२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बंगलादेशसँग नेपालको बराबरी


बिर्तामोड, मंसिर २ । अन्तिमतिर सुधारिएको प्रदर्शन गरे पनि ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ हात पार्न नेपाल चुकेको छ ।

आज भएको नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीचको मैत्रीपूर्ण सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा सकिएपछि सिरिजको उपाधि बंगलादेशले जितेको हो । पहिलो खेल २–० ले जितेको बंगलादेशले एक जीत र एक बराबरीसँगै उपाधि घरेलु मैदानमा राख्न सफल रह्यो ।

खेलको तेस्रो मिनेटमा दर्शन गुरुङको फ्रिकिक क्लियर भएर आएपछि तेज तामाङले झन्डै ३० यार्ड टाढाबाट गरेको भली गोलरक्षक असरफुल रानाले बचाए । त्यसपछि दुवै टोलीले आक्रमण बुन्ने प्रयास गरेपनि डिफेन्स लाइन तोड्न भने निकै संघर्ष गर्नुपर्यो ।

खेलको १९ औँ मिनेटमा कप्तान कप्तान भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका थिए । नेपालले खेल अवधिभर संयमित प्रदर्शन गरेको थियो । बल पोसेसनमा जोड दिएको नेपालले केहि आक्रमण बुनेपनि त्यसमा सफल हुन भने सकेन ।

बल पकडमा राखे पनि अन्तिम पास निकाल्न भने नेपाली मिडफिल्डलाई कठिनाइ भएको थियो ।
इन्ज्युरी समयको पहिलो मिनेटमा रञ्जीत धिमालको फ्रिकिकलाई कप्तान जमालले क्लियर गर्दै खेल बराबरीमा नै राखे । इन्ज्युरी समयको दोस्रो मिनेटमा रञ्जीत धिमालको क्रसमा नवयुग श्रेष्ठको हेडर पोस्टमा लागेर फर्कदा नेपाल अन्त्तिम समयमा जित दर्ता गर्नबाट रोकियो ।

बंगलादेशविरुद्ध नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरेका थिए ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।

अब नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ । दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो ।

छनोटअन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसँग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । त्यस्तै, अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

अवे खेलअन्तर्गत नेपालले चाइनिज ताईपेलाई २–० ले हराएको थियो । समूह ’बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाइनिज ताइपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अस्ट्रेलिया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer