२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पिएसजी र बायर्नबीच फाइनल भिडन्त आज


बिर्तामोड, भदौ ७ । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पिएसजी) र बायर्न म्युनिखबीच आज आइतबार राति प्रतिस्पर्धा हुँदैछ ।

जर्मनीको लिग च्याम्पियन बायर्न म्युनिख र फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रतिस्पर्धा हुने अन्य राष्ट्रको लिगको टोलीलाई पन्छाउँदै यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएका छन् ।

यी दुई टोलीबीचको फाइनल आइतबार राति पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । फ्रान्सेली क्लब पिएसजी पहिलोपटक र जर्मन क्लब बायर्न म्युनिख छैटौँपटक च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा रहेका छन् ।

बायर्न ११ औँ पटक तथा पिएसजी पहिलोपटक फाइनलमा पुग्न सफल भएका हुन् । बायर्नले फ्रेन्च क्लब लियोनलाई तथा पिएसजीले जर्मन क्लब आरबी लाइप्जिगलाई समान ३–० ले हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

दुवै टोली च्याम्पियन्स लिग उपाधिसहित सुखद अन्त्य गर्ने सुरमा हुनेछन् । उत्कृष्ट खेलाडीले भरिएको दुई टोलीबीचको भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

उपाधिको बलियो दाबेदार बायर्नले यो सिजन ५१ खेल खेल्दा ४२ जित, ४ बराबरी र ५ हारको नतिजा निकालेको छ । यसक्रममा बायर्नले घरेलु दुई प्रतियोगिता जित्दै एकमा उपविजेता बनेको छ । यसक्रममा बायर्नले १५८ गोल गर्दा ५० गोल खाएको छ ।

बायर्नका लागि रोवर्ट लेवान्डोस्की गोल मेसिनको रुपमा उभिएका छन् । उनले ४६ खेलमा ५५ गोल गर्दै यो सिजन सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका छन् । उनले च्याम्पियन्स लिगमा मात्रै १५ गोल गरिसकेका छन् । उनी एक सिजन १७ गोल गर्ने इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा मात्रै पछि छन् । उनी रोनाल्डोको कीर्तिमान बराबरी या तोड्ने अभियानमा हुनेछ ।

पिएसजीविरुद्ध लेवान्डोस्की नै मुख्य हतियार हुनेछ । बायर्नसँग थोमस मुलर, लियोन गोरेट्ज्का, सर्जी जिनाब्री, म्यानुयल नुएर, अलफन्सो डाभिस, जेरोमी बोएटिङ र जोसुवा किम्मिचजस्ता खेलाडीको साथ रहनेछ ।

यता, यस सिजन फ्रान्सको घरेलु फुटबलका चार उपाधि जितिसकेको पिएसजी सिजनको पाँचौँ उपाधि च्याम्पियन्स लिग जित्दै इतिहास रच्न चाहन्छ । सिजनको सुरुवातमा फ्रान्सेली सुपर कप जितेको पिएसजीले फ्रेन्च लिगसँगै फ्रेन्च कप र फ्रेन्च लिग कप जितेको थियो ।

पिएसजीले यो सिजन ४८ खेल खेल्दा ४० जित ४ बराबरी र हारको नतिजा निकालेको छ । यसक्रममा १३६ गोल गर्दा ३४ गोल खाएको छ ।

पिएसजीका लागि केलियन एमबाप्पे र नेयमार जस्ता विश्वस्तरिय खेलाडीको साथ रहेको छ । एमबाप्पेले यो सिजन ३० गोल तथा नेयमारले १९ गोल गरेका छन् । यस्तै मौउरो इकार्डी, मार्किन्योस, एन्जल डी मारिया र जुआन बर्नाट, थियागो सिल्भा, पाब्लो साराविया, एन्डर हरेरा, जुलियन ड्राक्सलर, थिलो केरहर र इरिक म्याक्सिम चुपो मोटिङ जस्ता खेलाडीहरु रहेका छन् ।

बायर्न र पिएसजीको पछिल्लो तीन खेलमा बायर्न दुईपटक तथा पिएसजी एकपटक विजयी भएको छ । यी दुई टोली पछिल्लोपटक २०१८ मा च्याम्पियन्स कपमा भिडेका थिए । जसमा बायर्न ३–१ ले विजयी भएको थियो । त्यसअघि च्याम्पियन्स लिगको समूह चरणमा बायर्नले ३–१ ले जित्दा पिएसजीले पनि ३–० को जित निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer