२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

मार्केन्सिया


-तुलसीराम खरेल

तिमी ओसिलो जमिनमा उम्रन सक्छौ
तिमीलाई न गर्मी मनपर्छ न त चिसो
तिमी न कठोरताभित्र रम्न सक्छौ
न त ठुलो हुने अभिमान छ तिमीभित्र
तिमी कोमलताको प्रतिक
तिमी जलीय र थलीय
बनस्पतिबीचको पुल ।

तिमी न जल्न सक्छौ घामले भतभत
तिमी न भिज्न सक्छौ तुषारोले तपतप
तिमी न्यानो खोज्दै बीचमा
उम्रन्छौ
बढ्छौ
सन्ततिहरु निर्माण गर्न
गेमाकपहरु बनाउँदै शरीरमा
चिया पिउने कपजस्ता
साना ढिकारुपी
कपबाट फुत्त निस्कन्छन् गेमाहरु
विचरा ! गेमाहरु
तिम्रो अस्तित्व कसले बुझ्छ ?
तर प्राण भरेर भरर्र उम्रन सक्छौ
फेरि नयाँ जीवनको सुरुवात हुन्छ
बढ्छौ
फैलन्छौ
हरियो कार्पेट ओच्छ्याएजस्तो
बनाउँछौ जमिन
आहा ! कस्तो सामथ्र्य तिम्रो !

गर्मी पलाएर सकिन लाग्दा
शरदले स्वागत गर्छ
तिमी स्वावलम्बी बन्छौ
उमार्छौ स्पोरोफाइटहरु
प्रकृतिको वरदान
दुईखाले कोशिका चरित्र भएका
बनोटहरु भिरेर
हाँस्छौ
हाँस ! मज्जाले हाँस !
नदेखिने तिम्रो रुप छोपेरै हाँस ।

रहस्यले भरिएको तिम्रो
जीवन चक्र
एउटा स्कुले ठिटो
निर्वाध पढ्छ
“अल्टर नेसन अफ जेनेरेसन“ भनेर
बुझ्नैपर्छ तिमीलाई
जीवन बुझ्न चाहनेहरुले ।

सानो भएर पनि
अलग्गै अस्तित्व छ तिम्रो
भाले र पोथी बोटहरु
गेमेटोफोरहरु ओढेर
ठ्याक्कै छाताजस्ता
एन्थेरिडिया र आर्केगोनियाहरु
ब्रह्मा र सरस्वती जस्ता
एडम र इभ जस्ता
नयाँ समाजको निर्माण गर्न
उद्धत मार्केन्सिया
लिभरवर्ट भित्रको लिभरवर्ट
वा ! मार्केन्सिया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer