यालको नमुना संख्याको तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला झापा हो । ल्याब सञ्चालनमा आएपछि झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र पूर्वोत्तर मोरङबाट संकलित नमुना परीक्षणमा सहज हुनेछ ।
झापामा मेची अस्पताल भद्रपुरमा पनि पिसिआर ल्याब सञ्चालनमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer