२०७८ बैशाख ८ बुधबार
Jhapa Today
Adv top

ग्राहकको मन जित्दै अर्ग्यानिक कोसेली घर


बिर्तामोड, भदौ १४ । ७४ को अन्तिमतिर बिर्तामोड–५ का अच्युत दाहाल एक्कसि थलापरे । डाक्टरका अनेक क्लिनिक र अस्पताल चहारे । स्वास्थ्य गम्भीर हुँदै जाँदा उनी भौतारिरहेका बेला, मधुमेह, उच्च रक्तचाप र मुटुको समस्य घट्ने छाँटकाँट थिएन ।

अब उनको ध्यान जडिबुटी र आयुर्वेदिक पदार्थतिर मोडियो । चारपाँच महिना गुर्जो, घ्यूकुमारी, घोडताप्रे र अमलाको रस सेवनपछि उनको स्वास्थ्यमा सुधार आयो । आफू तन्दुरुस्त मात्र भएनन्, तनाव, अल्छीपना कम हुँदै गयो ।

आफू स्वस्थ भएपछि उनले एउटा जुक्ति निकाले, म मात्र किन सबै बिर्तामोडबासीको स्वास्थ्य पनि मेरोजस्तो हुनुपर्छ । ‘यसलाई एउटा व्यावसायिक प्रयोजनमै लानुपर्छ भन्ने लाग्यो’, दाहालले अतित सम्झिए, ‘पसल खुलेको केही हप्तामै मलाई सफलता मिल्यो ।’

एक वर्षअघि भदौ १४ गते उनले विधिवत रुपमा अर्ग्यानिक कोसेली घर नाम दिएर बिर्तामोडस्थित शनिश्चरेरोडको पाथिभरा टोलमा पसल सञ्चालनमा ल्याए । पसल सुरु गरेको एक वर्षको अवसर पारेर आइतबार आज जडिबुटीका रस सेवन गर्ने सबै ग्राहकसँग दाहालले अन्तरक्रिया गरे । एक वर्षको अनुभव सुनाउन उनीहरुलाई आग्रह गरे ।

‘म १०८ किलो थिएँ, अहिले ९४ मा झरेको छु’, व्यवसायी पवन खेडियाले अनुभव सुनाए, ‘यो सबै देन अच्युत भाइको हो ।’ खेडियाले आफ्नो पेट पनि निक्कै घटेको र स्वास्थ्यमा सुधार आएको बताए । त्यस्तै, समाजसेवी भानु शिवाकोटीले गुर्जो, घ्यूकुमारी, घोडताप्रे र अमला सेवनकै कारण आफू ५० को भए पनि २५ वर्षे अनुभव हुने बताए ।

कोसेली घरका अर्का नियमित ग्राहक उद्योगी उमेश डालमियालाई पनि स्वास्थ्य र दैनिकीमा निक्कै परिवर्तन आएको अनुभव छ । व्यवसायी राजकुमार पोखरेलले यस्ता जडिबुटीको जुसलाई पनि व्यावसायिक बनाउन सक्नु नै कोसेली घरको प्रशंसनीय काम भएको बताए ।

दाहालको कोसेली घरमा बिहान गुर्जो, घ्यूकुमारी, घोडताप्रे र अमलाको जुस खानेको भीड हुन्छ । मर्निङ वर्कअघि र सकेर दैनिक ६० जनाले ५ देखि ६ बजेको बीचमा सेवन गर्छन् । त्यसपछि टुसा उमारेको ११ वटा गेडागुडी हल्का खाजाको रुपमा पाइन्छ । बिहानको खाजाको रुपमा फापर, कोदो र मकैको रोटी पनि उपलब्ध छ ।

अच्युतलाई उनकी पत्नी कल्पनाले ढुक्कै सघाउँछिन् । उनी आफैँ पनि महिला उद्यमी हुन् । फापर, कोदो र मकैको पिठो आफैँ बनाउँछिन् । पसलमा पाइने अर्को विशेष ढुटो छ, त्यो पनि कल्पनाले नै तयार पार्छिन् । ज्वानो, मेथी, हर्रो, बर्रो, अमला, हर्जो, गर्जो, पाखनबेद, पाखनवेद, बुढोओखती, दालचिनी, अलैँची, ल्वाङ, सुकमेल, पुदिना, तुलसी टिम्मुर जस्ता औषधीय गुण भएका पदार्थ मिसाएर ढुटो बनाउने गरिएको छ ।

७० जनाको सहभागिता रहेको कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेकपा नता ज्ञानुराम प्रसाईंलगायले अर्ग्यानिक खानेकुरामा जोड दिए । नगरप्रमुख शिवाकोटीले विषादियुक्त खानेकुरा खाएकै कारण धेरै नेपालीको आयु छोटिदै गएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*