२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

मोरङमा एक लाख घरधुरीमा साबुन पानीले हात धुवाउने लक्ष्य


विराटनगर, असोज १५ । मोरङमा साबुन पानीले हात धुने राष्ट्रिय महाअभियानको थालनी गरिएको छ ।

राष्ट्र खुल्ला दिसामुक्त घोषणाको एक वर्ष पूरा गरेको र विश्व हात धुने दिवसलाई विशेष रुपमा मनाउनका लागि राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्लस्टर र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको अनुरोधबमोजिम महाअभियानको थालनी गरिएको युएन ह्याबिट्याटका जिल्ला संयोजक एवम् प्रदेश वास क्लस्टरका सहसंयोजक विनोद शर्माले जानकारी दिए ।

मोरङको बेलबारीबाट सो महाअभियानको थालनी गरिएको छ । वडा नम्बर ८ राइझार आदर्श टोल र वडा नम्बर १० को पुष्पाञ्जली टोलबाट महाअभियानको थालनी गरिएको हो । औपचारिक आरम्भपश्चात टोलका सबै घरधुरीले आफ्नो घरअगाडि साबुन पानीको व्यवस्था गरी एकैसाथ हात धोएका थिए ।

अभियानअन्तर्गत अक्टुबर १५ सम्म संस्थागत एवम् घरायसी तहमा साबुन पानीले हात धुने विशेष अभियान सञ्चालन गरिनेछ । यसैगरी, सो अवधिमा पूर्ण सरसफाइ अभियान थालनी गरिएका स्थानीय तहहरुमा घरायसी तहमा साबुन पानीले हात धुने निश्चित स्थान र हात धुने सामग्री व्यवस्था गर्नका लागि समेत अभियान चलाइने पूर्ण सरसफाइ अभियान सहजीकरण गर्ने संस्था नारी विकास संघ मोरङका कार्यक्रम संयोजक सन्ध्या पौडेलले बताइन् ।

पूर्ण सरसफाइ आधाररेखा सर्वेक्षणअनुसार ५३ प्रतिशत घरधुरीमा जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुनका लागि निश्चित स्थान र सामग्रीको व्यवस्था छ भने ४७ प्रतिशत घरधुरीमा साबुन पानीले हात धुने निश्चित स्थान समेत छैन । ती घरधुरीमा बाल्टी या असुरक्षित कलबाट नै हात धुने गरिन्छ ।

बेलबारी, जहदा, रंगेली र रतुवामाईका करिब २३ हजार घरधुरीमा गरिएको सर्वेक्षण अनुसार पूर्ण सरसफाइको अवस्थामा बेलबारी नगरपालिकामा सबैभन्दा राम्रो देखिएको छ भने जहदामा सबैभन्दा कमजोर देखिन्छ । बेलबारीमा ७३ प्रतिशत घरधुरीमा हात धुने निश्चित स्थानको व्यवस्था गरिएको छ ।

त्यस्तै, रतुवामाई नगरपालिकामा ६५ प्रतिशत, रंगेलीमा ३४ प्रतिशत र जहदामा ३० प्रतिशत घरधुरीमा मात्र साबुन पानीले हात धुने निश्चित स्थानको व्यवस्था छ । साबुन पानीले हात धुने निश्चित स्थान भएका घरधुरीमध्ये पनि ३ प्रतिशत घरधुरीमा सर्वेक्षणको क्रममा साबुन वा हात धुने जेल नभेएिको तथ्यांकले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer