२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड नगर अस्पताल गुणस्तरीय बनाउन ज्ञापनपत्र


बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणाधीन नगर अस्पतालको निर्माण कार्य गुणस्तरीय बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।

भवन निर्माण अनुगमन समितिले शुक्रबार बिर्तामोड नगरपालिका ३ नम्बर वडा कार्यालय र ठेकेदार कम्पनीलाई ज्ञापनपत्र बुझाउँदै निर्माणाधीन अस्पतालको काम गुणस्तरहीन हुन नदिन लिखित आग्रह गरेको छ । पर्शुराम सिटौलाको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकले अस्पतालको फाउन्डेसन निर्माणलाई बलियो बनाउन ज्ञापनपत्रमार्फत लिखित आग्रह गरेको हो ।

अनुगमन टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपतिराज खतिवडा र इन्जिनियर गणेश अर्याल, ३ नम्बर वडाका सचिव भीम अधिकारी तथा ठेकेदार कम्पनीकातर्फबाट साइडमा खटिएका इन्जिनियरलाई ज्ञापनपत्र बुझाएको अनुगमन समितिका सदस्य एवम् सञ्चारकर्मी अर्जुन राजवंशीले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै प्रशासकीय अधिकृत खतिवडाले तत्काल ठेकेदार कम्पनीसँग छलफल गरेर नगर अस्पतालको निर्माण कार्य गुणस्तरीय र बलियो बनाउन जुट्ने आश्वासन दिए । अनारमनी स्वास्थ्य चौकीको हाताभित्र २५ बेडको बिर्तामोड नगर अस्पताल निर्माण सुरु भएको छ ।

बिर्तामोड नगरपालिकाको लगानीमा काठमाडौँको धुलिखेल निर्माण सेवा प्रालिले मूल्य अभिवृद्धि करबाहेक ४ करोड ८० लाख ९५ हजार १८६ रुपैयाँमा नगर अस्पताल निर्माणको ठेक्का पाएको छ । असार ८ गते ठेक्का सम्झौता भएको अस्पताल भवनको काम ०७९ असार १ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer