२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनालाई भयावह बनाइयोः बिएन्डसी अस्पताल


बिर्तामोड, भदौ २७ । झापाको बिएन्डसी अस्पतालले कोरोना भाइरसका नाममा अफवाह फैलाएको र स्थिति भयावह बनाएको बताएको छ ।

अस्पतालका १२ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि केही सञ्चारमाध्यममा गलत प्रचार गरिएको कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए । शनिबार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यकारी निर्देशक प्रसार्इंले बिएन्डसी अस्पतालमा कोरोना संक्रमणका बिरामी रहेको तर उनीहरु सबै सामान्य अवस्थामा रहेको बताए ।

समाजमा कोरोना संक्रमितलाई अर्को ग्रहबाट आएको मान्छेझैँ गरेर गाउँमा पस्न र बस्न नदिने अवस्था सिर्जना गरिएको भन्दै कोरोनाभन्दा अन्य रोगका कारण नेपालमा धेरै मानिसको मृत्यु भएको बताए । कोरोना संक्रमणमुक्त भएर गएका मानिसलाई पनि गाउँमा पस्न नदिएर भयावह अवस्था सिजना गरेको भन्दै कार्यकारी निर्देशक प्रसार्इंले कोरोनालाई त्यस्तो भयावह नबनाउन आग्रह गरे ।

‘मेची अञ्चलको स्वास्थ्यकोे जिम्मा बिएन्डसीलाई र क्यान्सरको जिम्मा पूर्वाञ्चल क्यान्सर अस्पताललाई दिँदा हुन्छ’, मैले पाँचछ महिनाअघि नै पत्रकार सम्मेलन गरेर भनेको थिए’, प्रसार्इंले भने, क्यान्सरको जिम्मा नेपालको मात्रै होइन दक्षिण पूर्वी एसियाकै जिम्मा लिने गरी दुईवटा संस्था मिलेर अघि बढेका छन् ।

अत्याधुनिक प्रविधिका उपकरण जडित अस्पतालमा सबै रोगको उपचार हुने भन्दै कोरोना संक्रमितको समेत छुट्टै आइसुलेसन वार्डमा राखेर उपचार गर्न सुरु गरिएको प्रसाईंको भनाई छ । कोरोना नेपालीका लागि सामान्य जस्तै भएको र योभन्दा भयावह अन्य रोगका कारण मृत्यु हुने मानिसको तथ्यांकले नै देखाएको प्रसाईंले बताए ।

एउटै छानोमुनि ११० जना डक्टरको टिम आफूसँग रहेको दाबी गर्दै नेपालमा अन्य कुनै अस्पतालमा पनि यस्तो जनशक्ति नरहेको उनले बताए । बिएन्डसी अस्पतालमा कार्यरत केही चिकित्सक, नर्स र कर्मचारी कोरोना संक्रमणका कारण आइसुलेसनमा रहेका छन् । तर, उनीहरुको अवस्था सामान्य रहेको क्रिटिकल केयर युनिट प्रमुख एनेस्थेसिस्ट डा. राजु श्रेष्ठले जानकारी दिए ।

‘कोरोना संक्रमण परीक्षण गर्दा डाक्टरसहित केही कर्मचारीमा कोरोना संक्रमण देखियो उनीहरुमा कुनै लक्षण छैन’, डा. श्रेष्ठले भने, ‘१४ दिनसम्म आइसुलेसनमा बस्दा कुनै लक्षण देखिएन र १४ दिनमा पुनः पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए सबै जना डिस्चार्ज हुन्छन् ।’

अस्पतालका मेडिकल डाइरेक्टर डा. निराजन पराजुलीले अस्पतालमा रहेको आइसोलेसनमा बस्ने कुनै पनि संक्रमितमा कुनै लक्षण नरहेको बताए । उनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर नियमित बिरामीको सेवा गरिरहेको बताए । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखासँग समन्वय गरेर अस्पतालले आफ्नै खर्चमा स्वाब संकलन गरेर परीक्षणका लागि पिसिआर ल्याबमा पुर्याउन सहयोग गरिरहेको पनि डा. पराजुलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer