२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

के हो मलमास ?


बिर्तामोड, भदौ ३१ । १९ वर्षपछि यो वर्ष असोज महिनामा अधिकमास परेको छ । यही असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।

यसअघि २०७५ जेठ महिनामा अधिकमास परेको थियो । असोज महिनामै अधिकमास भने विसं २०५८ मा परेको थियो । १९ वर्षपछि फेरि असोज महिनामै मलमास परेको छ ।

पितृ पक्षको समापनसँगै सुरु हुनपर्ने दसैँका लर्काहरु यस वर्ष अधिकमासकै कारण एक महिना पर धकेलिएका छन् । भविष्य पुराणका अनुसार भगवान श्री कृष्ण स्वयमले अधिकमासमा व्रत लिने, दानपुण्य गर्ने अनि शरीर र आत्मा शुद्ध राख्नेलाई अनेकन फल प्राप्त हुने, पाप र कष्ट मोचन हुने भनि उल्लेख गरेको छ ।

पद्म पुराणले पनि अधिकमास अनि श्रीकृष्णलाई जोडेर उनकै शब्दमा हरेक मानवले अधिकमासमा दानपुण्य गर्न जरुरी रहेको बताएको छ र यसका साथै श्रीकृष्णको अर्चना, भागवत गीताको पाठ अनि बत्ती या दियोको दान र प्रज्ज्वलनलाई विशेष मानेको पाइन्छ ।

सकुनी, चतुष्पद, नाग व किंस्तुघ्न यी चार करणलाई रवि अर्थात सूर्यको मल भनिने गरिन्छ तसर्थ यी कुराहरु सक्रन्तिसँग जोडिएका हुनाले यस महिनाले मलमास पनि भनिएको हो ।

सूर्यको गतिअनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गतिअनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ । सौर्यमासमा सामान्यतया २९ देखि ३२ दिनसम्मको महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घन्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । सामान्य रुपमा तिथिहरु चन्द्रमास अनि गतेहरु सौर्यमास भनेर बुझ्न सकिन्छ ।

यसरी सौर्यमासको गणनामा ३६५ दिनको एक वर्ष हुन्छ भने चन्द्रमासको गणनामा ३५४ दिनको एक वर्ष हुन्छ । यसरी प्रत्यक साल चन्द्रमास सौर्यमास भन्दा ११ दिनले पछि हुँदै आँउछ अनि ३ वर्षमा ३३ दिन ले चन्द्रमास र सौर्यमासको फरक पार्दछ, जसलाई अधिकमास या मलमासले मिलाप गरिन्छ । एकपटक मलमास परेपछि ३ वर्षका लागि मलमास आउनेछैन ।

अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ?

मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्न हुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवम् समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुआत् गर्नु नहुने नियम छ ।

मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात विवाह, व्रतबन्ध, गृहनिर्माण, गृह प्रवेशजस्ता गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नु हुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नु पर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer